काठमाडौं। कश्मिरमा २६ जनाको जनाको ज्यान जाने गरी भएको हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ।
उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको दावी गर्दै बुधबार बसेको क्याबिनेट कमिटी अन सेक्युरिटी-सिसिएसले आफ्नो देशमा रहेका पाकिस्तानी नागरिकलाई छाड्न ४८ घण्टा र मे १ सम्मको समय सिमा दिने निर्णय गरेको छ।

सार्क क्षेत्रीय सुविधाको भिसा प्राप्त पाकिस्तानीलाई भारत छाड्न ४८ घण्टाको समय दिइएको छ। यस्तो भिषा सरकारी अधिकारीलगायतलाई दिने गरिएको थियो। यस्तै सामान्य भिषामा भारतमा रहेका पाकिस्तानीलाई मे १ सम्म छाड्न समय सिमा दिइएको छ।
यसबाहेक भारत-पाकिस्तान ओहोरदोहोर हुने र ब्यापार जोड्ने मुख्य स्थल नाका अत्तरी पनि तत्काल बन्द गर्ने निर्णय सिसिएसले गरेको छ। भारतले आफ्नो देशमा रहेको पाकिस्तानी दुतावासका सैन्य सल्लाहकारलाई ७ दिनभित्र फर्कन निर्देशन दिएको छ।
भारतले पनि पाकिस्तानमा रहेका आफ्ना त्यस्ता सल्लाहकारलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यस्तै दुतावासमा रहेको जनशक्तीलाई ५५ बाट ३० मा झार्ने पनि निर्णय भएको छ। भारतले सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको इन्दस जल सन्धि भारतले निलम्बन गरेको छ, जुन दुई देशबीचको जल बँडफाँडको आधार थियो। यसले पाकिस्तानमा जल सम्बन्धी ठुलो संकट आउन सक्ने आँकलन गरिएको छ।
भारत प्रशासित कश्मिरमा हुने हमलामा पाकिस्तानको संलग्नता रहने गरेको आरोप लाग्ने गरेको छ। पाकिस्तानको सिमा क्षेत्रमा पर्ने कश्मिरलाई भारतबाट अलग गर्न लामो समयदेखि मुस्लिम सम्बन्धित विद्रोही समूहहरुले भारतसँग लडिरहेका छन्।


