काठमाडौं। कुशल मल्ल राष्ट्रिय टोलीको छनोटबाट बाहिरिएपछि हामिले यस विषयमा आइतबार भिडियो सामग्री तयार गरेका थियौँ।
५/६ वर्षदेखि लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका, कुनै समय विश्व कीर्तिमान बनाएका कुशल छनोटको पहिलो चरणबाटै बाहिरिनु क्रिकेट प्रेमीका लागि ठुलो समाचार हामीले ठान्यौँ।

त्यसमाथी यसलाई ठुलो बनाउने विषय थियो एक साताअघि मात्र नेपाली क्रिकेटको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रशिक्षक स्टुवार्ट लको यो पहिलो नोटिसेबल कदम।
हामीले बनाएको भिडियो त हेरि हाल्नु भयो। थमनेलमा हामीले लेखेर जिज्ञाशा राखेकमा थियौँ की अब कसो पालो आउँदै छ। मतलब, कुशल मल्लपछि अब टिमबाट बाहिर हुने ठुला खेलाडी को हुन् त ? एकछिन उक्त भिडियोमा आएका यी कमेन्ट्सहरुलाई हेरौँ हई।
ओहो, अधिकांशमा रोहित पौडेलमाथी टिप्पणी। अझ सिधै भनौँ- कमेन्ट गर्ने अधिकांश भन्दैछन्- अब टिमबाट बाहिर हुने पालो रोहित पौडेलको।
कमेन्ट हेर्दा यस्तो लाग्छ की- प्रतिक्रिया दिनेहरु रोहित नेपाली टोलीको कप्तान हुन् भन्ने पनि विर्सिरहेका छन्।
रोहितबारेको यस किसिमको प्रतिक्रिया अन्य कुनै कारणले भइरहेको छ की साँच्नी नै उनले राष्ट्रिय टिममा अयोग्य हुने खालको प्रदर्शन गरिरहेका छन् त ?
रोहित अहिले नेपाली टोलीको एकदिवशीय र टी-२० दुवै फर्म्याटका कप्तान हुन्। यी दुई फर्म्याटमा फरक फरक कप्तान भएको नेपालको अनुभव पनि छैन। रोहितले केही वर्षदेखि यो जिम्मेवारी सम्हालिरहेका छन्। उनी संयोगले मात्र नेपालको कप्तान भएका हुन् भन्दा फरक नपर्ला।
तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई अनुशासन सम्बन्ध विषय उठाएर ती जिम्मेवारीबाट हटाउनु, नयाँ बनाइएका कप्तान सन्दीप लामिछानेमाथी गम्भिर आरोप लागेर निलम्बन हुनु रोहितसामु कप्तानको जिम्मेवारी अचानक आईपर्नुका घटनाक्रमहरु थिए।
तपाईले त्यो समय पक्कै सम्झिरहनु भएको हुनुपर्छ। नेपाली क्रिकेट अब डुब्यु है भन्नेहर पनि कम थिएनन्। हुन पनि अन्तर्राष्ट्रिय क्रिकेटमा महत्व राख्ने विश्वकप लिग-२ मा हामी कमजोर अवस्थामा थियौँ।
एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नु स्वभाविक थियो। सबैभन्दा बढी भर गरिएका सन्दीप लामिछाने थुनामा थिए।
तर नयाँ प्रशिक्षकका रुपमा मोन्टी देसाई आउनु, सन्दीप लामिछाने थुनाबाट निस्किएर राष्ट्रिय टोलीका लागि उपलब्ध हुनु नेपाली टोलीको संकट मोचनको सिक्वेन्स तयार भयो। अनि त्यत्तिकै महत्वपूर्ण थियो रोहितको कप्तानी पनि। त्यसपछि त के के भयो, भन्नै नपर्ला। नेपाली क्रिकेटमा के चाहीँ भएन।
