एक जित जसले नेपाली महिला क्रिकेटमा इतिहास रच्थ्यो, एक हार जसले नेपाली महिला क्रिकेटलाई फेरी एकपटक निराश बनाउन सक्ने थियो।
तर नेपाली महिला क्रिकेटरहरु यसपटक निराश हुन तयार देखिएनन्। उनिहरुले इतिहास कोर्न थाइल्यान्ड पुगेको पुष्टी गरे। कप्तान इन्दु बर्मा, उपकप्तान पुजा महतो र पूर्व कप्तान रुबिना क्षेत्रीले इतिहास रच्न उनिहरु कति लायलित थिए मैदानबाट देखाए।

जसो परिणाम देखियो, नेपाली सिनियर महिला क्रिकेट पहिलोपटक विश्वकपको विश्वस्तरको छनोट अर्थात ग्लोबल क्वालिफायरमा पुगेको छ।
एसियाली छनोटको सुपर थ्रीको आफ्नो पहिलो खेलमा यूएईले आइतबार थाइल्यान्डसँग हारेकाले उसलाई थाहा थियो- नेपालसँग जित हात पार्नुको विकल्प छैन। नेपाललाई हराउन सके उसले ग्लोबल क्वालिफायरमा स्थान बनाउने थियो।
थाइल्यान्डसँग खेल्न बाँकी नै रहेपनि नेपालले जसरी पनि यूएईलाई हराउनु पर्ने थियो। कारण थियो नेपालको ५ अंक मात्र थियो भने यूएईको ६ अंक थियो। थाइल्यान्ड बलियो टोली भएकाले यूएईलाई हराएमा मात्र आफ्नो भाग्य खुल्ने नेपाली खेलाडीले बुझेका थिए। नेपालले गत एसिया कपमा मात्र यूएईलाई हराएकाले जित्न सकिन्छ भन्ने आत्मविश्वास थियो।
निकै दबाबपूर्ण खेलमा यूएईले पहिला ब्याटिङ गर्यो र नेपाललाई एक सय १५ रनको लक्ष्य दियो। मनिषा उपाध्यायले ४, कविता कुँवरले २ र राजमती ऐरीले एक विकेट लिएपनि नेपालका लागि यो सजिलो लक्ष्य थिएन।
नेपाली टोलीले बढीमा २० ओभरमा एक सय १५ रन पुरा गरे पहिलोपटक ग्लोबल क्वालिफायर पुग्ने थियो। यो त्यस्तो लक्ष्य थियो जुन नेपाली टोलीमा रहेका धेरै सिनियर खेलाडीहरु सायद भगवानसँग प्राथर्ना गरिरहेका थिए- पुरा होस् भनेर।
झन्डै १६/१७ वर्षदेखि खेलिरहेका केही खेलाडीहरुले यसबीचमा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा उपाधिविहिन हुनु, एकपटक पनि एसियाभन्दा बाहिर जान नसक्नुको पिडा बुझेका थिए।
सम्झना खड्का र राजमती ऐरीको जोडीले पहिलो विकेटका लागि ५.३ ओभरमा २८ रनको साझेदारी गर्यो। ८.१ ओभरसम्म पुग्दा नेपालले ३ विकेट गुमाइसकेको थियो भने खातामा केवल ३८ रन थियो। यसपछि क्रिजमा थिए कप्तान इन्दु बर्मा र उपकप्तान पुजा महतो। उनिहरुले २४ रनको साझेदारी गरे। १९ बल खेलेकी पुजाले सुस्त खेल्दै केवल एक चौकासहित १३ रन बनाइन्।
पुजा आउट भएपछि इन्दुलाई साथ दिन पुर्व कप्तान रुबिना क्षेत्री आइन्। निकै दबाबको स्थितीमा उनिहरुले ३७ रनको साझेदारी गरे ५.२ ओभरमा। रुबिनाले १८ बल खेल्दै तीन चौका प्रहार गरिन् र कुल २३ रन बनाइन्।
रुबिना र इन्दुले रनिङ बिटविन द विकेट्स निकै राम्रोसँग खेलिरहेका थिए। उनिहले त्यसरी केही बलमा ३ रनसम्म जोडे। रुबिना आउट हुँदा इन्दु १९ रनमा खेल्दै थिइन्। त्यसपछि इन्दुलाई साथ दिन विकेटकिपर समेत रहेकी रुबी पोदार आइन्।
उनले इन्दुलाई गतिलो साथ दिइन्। नेपाललाई दबाब दिइरहेको यूएईले १५ औँ ओभरमा १२ रन खर्चिएको थियो। अन्तिम २ ओभरमा नेपाललाई १४ रन चाहिएको बेला इन्दु र रुबीले १९ औँ ओभरमा १० रन जोडेका थिए। त्यस ओभरमा इन्दुले एकपटक चौका प्रहार गरिन् भने नेपालले दुईपटक दौडिएर दुई दुई रन जोडेको थियो।
इन्दुले कप्तानी इनिङ खेल्दै नेपाललाई ऐतिहासिक सफलता दिलाइन्। उनले २८ बलमा ३० रन जोडिन्। चौथो नम्बरमा ब्याटिङमा आएकी उनले खेलभर दुई चौका प्रहार गरेकी थिइन्। उनले निकै सम्हालिएर खेलिन्। यहाँ उल्लेखनीय के छ भने यूएईले अन्तिम समयमा रनआउटका केही राम्रा अवसर खेर फालेको थियो। त्यसको फाइदा नेपालले उठायो।
पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई कप्तान इन्दुले नै उद्धार गरेकी थिइन्। बहराइनविरुद्ध उनले नेपाली टोलीका सर्वाधिक २४ रन जोडेर सम्भावित हार टारेकी थिइन्। इन्दुले केवल ७ बल सामना गर्दै आक्रामक ब्याटिङ गरेकी थिइन्।
बहराइन र हङकङकबीचको खेल वर्षाका कारण रद्ध भएपछि नेपालको सुपर-३ मा भाग्य खुलेको थियो। भाग्यले पाएको यो यात्रालाई यादगार बनाउन नेपालले कुनै कसर बाँकी राखेन।
ग्लोबल क्वालिफायरमा हालसम्म थाइल्यान्ड, नेपाल, स्कटल्यान्ड, बंगलादेश र अमेरिकाको छनोट भएको छ। बाँकी ५ टोली छनोट हुन बाँकी छ। नेपालले सुपर-३ को आफ्नो अन्तिम खेलमा मंगलबार थाइल्यान्डसँग खेल्ने छ। यो खेल जितेमा नेपाल छनोटको विजेता बन्ने छ।


