म्याड्रिड। बार्सिलोनाले यो सिजन घरेलु लिग ला लिगाको उपाधि पक्का गरेको छ। बिहीबार राती स्पान्योललाई २-० गोलले हराउँदै बार्साले २ खेल बाँकी रहँदै घरेलु लिगको उपाधि पक्का गरेको हो।
३६ खेलबाट ८५ अंक भएको बार्सा तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ३६ खेलबाट ७८ अंक छ। स्पान्योलविरुद्ध बार्साका लेमिन यमाल र फर्मिन लोपेजले गोल गरे।

बार्साले समग्रमा २८ औँ पटक ला लिगा जितेको हो। सर्वाधिक ला लिगा जित्ने सूचीमा बार्सा दोस्रो स्थानमा छ। रियल म्याड्रिडले यो प्रतियोगिता ३६ पटक जितेको छ। बार्साले पछिल्ला तीनमध्ये दुई सिजन ला लिगा जित्यो। गत संस्करण रियल म्याड्रिडले हात पारेको थियो।
बार्सिलोनाले यो सिजन स्पेनिस सुपर कप र कोपा डेल रेको पनि उपाधि जितेको छ। बार्सिलोनाको यो यात्रामा सबैभन्दा बढी चर्चा भइरहेका छन् प्रशिक्षक हान्सी फ्लिक र १७ वर्षे सुपर स्टार यमाल। फिल्क्सले यसै सिजन मात्र बार्सिलोना सम्हालेका हुन्।
वायर्न म्युनिखका पूर्व प्रशिक्षक ६० वर्षे फ्लिकले जाभीलाई विस्थापित गर्दै बार्सिलोनामा जिम्मेवारी सम्हालेका थिए। युवा खेलाडीले भरिएको बार्सिलोना उनका लागि चुनौती थियो किनभने गत सिजन उसले उपाधि जित्न सकेको थिएन। तर खेलाडीको औसत उमेर २५ वर्ष भएको बार्सिलोनाले बेजोड प्रदर्शन गर्यो।
चारपटक रियल म्याड्रिडलाई हरायो, कोपा डेल रे र सुपर कपको फाइनलमा अनि ला लिगाका दुवै भिडन्तमा। यो यात्रामा यमाल शानदार रहे। उनले ला लिगामा ८ गोल र १३ असिस्ट गरेका छन् यो सिजन। सबैभन्दा बढी असिस्ट गर्ने खेलाडी हुन्। गत वर्ष स्पेनले युरो कप जित्दा यमालले कमालको प्रदर्शन गरेका थिए।


