काठमाडौं। सन्दीप लामिछानेले आफु नेपाल क्रिकेट संघ-क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नरहने घोषणा गरेका छन्। बुधबार सामाजिक सन्जालमा लेख्दै लामिछानेले नेपालका लागि भने खेलिरहने बताएका छन्। व्यक्तिगत र व्यावशायीक जिवनका लागि आफुले उक्त निर्णय लिएको उनको भनाई छ।

सेन्ट्रल कन्ट्रयाक्टमा उनी ए श्रेणीमा रहेका थिए जसबापत क्यानले उनलाई मासिक एक लाख रुपैयाँ दिने गरेको थियो। सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीहरुका लागि क्यानको आचारसंहिता छ जुन उनिहरुले पालना गर्नुपर्छ।
तर यसमा नरहेर आफुलाई के फाइदा हुन्छ भनेर उनले खुलाएका छैनन्। कतै उनले नेपालबाट खेल्न छाड्ने मनस्थिती त बनाइरहेका छैनन्, उनको स्टाटसमा कमेन्ट गर्ने धेरैले आशंका व्यक्त गरेका छन्।
सेन्ट्रल कन्ट्रयाक्टमा रहेर खेल्दा उनलाई के गाह्रो भयो भन्ने पनि स्पष्ट पारिएको छैन। क्यानले हालै मात्र उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीलाई दिएको थियो।
साढे तीन वर्षअघि ऐरी उपकप्तान र ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाइएको थियो। त्यसयता उपकप्तान भने खाली थियो। हाल ज्ञानेन्द्र नेपाली राष्ट्रिय टोलिका सहायक प्रशिक्षक रहेका छन्।
विश्वकप लिग-२ शृंखला र त्यसको तयारीका लागि नेपाली टोली बुधबार यूके प्रस्थान गर्दै छ।


