काठमाडौं। कुशल मल्ल राष्ट्रिय टोलीबाट आउट। हो सही सुन्दै हुनुहुन्छ। नेपाली राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक स्टुवार्ट लले जिम्मेवारी सम्हालेको एक सातामै कडा निर्णय लिएका छन्।

यो निर्णयले अनुभवी छु भनेर राष्ट्रिय टोलीमा स्थानको आशा गरिरहने खेलाडीहरुलाई झड्का दिएको छ। कुशल मल्लजस्ता अनुभवी खेलाडी टिमबाहिर रहनुले आगामी दिनमा प्रशिक्षक ललाई कुन रुपमा देखिने छ भन्ने प्रारम्भिक झल्को देखिएको छ।
सबैभन्दा उल्लेखनीय के छ भने कुशल मल्ल अन्तिम समयमा राष्ट्रिय टोलीबाट फालिएका होइनन्। नेपाल क्रिकेट संघ-क्यानले कोर क्याम्प भन्दै पहिलो चरणमा ५३ जना खेलाडीलाई बोलाएको थियो।
उनिहरुलाई चारवटा टिममा विभाजन गरेर खेलहरु खेलाइयो। मुलपानी क्रिकेट मैदानमा भएका यीनै खेलहरुको प्रदर्शनसमेतलाई आधार बनाएर लले शनिबार साँझ २५ जना खेलाडीको टुंगो लगाए र त्यसैलाई क्यानले सार्वजनिक गर्यो।
हो यही लिस्टमा कुशल मल्ल अँटाएनन्। यसको मतलब थियो उनी केही समयका लागि राष्ट्रिय टोली बाहिर भए। नेपालले केहि महिनाभित्र विश्वकप लिग-२ को शृंखला खेल्दै छ।
अस्ट्रेलियन प्रशिक्षक लले गत साता अब राम्रो प्रदर्शन नगर्ने खेलाडीहरु अनुभवी नै भएपनि टोलीमा ठाउँ नपाउने बताएका थिए। उनले यसो भनेको एक सातापछि कुशल मल्ल आउट भए।
कुशल मल्लमाथी लिइएका निर्णय किन महत्वपूर्ण थियो भने उनी केही वर्षयता लगातार राष्ट्रिय टोलीमा थिए। उनी सन् २०१९ को अन्त्यतिरदेखि टी-२० अन्तर्राष्ट्रिय र सन् २०२० को सुरुवातदेखि एकदिवशिय अन्तर्राष्ट्रिय खेलिरहेका थिए। कुशल मल्ल विस्फोटक ब्याट्सम्यान हुन्। राम्रो स्पीन बलिङ पनि गर्छन्।
मल्लले ३९ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा एक सतक र चार अर्धसतकसहित ७ सय ६८ रन जोडेका छन्। २४ विकेट पनि लिएका छन्।
यस्तै ५१ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक सतक र चार अर्धसतकसहित ९ सय २१ रन जोडेका छन्। १९ विकेट पनि हात पारेका छन्। उनले एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा सन् २०२३ को अप्रिलदेखि अर्धसतक बनाउन सकेका थिएनन् भने ६ विकेट लिएका थिए। एक समय उनको नाममा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा सतक पुरा गर्ने विश्व कीर्तिमान नै थियो। पछिल्लो समय भने उनको प्रदर्शन स्तरिय रहन सकेको छैन।
गत महिना भएको प्रधानमन्त्री कप क्रिकेटमा कुशल मल्लको प्रदर्शन खास रहन सकेन। उनले १० खेलमा ६ वटा इनिङ खेल्दै एक सय २ रन जोडेका थिए। उनले एक खेलमा पनि अर्धसतक बनाउन सकेका थिएनन्।
उनले सबैभन्दा ठुलो इनिङ खेलेको भनेको ३१ रनको थियो। पीएम कपमा उनले करिब ८४ रनको स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए।
जबकी पीएम कपमा ८ जना खेलाडीले ३ सयभन्दा बढी रन बनाएका थिए भने केही ब्याट्सम्यान ३ सय रन नजिक थिए। बलिङतर्फ पनि उनको प्रदर्शन उल्लेख्य थिएन। उनले १० खेलमा ७ विकेट लिएका थिए।
पीएम कपमा राम्रो प्रदर्शन गरेका किरण ठगुन्ना, अर्जुन साउद, रिजन ढकाल, रुपेश सिंह, बासिर अहमद, शुभ कंसकारले भने अन्तिम २५ जनाको सूचीमा ठाउँ बनाएका छन्।
हालै भएको यू-१९ विश्वकपको एसियाली छनोटमा राम्रो प्रदर्शन गरेका स्पीनर युवराज खत्रीलाई पनि प्रशिक्षक लले विश्वास गर्दै अगाडि बढाएका छन्।
उनिहरुलाई राष्ट्रिय टोलीमा ठाउँ बनाउन अझै सजिलो भने छैन। क्लोज क्याम्पमा कस्तो प्रदर्शन गर्छन् र अनुभवी खेलाडीको प्रदर्शन कस्तो रहन्छ भन्नेमा उनीहरुको अन्तर्राष्ट्रिय करियर निर्भर रहने छ।
नेपाली टोलीमा आसिफ शेख, कुशल मल्ल, करण केसी, रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने लामो समयदेखि नियमित खेलिरहेका छन्। उनिहरुले केही खेलमा लगातार खराब प्रदर्शन गर्दा पनि टिममा स्थान बनाइरहेको बेला बेला टिप्पणी हुने गरेको छ।
विश्वकप लिग-२ मा नेपाल कमजोर अवस्थामा भएकाले त्यसको दबाब प्रशिक्षक लले बुझेका छन्। उनी आफ्नो पहिलो अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालि क्रिकेटलाई आशावादी बनाउन प्रयाश गरिरहेका छन्। त्यसका लागि उनले भएका खेलाडीमध्येबाट सबैभन्दा राम्रो राष्ट्रिय टोली तयार गर्नुपर्ने छ।


