काठमाडौं। भारत र पाकिस्तान सिमावर्ती शहरहरुमा निरन्तर सैन्य हमला भइरहेको छ।
दुवै देशले एक अर्काको ड्रोन र मिसाइल हमलालाई निस्कृय बनाइरहेको दावी गरेका छन्। बिहीबार साँझ पाकिस्तानले सिमावर्ती श्रीनगर, अवन्तीपोरा, जम्मु, पथानकोट, अमृतसर, जलान्धर, लुधियाना, चन्द्रिगढ र बथिण्डामा हमला गरेको भारतको दावी छ। ती सबै आक्रमणलाई असफल बनाएको भारतले जनाएको छ।

यस्तै बिहीबार दिउँसो भारतले पाकिस्तानका रावलपिण्डि, लाहोरजस्ता ठाउँमा हमला गरेको थियो। ती आक्रमण पनि आफुले असफल पारेको पाकिस्तानले दावी गरिरहेको छ। सम्भावित आक्रमणबीच बिहीबार साँझ भारत प्रशासित कश्मिरमा विजुली बन्द गरिएको थियो। आक्रमण हुने सक्ने खतराबीच विजुलीको लाइन काटिएको थियो।
यस्तै धरमशालामा भएको पन्जाब र दिल्लीबीचको खेल पनि स्थगित भएको छ। सम्भावित आक्रमणको आशंकाबीच फ्लड लाइट निभाउनु परेपछि खेल रोक्नु परेको थियो। खेल रोक्नुअघि पहिला ब्याटिङ गर्नेक्रममा पाकिस्तानले ११ औँ ओभर खेलिरहेको थियो।
दुवै देशले एक अर्काको सैन्य आधार शिविरमा आक्रमण भइरहेको दावी गरिरहेका छन्। आक्रमणहरुमा मानवीय क्षति कति भयो भन्ने स्वतन्त्र पुष्टी हुन सकेको छैन।
अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार भारतले २४ वटा विमानस्थल बन्द गरेको छ।



