काठमाडौं। देशलाई चाहिएको सबैभन्दा राम्रो व्यक्ती गभर्नर सिफारिस गर्नु है भनेर जिम्मा पाएका व्यक्ति थिए डा. विश्व पौडेल।
अर्थ शास्त्रीका रुपमा उनलाई गभर्नर सिफारिस समितीमा राखिएको थियो। तर गभर्नर नियुक्तीमा यति ठुलो राजनीति भयो की त्यसरी जिम्मा पाएका पौडेल आफै गभर्नर बन्न तम्सिए। तम्सिए मात्र होइन, सरकारले पौडेललाई मंगलबार नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्त गरेको छ।

। अब उनै पौडेलले हस्ताक्षर गरेको पैसा हामिले चलाउने छौँ। पौडेल कस्ता मान्छे हुन् र उनको भूमिका के हुने छ भन्नेबारे केहीबेरपछि कुरा गरौँ। त्यसअघि गभर्नरमा पौडैलको रोचक यात्राबारे बुझौँ।
तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २४ गते सकिँदै थियो। बहालवाल अर्थात सिटिङ गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अगावै नयाँ गभर्नर नियुक्त भइसक्नु पर्ने कानुनी व्यवस्था भएपनि सरकारलाई त्यसको कुनै मतलब देखिएन।
चैत ११ गते मन्त्रि परिषद् बैठकले अर्थ मन्त्री विष्णु पौडेलो संयोजकत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिती गठन गरेको थियो। समितीका अर्का सदस्य थिए पूर्व गभर्नर विजयनाथ भट्टराई। तत्कालिन गभर्नर अधिकारीको कार्यकाल सकियो तर नयाँ गभर्नर नियुक्त भएनन्। त्यसपछि सरकारले कायम मुकायम अर्थात कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दियो।
सिफारिस समिती बनेपनि कसलाई बनाउने भन्ने निर्णय सरकारको साझेदार दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पाए। किनभने राजनीतिक चलखेल हुने नियुक्तीमध्ये गभर्नरको भाग नेपाली कांग्रेसको भागमा परेको थियो।
देउवाले राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टलाई गर्भनर बनाउन सिफारिस गरेका थिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई। गभर्नर बन्नकै लागि राष्ट्र बैकको कार्यकारी निर्देशक पदबाट भट्टले दिएको राजिनामा कामु गभर्नर ढुंगानाले स्विकृत गरिनन्। खासमै प्रधानमन्त्री ओलीकै इच्छा बमोजिम ढुंगानाले राजिनामा स्विकृत नगरेको बताइन्छ।
ओली कार्यकारी निर्देशक रहेका व्यक्तीलाई गभर्नर बनाउने पक्षमा थिएनन्, विगतमा ओलीले तत्कालिन कार्यकारी निर्देशक रहेका युवराज खतिवडालाई देउवा सरकारले गर्भनर बनाएको थिएनन। यसपटक त्यही निहु देखाएर ओलीले भट्टको हकमा हुन्न भनिदिएका थिए।
वैशाख ९ गते सिफारिस समितीमा रहेका पूर्व गभर्नर भट्टराईले राजिनामा दिएका थिए- सिफारिस समितीको बैठक नबसकेको, राजनीतिक नेतृत्वले गभर्नरको टुंगो लगाउने देखिएको भन्दै सिफारिस समितीको ओचित्यमाथी नै प्रश्न उठाएका थिए। भट्टराईको स्थानमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितीमा ल्याइयो।
देउवाले विकल्पका रुपमा आफुलाई हेरेपछि विश्व पौडेल अघि सरेका थिए। वैशाख २८ गते पौडेलले पनि राजिनामा दिए। बेहुली माग्न गएको लमी आफै बेहुलो बनेको भन्दै पौडेललाई गभर्नर बनाउने विषय आलोचित पनि बन्यो। सिफारिस समितीमा पौडेलको स्थानमा अर्का अर्धविद् डां पोषराज पाण्डेलाई ल्याइयो।
