काठमाडौं। सन्दीप लामिछानेले आज फेसबुकमा लेखेको स्टाटस देखेर तपाईलाई कस्तो लाग्यो ? नेपाल क्रिकेट संघ-क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने रे तर नेपालका लागि चाहीँ खेलिरहने रे ?
सेन्ट्रल कन्ट्राक्टमा पर्नु खेलाडीका लागि ठुलो सफलता हुन्छ। सन्दीपकै कुरा गरौँ, उनी क्यानबाट मासिक एक लाख रुपैयाँ पाइरहेका थिए। अब सेन्ट्रल कन्ट्रयाक्टमा बस्दिन भन्दा यसले सन्दीपलाई कहाँनेर फाइदा हुन्छ ? यति बेला यही कुराले क्रिकेट प्रेमीहरु छक्क परिरहेका छन् र ठुलो समूहको आशंका छ- सन्दीपले कतै अटेन्सन सिक गर्नका लागि मात्र यो स्टाटस त लेखेका होइनन् ?

यो विषयमा केही बेरपछि कुरा गरौँला। अहिलेलाई सन्दीप जोडिएका यस्तै विषयको सिलसिलेवार कुरा गरौँ जसमा पटकपटक सन्दीपले कतै सन्याशमा लिन लागेका हुन् की ! नेपाल छाडेर अर्कै देशबाट पो खेल्न लागेका हुन् की भन्ने आशंका भएको थियो।
सन्दीपमाथि बलात्कारको आरोप लाग्नुअघि उनी नेपाली खेलाडीभन्दा बढी ग्लोबल स्टारका रुपमा चिनिएका थिए। विश्वका ठुला व्यावशायीक लिगहरु नियमित खेलिरहेका थिए। बलात्कारको आरोपपछि उनीबाट राष्ट्रिय टोलीको कप्तानी खोसियो।
प्रहरीले पक्राउ गर्यो, पछि जेल पनि पुगे। उनले आफुलाई फसाइएको भन्दै अन्य खेलाडीहरुमाथी नै बारम्बार आशंका व्यक्त गर्थे। कतिपय अवसरमा त उनले आफुलाई फसाउन खोज्नेहरुको नाम सार्वजनिक गर्ने धम्की दिन्थे।
समयक्रममा उनी जेलबाट छुटे। तिव्र आलोचनाबीच क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा फिर्ता ल्याएर छाड्यो। बलात्कार आरोपीलाई देशको प्रतिनिधित्व गर्न लगाएर क्यानले ठिक नगरेको भन्ने समूह ठुलै थियो। प्रतिकुल वातावरणबीच सन्दीपले नेपाली टोलीबाट पुनरागमन गरे। लगत्तै त्यसको प्रभाव नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय नतिजामा पनि देखियो।
आफु जोडिएको मुद्धामा सन्दीपले थर्काउन भने छाडेका थिएनन्। यसबीचमा उनले जिल्ला अदालतबाट सफाई पाए तर टी-२० विश्वकप खेल्न अमेरिकाले भिषा दिएन। क्यानकै पहलमा उनले विश्वकपका वेस्ट इन्डिजमा भएका खेलहरुमा सहभागी हुने अवसर पाए।
केही महिनापछि नेपालले अमेरिकामा विश्वकप लिग-२ शृंखला खेल्दै थियो। यसपटक अमेरिकाले सन्दीपलाई भिषा दियो। अमेरिका पुगेका सन्दीपले त्यहाँ रहँदा एक दिन सामाजिक सन्जालमा अनाउन्समेन्ट सुन भन्दै स्टाटस लेखे। त्यसलाई प्रस्ट्याउने अन्य कुरा केही थिएन। उनलाई सामाजिक सन्जालमा पछ्याउनेहरुले अनेकन अनुमान गरे। कतै सन्याश त होइन, आशंका नभएको होइन। सन्दीपले यो स्टाटसलाई स्पष्ट पार्न आवश्यक ठानेनन्। र पछि, त्यसलाई स्पष्ट पार्ने गरी उनीबाटै केही आएन, केही देखिएन पनि।
केही महिना अघि आयोजित जय ट्रफी दौरान अम्पायरसँग सन्दीपको लफडा भयो। उनले सामाजिक सन्जालमै आक्रोश पोखे। क्यानलाई बारम्बार उजुरी गर्दा पनि गल्ती गर्ने अम्पायरमाथी एक्सन नलिइएको उनको गुनासो थियो।
तर कोड अफ कन्डक्टभन्दा बाहिर गएर सामाजिक सन्जालमा लेखेको भन्दै क्यानले सन्दीपलाई कारबाही गर्यो। सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडी अनुशासनभन्दा बाहिर गएको क्यानको निश्कर्श थियो। लगत्तै सन्दीपले एकाएक सबैको ध्यान तान्ने गरी स्टाटस लेखे।
धेरैले अनुमान गरे-क्यानले कारबाहि गरेपछि सन्दीपले कतै सन्याश त लिन लागेका होइनन्। लगत्तै सन्दीपले आफुले मोबाइल नम्बर फेरेको विषयमा समेत स्टाटस लेख्न भ्याए। जिज्ञासा स्वभाविक थियो- यति सामान्य कुरा पनि सन्दीपले फेसबुकमा के लेखेका होलान्।