विश्वकप लिग-२ का अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पायो, एसिसि प्रिमियर कप जित्दै पहिलोपटक एसिया कप खेल्यो, घरेलु मैदानमा शानदार प्रदर्शन गर्दै १० वर्षपछि टी-२० विश्वकप खेल्यो।
अहिले नेपालले फेरी विश्वकप लिग-२ साइकल खेलिरहेको छ। नेपाल तालिकामा ८ टोलीमध्ये सातौँ स्थानमा छ। नेपालले १२ मध्ये केवल २ खेल जितेको छ भने ८ खेल हारेको छ। दुई खेल रद्ध भएको छ। यही तालिकालाई हेरेर यतिबेला रोहितमाथी सामाजिक सन्जालमा गाली हुने गरेकोमा दुई मत छैन।
कप्तानका रुपमा रोहितको आलोचना हुनु स्वभाविक हो। तर हामीले विर्सनै नहुने के हो भने रोहित नै हुन जसको कप्तानीमा नेपालले पछिल्लो संकट टारेको मात्र थिएन, इतिहास पनि रचेको थियो। कप्तान भएकाले उनी एक्लैले खेल जिताउने होइनन् र एक्लै हारको जिम्मेवार हुने पनि होइनन्। यसको मतलब केही भूमिका हुदैन भन्ने पनि होइन।
यतिबेला रोहितको प्रदर्शन खराब हो त, अब यो विषयमा आउँ। किनभने राष्ट्रिय टोलीमा हुने वा नहुने भनेको प्रदर्शनको स्तर नै हो। त्यसैलाई हेरौँ न त। त्यसभन्दा अगाडि हेरौँ उनको अन्तर्राष्ट्रिय करियर। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन रोहित।
रोहितले ६८ खेलका ६४ इनिङमा एक सतक र ११ अर्धसतकसहित एक हजार ७ सय ५३ रन जोडेका छन्। उनको एभरेज २९.७१ रहेको छ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६३ खेलका ५९ इनिङमा एक हजार ३ सय ५८ रन बनाएका छन् जसमा ७ अर्धसतक समावेश छन्। उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान रहेका छन्, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलपछि।
सन् २०२३ को फेब्रुअरी र मार्चमा भएका विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा नेपालले खेलेका अन्तिम दुई शृंखलामा रोहितको प्रदर्शनलाई कस्ले विर्सन सक्छ र ? नामिबियाविरुद्ध बनाएको त्यो ७२ रन, स्कटल्यान्डविरुद्ध खेलेको ९५ रनको इनिङ्स र यूएईविरुद्ध बनाएको ७७ रन नेपालको शानदार यात्रामा रोहितले देखाएको कप्तानी प्रदर्शन थियो। यो त २ वर्ष अगाडीको कुरा हो भन्ने तपाईलाई लाग्ला।
पछिल्लो एक वर्षकै कुरा गरौँ न।
रोहित अन्तर्राष्ट्रियस्तरमा चर्चा कमाएको नेपाल प्रिमियर लिग-एनपीएलमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी थिए। उनले ७ खेलमा २ अर्धसतकसहित २ सय ७९ रन जोडेर तेस्रो स्थानमा थिए। सर्वाधिक रन जोडेका लाहिरु मिलान्थाको नाममा १० खेलमा २ सय ९३ रन थियो।
हालै भएको एकदिवशीय फर्म्याटको पीएम कपमा रोहितले एपीएफका लागि ९ खेलमा दुई अर्धसतकसहित २ सय ४ रन जोडेका थिए। त्यस प्रतियोगितामा उनीभन्दा अगाडी सबैभन्दा बढी रन बनाउने २३ जना ब्याट्सम्यान थिए। दुर्भाग्य नै भन्नुपर्छ त्यस प्रतियोगितामा रोहित नेतृत्वको एपीएफ फाइनल पनि पुग्न सकेको थिएन। सायद रोहितको आलोचना बढाउने यो एउटा कारण पनि हुन सक्छ।
