काठमाडौं। भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजि जसलाई हामी किट युनिभर्सिटी पनि भन्छौ त्यहाँबाट फेरी एकपटक नेपालीलाई दुखद् खबर आएको छ।
किटमा अध्ययन गरिरहेकी एक नेपाली छात्रा बिहीबार साँझ मृत भेटिएकी छिन्। विरगन्जकी १८ वर्षीया प्रिशा शाहलाई होस्टलमा झुन्डिएको अवस्थामा भेटिएको स्थानीय प्रहरी अधिकारीलाई उल्लेख गर्दै भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।

यो घटना साँझ ७ बजेको हो जतिबेला प्रिसा बस्दै आएको छात्रा होस्टलको रुम नम्बर १११ बाहिरबाट नखुलेपछि कलेज प्रशासनले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले कोठा फोरेर हेर्दा प्रेसा सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले त्यसपछि घटनाबारे नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई पनि जानकारी गराएको थियो।
प्रेसाले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर उनी यो निर्णयमा किन पुगिनन् हालसम्म केही खुल्न सकेको छैन। तर पनि किट कलेज यतिबेला विवादमा तानिएको छ। यो त्यही कलेज हो जहाँ झन्डै साढे २ महिनाअघि नेपाली छात्रा प्रकृती लम्साल मृत भेटिएकी थिइन्।
उनले पनि आत्महत्या गरेको पाइएको थियो। तर उनी किन आत्महत्याको निर्णयमा पुगिन् भनेर बाहिर आएका समाचारले सनसनी मच्चाएको थियो। आफुविरुद्ध कलेजकै एक पुरुष विधार्थीले मानसिक यातना दिएकाले उनले पटकपटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन्।
कलेजले कुनै सुनुवाई गरेको थिएन। अन्तत प्रकृती झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। अझ उक्त घटनापछि कलेज प्रशासनले लिएको निर्णयले अर्को सनसनी मच्चाएको थियो।
कलेजविरुद्ध प्रदर्शनमा उत्रिएका नेपाली विधार्थीलाई तत्कालै होस्टल छाड्न भनियो। उनिहरुलाई कुटपिट गर्दै कलेज प्रशासनले घर फर्काउन खोजेका भिडियोहरु इन्टरनेटमा भाइरल बनेका थिए। नेपाल सरकारले यो घटनामा गम्भिर चासो देखाएपछि भारतको सर्वत्र आलोचना भयो।
भारतीय मिडियाहरुले पनि किटले भारतको बेइज्जत गरेको टिप्पणी गरे। अन्तत किटका उच्च अधिकारीहरुमाथी कारबाही भएको थियो। किटले माफी पनि माग्यो। लम्सालकै मृत्युमा पनि गम्भिरतापूर्वक अनुसन्धान गर्यो।
बि टेक कम्प्युटर साइन्सको दोस्रो सेमेस्टरमा अध्ययन गरिरहेकी प्रिसाको मृत्युमा गम्भिरतापूर्वक अनुसन्धान गर्न चौतर्फी दबाब बढिरहेको छ। भारतको सबैभन्दा ठुलो विधार्थी संगठन अखिल भारतीय विधा परिषद् जसलाई छोटकरीमा एबिभिपी पनि भन्ने गरिन्छ उसले यो घटनालाई निकै पिडादायी भनेको छ। नेपाली विधार्थीले पुन आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको उसले उल्लेख गरेको छ।
एबीभीपी भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ-आरएसएस को विद्यार्थी संगठन हो । उडिसा सरकारले पनि घटनाबारे जानकारी गराउँदै दुख व्यक्त गरेको छ।
यता उडिसा प्रहरीले घटनाको गम्भिरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ। पुलिस कमिसनर एस डेभ दत्त सिंहका अनुसार मृतकका आफन्त नेपालबाट आईसकेपछि मात्र पोस्ट मार्टम गरिने छ। शवलाई एआईआईएमएस भुवनेश्वर पठाइएको छ। प्रहरीले उक्त होस्टलमा बस्दै आएका छात्राहरुसँग सोधपुछ गरिरहेको छ।
नेपालकी परराष्ट्र मन्त्री सत्यतथ्य छाबनिन गर्न कुटनीतिक पहल भइरहेको बताएकी छिन्। शुक्रबार बिहान सामाजिक सन्जालमार्फत उनले भारत सरकार, उडिसा सरकार र नयाँ दिल्लीस्थित नेपाली दुतावासले संयुक्त पहल कदमी लिइरहेको उल्लेख गरेकी छिन्।


