काठमाडौं । तपाई हामी सबैलाई थाहा नै छ, नेपालले अहिले घरेलु मैदानमा आईसिसी यू-१९ विश्वकपको एसियाली छनोट खेलिरहेको छ र सुरुका लगातार तीन खेल जितेको छ।
तर शनिबार हुने अन्तिम खेलमा अफगानिस्तानलाई हराउन नसके यी जितहरुको कुनै अर्थ हुने छैन। अफगानिस्तानलाई हराउन सके मात्र नेपालले यो प्रतियोगिता खेल्नुको लक्ष्य पुरा गर्ने छ र विश्वकप पुग्ने छ। यो प्रतियोगिताबाट एक टोली मात्र विश्वकप पुग्ने भएकाले नेपालले त्यतिबेला मात्र यो सफलता हात पार्ने छ जब अफगानिस्तानलाई हराउने छ।

अफगानिस्तानलाई हराएमा मात्र नेपालले विश्वकपमा स्थान बनाउछ भनेर यो प्रतियोगिता अघि नै अनुमान र विश्लेषण भएको कुरा हो। अन्तिम खेलमा नेपाल र अफगानिस्तान भिड्नु र त्यसैले विश्वकप पुग्ने टोलीको टुंगो लाग्ने अवस्था बन्नु त संयोग मात्र हो। यो किन हो भने छनोटमा खेलिरहेका ५ टोलीमध्ये नेपाल र अफगानिस्तानको स्तरमा अन्य तीन टोली थिएनन्। त्यो नतिजाहरुले देखायो पनि।
मुलपानी क्रिकेट मैदानमा भइरहेको छनोटमा नेपालले हराएका ओमान, यूएई र हङकङ सबैलाई अफगानिस्तानले पनि हराएको छ। तालिकामा नेपाल र अफगानिस्तानको तीन खेलबाट ६/६ अंक छ। तर नेट रनरेटमा अफगानिस्तान पहिलो स्थानमा छ।
तपाईलाई के लाग्छ, नेपाल र अफगानिस्तानमध्ये को पुग्ला विश्वकप ? कसले काट्ला विश्वकपको टिकट। अनुमान लगाउँदै गर्नुस्। आज कुराकानी गरौँ, अहिले नेपाल र अफगानिस्तानको प्रदर्शन कस्तो छ, खेलाडीले कस्तो खेलिरहेका छन् त ?
अहिले भइरहेको छनोटमा अफगानिस्तानले ओमानलाई ८ विकेट, हङकङलाई ८ विकेट र यूएईलाई एक सय ८० रनले हराएको थियो। अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गरेका ओमान ९० र हङकङ ७० रनमा अलआउट भएका थिए। यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ३ सय ६० रनको लक्ष्य दिएको थियो।
यता नेपालले यूएईलाई डीएल मेथडमा ५ रनले, ओमानलाई ८ विकेटले र हङकङलाई ९ विकेटले हराएको थियो। नेपालविरुद्ध पहिला ब्याटिङ गरेका ओमान एक सय १७ र हङकङ एक सय १५ रनमा अलआउट भएका थिए। यूएईलाई भने नेपालले २ सय एक रनको लक्ष्य दिएको थियो।
इन्डिभिज्युल प्रदर्शनको पनि कुरा गरौँ नँ। तीन खेलमा अफगानिस्तानका खालिद अहमदजाई २ सय २ रन जोडेर सर्वाधिक रन बनाउने ब्याट्सम्यान रहेका छन्। दोस्रो र तेस्रो स्थानमा नेपाली ब्याट्सम्यान छन्।
शीर्ष तीनभित्र रहेका कप्तान नरेन भट्ट र साहिल पटेलले समान एक सय १८ रन बनाएका छन्। नेपालका निरजकुमार यादबले ८७ तथा अफगानिस्तानका उजाईरुल्लाह नियाजाई खानले ८७ र महबुब खानले ८१ रन जोडेका छन्।
बलिङतर्फ कुरा गर्दा नेपालका दुई बलर शीर्ष दुई स्थानमा छन्। युवराज खत्रीले ९ र सन्तोष यादबले ६ विकेट हात पारेका छन्। तेस्रो स्थानमा रहेका अफगानिस्तानका हाफिजुल्लाह जद्रान र चौथो स्थानमा रहेका अफगानिस्तानकै नुरिस्तानी ओमार्जीले ५/५ विकेट लिएका छन्।
अफगानिस्तान टेस्ट टोली भएपनि नेपालसँग कडा प्रतिस्पर्धा हुने गरेको छ। गत वर्ष नेपालले दुईपटक अफगानिस्तानलाई हराएको थियो, यू-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा त्यो पनि विश्वकप र एसिया कप खेल्दै। हालै भएको तीन खेलको शृंखला नेपालले २-१ ले गुमाएपनि घरेलु टोलीले कडा टक्कर दिएको थियो।
सन् २००० मा पहिलोपटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसयता थुप्रैपटक टेस्ट राष्ट्रलाई हराएको छ- न्युजिल्यान्डदेखि दक्षिण अफ्रिकालगायतसम्मलाई। लगातार चारपटक विश्वकप खेलेको नेपालले शनिबार हुने खेलमा अफगानिस्तानलाई हराए नवौँपटक विश्वकपमा सहभागी हुने छ।
८ वर्ष बाहिर रहेर नेपालले गत वर्ष यू-१९ विश्वकपमा पुनरागमन गरेको थियो। गत वर्ष नै हो नेपालले टी-२० विश्वकप र महिला एसिया कपजस्ता प्रतियोगिता खेलेको थियो। सन् २०२५ मा नेपालले महिलाको यू-१९ विश्वकप पनि खेलेको छ इतिहासमै पहिलोपटक।
यसरी हेर्दा नेपाली क्रिकेटले एकपछि अर्को हेडलाइन बनाइरहेको छ। विगतमा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेदेखि टी-२० विश्वकपमा स्थान बनाउनेसम्मका सफलता नेपालले घरेलु मैदानबाटै प्राप्त गरेको थियो। यही पछिल्लो पृष्ठभूमीबीच नेपाली क्रिकेट घरेलु मैदानबाट सबैभन्दा बलियो छाप छाडेको अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा रहेको यू-१९ विश्वकपमा स्थान बनाउन चाहन्छ।
नेपाललाई यतिबेला सबैभन्दा ठुलो डर वर्षाको छ। वर्षा भइरहेकाले नेपाल त्यस दिन जसरी पनि खेल होस् भन्ने चाहन्छ। वर्षाले खेल सन्चालन हुन नसकेमा अफगानिस्तानले विश्वकपमा स्थान बनाउने छ।