तर अघिल्लो स्टाटस र पछिल्लो स्टाटसलाई जोडेर अर्थ लगाउन सक्ने अवस्था थियो। सन्दीपले त्यो किन लेखेका थिए कहिल्यै खुलाएनन् नत घटनाक्रमहरुबाट त्यो देखियो।
यही कारण कतै सन्दीपले अटेन्सन सिक गरेको पो हो की, चर्चामा आउन खोजेको पो हो की भन्ने आशंका पछिल्लो समय हुने गरेको छ जब जब उनी यस किसिमका स्टाटसहरु लेख्छन्।
बुधबार सन्दीपले लेखेको स्टाटसको प्रशंगमा आउँ अब। नेपाल क्रिकेट संघ-क्यानले स्कटल्यान्डमा हुने विश्वकप लिग-२ शृंखलाका लागि नेपाली टोलीको विदाई गर्न बुधबार बिहान मुलपानी स्थित आफ्नो कार्यालयमा कार्यक्रम राखेको थियो।
खेलाडीहरुको पछिल्लो रोमा बसेका थिए सन्दीप। त्यो विदाई कार्यक्रमको केही घण्टापछि र युके उड्नुभन्दा केही घण्टा अगाडि सन्दीपको उक्त स्टाटस आएको थियो। यसपटकको स्टाटसमा उनले केही कुरा स्पष्ट पारेका छन्। जस्तो की सेन्ट्रल कन्ट्याक्टमा बस्दिन तर नेपालका लागि खेल्छु।
झट्ट सुन्दा सन्दीपले यो के भनेको होला नी भन्ने लाग्छ।
सेन्ट्रल कन्ट्याक्टमा बस्दा सन्दीपले के गर्न पाउँदैनन् जुन सेन्ट्रल कन्ट्याक्टमा नबस्दा पाउँछन् ? झट्ट हेर्दा म सेन्ट्रल कन्ट्याक्टमा नबसी पनि नेपालका लागि खेल्छु भनेर सन्दीपले देखाउन खोजेका हुन् की जस्तो देखिन्छ। त्यसको पृष्ठभूमीमा क्यान र नेपाली टोलीका अन्य खेलाडीसँग सन्दीपको इगो र बेमेल सम्बन्धलाई जोडेर हेर्ने गरिएको छ।
यहाँ उल्लेखनीय के छ भने तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई अनुशासन उल्लंघन गरेको आरोपमा उनिहरुलाई ती जिम्मेवारीबाट हटाइएको थियो। नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका थिए। सन्दीपमाथी बलात्कारको आरोप लागेपछि नयाँ कप्तान रोहित पौडेल भए। पौडेल अहिले पनि कप्तान छन्। यसबीचमा कसैलाई उपकप्तानको जिम्मेवारी दिइएन।
अहिले आएर, नेपाली टोलीमा साढे ३ वर्षपछि उपकप्तानको पद ब्युँताइएको छ र त्यसमा दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारी दिइएको छ। ज्ञानेन्द्र मल्ल अहिले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक रहेका छन्।
हामीले थाहा पाएअनुसार केही दिन अघि नै सन्दीपले आफु सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने भन्दै क्यानलाई इमेल गरेका थिए। सन्दीपको उक्त इमेल देखेर क्यानका पदाधिकारीहरु छक्क परेका थिए। कोही खेलाडीले म सेन्ट्रल कन्ट्रयाक्टमा बस्दिन भन्ने कुरा नै क्यानका लागि नौलो थियो।
अब यसमा कसरी अगाडि बढ्ने भन्नेमा क्यानले केही स्पष्ट पारेको छैन। सेन्ट्रल कन्ट्रयाक्टमा बस्दिन भनेर कसैले भन्यो भने उसलाई खेल्न दिने की नदिने वा खेल्न दिने भए कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा क्यानले अब निर्णय लिने क्यानका अधिकारीहरु बताउँछन्।
त्यसो त सन्दीपले आफु सेन्ट्रल कन्ट्रयाक्टमा नबसे पनि खेलाडीका लागि बनाइएको कोड अफ कन्डक्ट मान्ने बताएको क्यानका अधिकारीहरु बताउँछन्।
सन्दीपको बुधबारको स्टाटसमा उनलाई गाली गरेर कमेन्ट लेख्नेहरु धेरै छन्। खासगरी कठिन समयमा क्यानले पुर्याएको योगदानलाई सन्दीपले अवमुल्यन गरेको आशयका कमेन्टहरु देख्न सकिन्छ। सन्दीपको बिहीबारको घोषणा, आगामी दिनमा उनका क्रियाकलाप र क्यानले गर्ने रेस्पन्स अब प्रतिक्षा बनेको छ।
यता सन्दीपले मैदानभित्र पनि केही दबाब महसुस गरिरहेको देखिन्छ। जुन लय र प्रदर्शन गत वर्षसम्म उनको थियो, पछिल्लो एक वर्षमा खस्किएको हो की ? तथ्यांकहरुले त्यही देखाउँछन्।


