काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सोमबार जेल पुगेका छन्।
उच्च अदालत तुल्सीपुरले सहकारी ठगी समब्न्धी मुद्धामा लामिछानेलाई जेल पठाउने आदेश गरेको केही घण्टामा प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो।

दुई दिन सार्वजनिक विदा परेकाले सोमबार लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यस अदालतले लामिछानेलाई भैरहवा कारागारमा राख्ने आदेश गर्यो।
भैरहवा कारागारमा रहेका चारवटा ब्लकमध्ये चार नम्बर ब्लकमा लामिछानेलाई राखिएको छ जुन ब्लकमा उनी एक्ला थुनुवा रहेका छन्।
रवि लामिछाने कुनैपनि प्रकरणमा जेल पुगेको यो पहिलोपटक हो। यसअघि पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले त्यतिबेला पत्रकारितामा आबद्ध रहेका रविलाई पक्राउ गरेको थियो। तर उनी थुनछेक आदेशमै छुटेर पछि सफाई पनि पाएका थिए।
त्यसयता उनी दोस्रोपटक पक्राउ परे गत कात्तिक २ गते। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितीले नै अनुसन्धान गर्न सिफारिस गरेपछि प्रहरीले रविलाई बनस्थलीस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरेको थियो। त्यसपछि उनी झन्डै तीन महिन प्रहरी हिरासतमा बसे। उनीविरुद्ध चारवटा जिल्लाका जिल्ला अदालतमा मुद्धा चल्यो। चारवटै जिल्ला अदालतले रविलाई धरौटीमा छाड्न आदेश गरेका थिए। तर मागदावी विपरित जिल्ला अदालतले छाडेको भन्दै पिडितको तर्फबाट सरकारी पक्ष उच्च अदालत पुगेको थियो। रुपन्देही जिल्ला अदालतले गरेको आदेशको हकमा मात्र तुल्सीपुर उच्च अदालतले निर्णय सुनाएको हो। अन्य जिल्ला अदालतले गरेका आदेशका हकमा पनि पिडितको तर्फबाट उच्च अदालतमा पुनरावेदन परेको छ। उनिहरुले पनि सुनुवाई र आदेश गर्न बाँकी छ।
तपाईहरुले सबैभन्दा बढी जान्न चाहेको विषयमा आउँ- रवि लामिछाने कहिलेसम्म जेलमा बस्छन् त ।
तत्कालका लागि दुईवटा तपाईले दुई वटा कुरा बुझ्नुपर्छ। पहिलो- उच्च अदालत तुल्सीपुरको आदेश गलत भएको भन्दै रवि सर्वोच्च अदालत जान सक्छन्। सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर वा बदर गर्न सक्छ। सदर गरे रवि कम्तिमा जिल्ला अदालतको फैसला नहुँदासम्म जेलमै रहनु पर्ने छ। तर बदर गरेमा उनी जेल मुक्त हुनेछन्।
तर त्यतिन्जेलसम्म अन्य उच्च अदालतले जिल्ला अदालतका आदेशका सम्बन्धमा कस्तो निर्णय सुनाउछन् भन्ने पनि हेर्नुपर्ने हुन्छ। यदी उच्च अदालत तुल्सीपुरले झैँ ती अदालतले पनि जिल्लाका आदेश उल्ट्याएर थुनामा पठाउने आदेश गरेमा रवि थुना मुक्त हुनेछन्। त्यो अवस्थामा उनी ती आदेशविरुद्ध फेरी सर्वोच्च अदालत जान सक्नेछन्।
यहाँ तपाईहरुले बुझ्नुपर्ने कुरा के छ भने रवि अहिले दोषी भएर जेल पुगेका होइनन्। मुद्धाको फैसला नहुँदासम्म रविलाई जेल बाहिर राख्ने की जेल भित्र राख्ने भन्ने सुनुवाईका क्रममा पछिल्लो आदेश आएको हो। मुद्धाको फैसला त हुन बाँकी नै छ। यदी रवि जेलमै रहने अवस्था बनेमा उनको आगामी आशा जिल्ला अदालतले गर्ने फैसलामा हुने छ। जिल्ला अदालतले उनलाई निर्दोष ठहर गरे जेल मुक्त हुनेछन्। तर अन्य जिल्ला अदालतका मुद्धाको स्थिती पनि हेर्नुपर्ने हुन्छ।
रुपन्देही जिल्ला अदालतमा मात्र रविविरुद्ध ६ देखि ८ वर्ष जेल सजाय माग गर्दै मुद्धा दायर भएको थियो। संगठित अपराधको पनि अभियोग लगाइएकोले आरोप प्रमाणित भए रविविरुद्ध ९ देखि १२ सम्म जेल सजाय हुन सक्ने छ। जसरी अहिले थुनछेकको आदेशविरुद्ध उच्च अदालत र सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न सक्ने बाटो देखिएको छ यही अवस्था फैसलाको हकमा पनि अप्लाइ हुने छ।


