काठमाडौं। शिक्षामन्त्री रघुजी पन्त नेतृत्वको सरकारी वार्ता टोलीसँग वार्ता गर्न गएको आन्दोलनरत शिक्षक टोली सिंहदरबारको गेटबाटै फर्किएको छ। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफ्नो टोली वार्ता नगरी फर्किएको बताएका छन्।
उनले फर्कनुको कारण खुलाएका छैनन्। यता सरकारसँग वार्ताका लागि कुनै टोली नबनाएको पनि उनले स्पष्ट पारेका छन्। सरकारले २५ जना शिक्षकलाई सिंहदरबार प्रवेशका लागि सहजिकरण गर्न पठाएको पत्र अहिले सामाजिक सन्जालमा भाइरल छ।

महासंघ अध्यक्ष सुवेदीले त्यसैलाई संकेत गर्दै स्टाटस लेखेको बुझ्न सकिन्छ। यसअघि शिक्षामन्त्री पन्तले दिउँसो ३ बजेका लागि वार्ता आह्वान गरेका थिए। सर्वोच्च अदालतले बिहीबार आदेश गर्दै ३ दिनभित्र शिक्षकका मागका सम्बन्धमा उपयुक्त निर्णय गरी उनिहरुलाई काममा फर्काउन भनेपछि सरकार तात्तिएको हो।
देशभरका सरकारी शिक्षकहरु तीन साताभन्दा बढी समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। विधालय शिक्षा ऐन जारी हुनुपर्ने लगायत माग राखेर उनिहरुले शैक्षिक हड्ताल गरिरहेका छन्।
शिक्षकहरु काठमाडौंमा जम्मा हुँदा एसईईको उत्तरपुस्तिका परिक्षणको काम हुन सकेको छैन भने कक्षा १२ को पनि परिक्षा स्थगित भएको छ। यस्तै नयाँ शैक्षिक सत्रको पढाई पनि सुरु हुन सकेको छैन।