सोमबार साँझ प्रधानमन्त्री ओली र देउवाबीच भेट भएको थियो। गभर्नर नियुक्तीमा आलटाल गरेको भन्दै देउवा ओलीसँग रिसाएका थिए। मंगलबार दिउँसो ओलीले संसदको निर्धारित कार्यक्रम हापेर देउवालाई बालुवाटार बोलाउँदै गभर्नरको विषयमा टुंगो लगाएका थिए।
देउवाले दिएकै नाम विश्व पौडेलमा ओलीले सहमती जनाएपछि मात्र अर्थमन्त्री पौडेल नेतृत्वको सिफारिस समितीको बैठक बसेको थियो। उक्त समितीले तीन जनाको नाम सिफारिस गरेकामा त्यसपछि बसेको मन्त्रि परिषद् बैठकले पौडेललाई अनुमोदन गरेको थियो।
यसपटक गभर्नरमा कसैको नाम चल्ने वित्तिकै योग्यताको प्रश्न उठाउँदै अदालत गुहार्ने अवस्था देखियो। पहिला बाहिर नाम आएका गुणाकर भट्टका हकमा त्यही भयो। पछि विश्व पौडेलका हकमा पनि यही भयो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट चुनाव लडेको कारण देखाएर उनी गभर्नर बन्न अयोग्य रहेको प्रश्न उठाइएको थियो। राजनीतिक दलको सदस्य भएको व्यक्ती गभर्नर बन्न अयोग्य हुने व्यवस्था छ। पौडेलले आफू विगतमा चुनाव लडेपनि नेपाली कांग्रेसको सदस्य नरहेको दावी गर्दै आएका थिए।
तर सर्वोच्च अदालतले पौडेलविरुद्ध आएको रिटलाई सुरुमा दरपिठ गरेको थियो। दरपिठविरुद्ध अर्को निवेदन परेको थियो जसमा मंगलबार न्यायधिशले दरपिठ गरेपछि विश्व पौडेल गभर्नर बन्ने बाटो खुलेको थियो।
चितवन स्थायी घर भएका पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन्। उनी पछिल्लो समय काठमाडौं युनिभर्सिटीमा प्राध्यापन गर्दै आएका थिए। उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए। यस्तै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा सल्लाहकार भएर पनि काम गरेका छन्।
डा स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा पौडेल सल्लाहकार थिए। उनी अन्तर्राष्ट्रिय श्रम संगठनमा सल्लाहका र अफिस अफ दी मिलेनियम च्यालेन्जमा अर्थशास्त्रीका रुपमा पनि काम गरेका छन्। अमेरिका जानुअघि उनले चीनबाट इन्जिनियरिङ गरेका छन्।
उनी कुनै समय सानिमा बैंकको निर्देशक र एक हाइड्रो पावरमा सन्चालक पनि थिए। यस्तै शेरबहादुर देउवा पत्नी आरजुको लगानी रहेको युलेन्स स्कुलमा पनि पौडेल कुनै समय आबद्ध थिए।
गभर्नरको महत्व कति छ भने पौडेलको नियुक्तीमा देखिएको रस्साकस्सीबाट देखिन्छ। नयाँ गभर्नर आउने निश्चित भएपछि मंगलबार शेयर बजार हरियाली बनेको थियो। गभर्नर र राष्ट्र बैंकले लिने नीतिले सम्पूर्ण आर्थिक गतिविधि नै प्रभावित हुने भएकाले को गभर्नर बन्दै छ भनेर व्यवशायीदेखि राजनीतिक दलसम्मको चासो रहन्छ।
देशको आर्थिक स्थायित्व कायम गर्नका लागि मुद्रा आपूर्ति, ब्याजदर, र ऋणको पहुँच जस्ता तत्वहरूलाई नियन्त्रण गर्न गभर्नर र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले आर्थिक गतिविधी कस्तो हुन्छ भनेर तय गर्छ।
विदेशबाट आउने जाने मुद्रादेखि बैंकहरुले प्रवाह गर्ने रिणसम्म राष्ट्र बैंकको नीतिगत निर्णय र मनिटरिङ हुने भएकाले कुनैपनि देशमा गभर्नरको भूमिका महत्वपूर्ण हुन्छ। पौडेल कति योग्य वा अयोग्य आफ्नो ठाउँमा होला, भविस्यमा यसको मापन हुने नै छ। तर फेरी एकपटक गभर्नर नियुक्ती सिफारिस समितीले छान्ने भन्दा पनि राजनीतिक भागबण्डाबाट आफ्नो मान्छे राख्ने ठाउँका रुपमा सरकारले देखाइ दिएको छ।