नेपालले अन्तिमपटक एकदिवशीय अन्तर्राष्ट्रिय खेल गत नोभेम्बर ४ तारिखमा अमेरिकाको ड्यालसमा स्कटल्यान्डसँग खेलेको थियो। तर वर्षाका कारण त्यो खेल रद्ध हुन पुग्यो। त्यसको दुई दिनअघि नेपालले ड्यालसमै घरेलु टोलीसँग खेलेको थियो जहाँ २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाली टोलि ३७ रनले पराजित हुन पुग्यो।
कप्तान रोहित एक रन मात्र बनाएर आउट भएपछि नेपाली क्रिकेट समर्थक निराश भए। अक्टोबरको अन्तिम साता रोहितले ड्यालसमै अमेरिकाविरुद्ध ९६ रनको पाली खेलेका थिए। सेप्टेम्बरको तेस्रो साता ओमानविरुद्ध ६० रन बनाएका थिए। विश्व कप लिग दुईको अंक तालिकामा अमेरिका पहिलो र ओमान चौथो स्थानमा रहेका टोली हुन्।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेर्ने हो भने रोहितको पछिल्ला खेलहरु हेर्दा मुख्य समस्या स्थीर प्रदर्शनको देखिन्छ। नेपालले खेलेका पछिल्ला १२ एकदिवशीय अन्तर्राष्ट्रिय खेल हेर्ने हो भने तीन खेलमा रोहितले ब्याटिङ गर्नु परेन भने दुई खेलमा अर्धसतक बनाएका थिए। ६ खेलमा उनी दोहोरो अंक छुन सकेका छैनन् अर्थात ती खेल कुनैमा पनि १० रन पनि जोड्न सकेका छैनन्।
तर यति हुँदा पनि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित पछिल्लो एक वर्षमा सबैभन्दा बढी रन जोड्ने नेपाली ब्याट्सम्यान रहेका छन्। उनले ६ वट इनिङमा एक सय ६७ रन जोडेका छन्। दोस्रो स्थानमा रहेका आरिफ शेखले ५ खेलमा एक सय ५४ र तेस्रो स्थानमा रहेका गुल्सन झाले ६ खेलमा एक सय ४० रन जोडेका छन्।
। कप्तान भएकाले रोहितबाट ज्यादा अपेक्षा हुनु स्वभाविक हुन आउँछ। उनले आफुले त राम्रो खेल्नु नै पर्छ, टिमलाई जिताउनुपर्ने भन्दै उनिमाथी नियाल्ने पनि धेरै हुन्छन्। रोहित नै हुन जसले कठिन परिस्थितीबीच नेपाली क्रिकेटलाई सन् २०२३ मा माथी उठाएका थिए। कप्तान र ब्याट्सम्यान दुवैरुपमा उनी खह्रो उत्रिएका थिए।
सामाजिक सन्जालमा एउटा ठुलो जमात देखिन्छ जो सन्दीप लामिछानेलाई पुन नेपाली राष्ट्रिय टोलीको कप्तान देख्न चाहन्छ। त्यसरी अपेक्षा गर्नेहरु सन्दीपको नेतृत्व क्षमताभन्दा बढी उनको स्टारडमबाट प्रभावितहरु देखिन्छन्। किनभने सन्दीप आफै पनि पछिल्लो २ वर्ष त्यो स्तरमा छैनन् जो त्यसअघि थिए।
सन् २०२३ को जुनयता सन्दीपले खेलेका १४ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा १७ विकेट लिएका छन्। यी खेलमध्ये ४ खेलमा विकेट विहिन भएका थिए भने ५ खेलमा एक एक विकेट लिएका थिए।
यो तथ्यांकले भन्छ नेपाली क्रिकेटका निर्विवाद अन्तर्राष्ट्रिय सुपर स्टार क्रिकेटर सन्दीप यतिबेला आफ्नो प्रदर्शन सुधार गर्नुपर्ने चर्को दबाबमा छन्।


