काठमाडौं। दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट रेशम चौधरी पक्राउ परे। समाचार सुनेर मानिसहरु छक्क परे।
काठमाडौं प्रहरीले खुलाएको कारण थियो– सर्वोच्च अदालतले बाँकी कैद भुक्तानका लागि पत्राचार गरेकाले नियन्त्रणमा लिएका हौँ।

किन र कसरी चाही रेशम चौधरी पक्राउ परे त, स्पष्ट र चित्त बुझ्दो कारण कतै आइरहेको थिएन। सर्वोच्च अदालतले पठाएको पत्रमा आशंका गर्ने थुप्रै ठाउँहरु थिए। केहीबेरमा चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका कर्मचारी पक्राउ परेको समाचारले कहानीमा नया ट्वीस्ट ल्यायो।
अनि सर्वोच्च अदालतले भन्यो– चौधरीलाई पक्राउ गर्न भनेर सर्वोच्च अदालतले आधिकारिक रुपमा कुनै पत्राचार गरेको छैन।

साँझ सर्वोच्च अदालतकै पत्रबाट डिल्लीबजार कारागारमा उकुसमुकुस भइरहेका रेशम चौधरी छुटे।
यो भन्दा ठुलो कुनै मजाक हुन्छ, त्यो पनि मुलुककै सर्वोच्च न्यायलयबाट।जो कोहीलाई यतिबेला यस्तै लागिरहेको छ।
सर्वोच्च अदालतमा काम गर्ने एउटा कर्मचारीले देशकै एउटा चर्चित व्यक्तिलाई पक्राउ गराउन सक्ने रहेछ। प्रहरीले पनि सजिलै पत्याउने रहेछ।
अनि सर्वोच्च अदालतले पनि व्यक्ति पक्राउ परेर,कारागार चलान भएको केही घण्टामा मात्र थाहा पाउने रहेछ।
चौधरी पक्राउ यत्तिमै सिमित थिए। यसले चौधरीलाई पक्राउ गर्न सरकार नै लागि परेको भनेर विभिन्नि वक्तव्यबाजीहर समेत भए।
कैलालीको टिकापुर घटनामा सर्वोच्च अदालतले चौधरीलाई २०८० जेठ २ गते जन्मकैदको सजाय सदर गरेको थियो। त्यसको १२ दिनपछि राष्ट्रपतिले उनलाई आम माफी दिएर छुटेका थिए।
त्यसको दुई दिनपछि अर्थात जेठ १६ टिकापुर घटनामा आफन्त गुमाएका व्यक्ति चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतमा दायर उक्त रिटमा फैसला भएको छैन। सोही कारण रेशम चौधरी ढुक्कले बाहिर हिँडिरेहका छन्, राजनीतिक गतिविधिहरु गरिरहेका छन्।
त्यसैले टिकापुरकै विषयलाई लिएर चौधरीलाई पक्राउ गरिएको भनेर प्रहरीले कारण खुलाउँदा आश्चर्यमा पर्नु अस्वभाविक थिएन बरु कतै उनीमाथी कसैले षड्यन्त्र पो गर्यो की,आशंका गर्ने ठाउँहरु थिए। सबैको मनमा प्रश्न उठ्यो – हैन यो कसरी सम्भव छ ? सर्वोच्च अदालतले पठाएको भनिएको पत्रमा रेशम चौधरीलाई पक्राउ गर्नु भनि अदालतका न्यायधिशले आदेश गरेको कत्तै उल्लेख थिएन।

टिकापुर घटनामा चौधरी फेरी त्यतिबेला पक्राउ पर्ने थिए जब उनलाई आम माफी दिने निर्णय सर्वोच्च अदालतले उल्टाउने थियो। त्यस्तो निर्णय अदालतका न्यायधिशले गर्ने थिए।
तर पत्रमा यो विषयमा फैसला हुन बाँकी नै रहेको स्पष्ट उल्लेख थियो। तर पनि सर्वोच्च अदालतले पठाएको पत्र भनेर काठमाडौं प्रहरीले सजिलै पत्यायो। मानौं उसले शंका गर्नुपर्ने वा एकपटक सर्वोच्च अदालत प्रशासनसग बुझ्नु पर्ने आवश्यक नै ठानेन। मानौं प्रहरीलाई अदालतले यो नौलो अभ्यास गरिरहेको छ भन्ने पनि लागेन।
यसरी नौलो अदालती अभ्यासबीच चौधरीलाई पक्राउ गरिएको विषयलाई लिएर सरकारमाथी पनि आक्रामण भयो। सरकारकै योजनामा उनलाई पक्राउ गर्न लगाइएको भनियो। पक्राउ गर्नु थियो भने किन पहिला गरिएन र आज गरियो भनेर प्रश्न गरियो। त्यसको कारण थियो।
चौधरीलाई त्यस्तो ठाउबाट पक्राउ गरिएको थियो जहा नागरिक उन्मुक्ती पार्टी र जनमत पार्टीबीच पार्टी एकिकरण हुदै थियो। अहिले प्रतिनिधि सभामा नागरिक उन्मुक्ती पार्टीका चार र जनमत पार्टीका ६ सांसद छन्।
दुई पाटी मिल्दा सत्ताको जोड घटाउमा उनिहरु बलियो बन्दै थिए। रेशम नागरिक उन्मुक्ती पार्टीका संरक्षक हुन्। खासमा उनैले यो पार्टी सुरु गरेका हुन्।


