काठमाडौं। नेपाल र उज्वेकिस्तानबीच शनिबार राती भएको खेल र त्यसको नतिजा विर्सन तपाईलाई पक्कै गाह्रो भइरहेको हुनुपर्छ।
नेपालले यो खेल जित्ने छ र महिला एसियन कपमा स्थान बनाउने छ। धेरैको यस्तै आशा थियो। तर नेपालले खेल सुरु भएको दुई मिनेट पनि वित्न नपाउँदै गोल व्यहोर्यो।

११ मिनेटमै उज्वेकिस्तानले दोस्रो गोल थप्यो। नेपालले अब जित्ला भन्ने आशा मर्यो। तर नेपालले यसरी पुनरामगन गर्यो की उज्वेकिस्तानले दुईपटक २ गोलको अग्रता लिएर पनि नेपाल बराबरीमा पुगेको थियो।
निर्धारित ९० मिनेटको खेलपछि सिधै टाइब्रेकर गरियो। नेपालको पहिलो प्रहार नै मिस भयो। नेपालकी गोलकिपर अन्जना रानामगरविरुद्ध उज्वेकिस्तानले सुरुका लगातार ४ प्रहार गोलमा परिणत गरेको थियो। नेपालले आफ्नो पाचौँ प्रहार गर्ने जिम्मा गोलकिपर अन्जनालाई दिएको थियो। यो प्रहारमा गोल गर्नैपर्ने दबाब नेपाललाई थियो। तर अन्जनाको प्रहार सोझै उज्वेकिस्तानकी गोलकिपरको हातमा पुग्यो, नेपालले खेल हार्यो।
टाइब्रेकरमा मै हुँ भन्ने खेलाडी पनि चुकेका छन् मै हुँ भन्ने टिम पनि हारेका छन्। भलै, पेनाल्टीमा गोल नगर्ने खेलाडीलाई नमज्जाले उडाइन्छ। नेपाललाई बराबरीमा ल्याइपुर्याएकी कप्तान साम्बाले पेनाल्टीमा गोल गर्न सकिनन् भनेर उनको आलोचना गर्नुको यहाँ कुनै अर्थ नहुन सक्छ। अन्जनाले पनि एउटै पेनाल्टी रोकिनन् भन्ने तर्क पनि बलियो नहुन सक्छ। किनभने पेनाल्टीमा गोल गर्नुलाई भन्दा पनि गोल रोक्नुलाई ठुलो सफलता मानिन्छ।
टाइब्रेकरको यो हारलाई हामी फेरी नेपाली महिला फुटबलमा दोहोरिएको ब्याडलक भन्न सक्छौँ। खेल जितेन, मन मात्र जित्योवाला भाइब्स। टिप्पणी भइरहेको छ- नेपाली महिला फुटबलले एउटा गोल्डेन अवसर खेल फाल्यो। नेपाली महिला फुटबलको एउटा शसक्त पुस्ता ऐतिहासिक सफलताबाट चुक्यो।
उज्वेकिस्तानमा भएको महिला एसियन कप फुटबल छनोटबाट नेपाल अगाडि बढ्ने विश्वास प्रशिक्षक प्याट्रिक डे वाइल्डेले लिएका थिए। उनी नेपाली महिला फुटबलका पहिलो प्रो लाइसेन्स प्रशिक्षक भएकाले नेपालले आशा पनि राखेको थियो। नेपाली महिला फुटबलको जिम्मेवारीमा वाइल्डेको पनि रियल परिक्षण थियो।
अनि नेपाल र उज्वेकिस्तानबीचको खेलको नतिजाले नै एसियन कप पुग्ने टोलीको तय हुने पनि निश्चित थियो। किनभने यो समूहमा लाओस र श्रीलंकाजस्ता बाँकि दुई कमजोर टोली थिए। आजको भिडियोमा हामी प्रशिक्षक वाइल्डेले लिएको एउटा निर्णय जुन उज्वेकिस्तानसँगको खेलपछि मानिसहरु प्रश्न उठाइरहेका छन् त्यसबारे कुराकानी गर्ने छौँ। फुटबल समर्थक भन्दैछन् एन्जिलालाई खेलाएको थियो भने नेपालले स्योर जित्थ्यो।
त्यसो त पहिलो खेलदेखि नै वाइल्डेले केही अचम्मलाग्दा निर्णयहरु लिएका थिए।
विदेशका लिगमा खेलिरहेका एन्जिलासहित रेखा पौडेल, पुजा रानालाई स्टार्टिङ इलेभेनमा स्थान दिएका थिएनन्। पछिल्लो केही वर्ष महिला फुटबलमा साम्बापछि सम्भवत सबैभन्दा चर्चामा रहेकी प्रिति राई पनि स्टार्टिङ इलेभेनमा थिइनन्। नेपालले खेलेका तीनवटै खेलमा रेखा स्टार्टिङ लाइन अपमा अँटाइनन्। प्रिति राईले पनि एक खेलमा मात्र स्टार्टिङ लाइन अपमा स्थान बनाइन तर त्यो उज्वेकिस्तानसँग भने थिएन।
ग्रिसमा व्यावशायीक फुटबल खेलिरहेकी एन्जिलाले भने तीनवटै खेलमा खेल्न पाइनन्। अर्थात उनी प्राथमिकतामा परिनन्। अघिल्लो खेलसम्म टिमको कप्तान रहेकी र पहिलो रोजाईको गोलकिपर रहेकी एन्जिलाको खेल जिवनमा यो एकाएक के भइरहेको थियो, सायद धेरैलाई लागेको जिज्ञासा हो यो।
टिममा कप्तानको विकल्प खोजिनु स्वभाविक मान्न सकिएला। त्यसमा पनि चर्चित र सफल खेलाडीहरुलाई यो जिम्मेवारी दिन खोज्नु अन्यथा मान्न सकिन्न। विदेशमा पनि हामीले हेर्यौँ भने नाम चलेका र सफल खेलाडीहरुले नै कप्तानी सम्मालिरहेको देखिन्छ।
अर्जेन्टिनामा लियोनल मेस्सी, पोर्चुगलमा क्रिस्टियानो रोनाल्डो, फ्रान्समा केलियन एमबाप्पेलाई उदाहरणका रुपमा लिन सकिन्छ। त्यसैले नयाँ प्रशिक्षक वाइल्डेले साम्बालाई कप्तानका रुपमा अगाडि सार्नु स्वभाविक हो। साम्बा अहिले नेपाली महिला फुटबलकी पोस्टर गर्ल पनि हुन्। तर एन्जिलाले कप्तान मात्र गुमाइनन्, उनी एकाएक स्टार्टिङ-११ मा पनि पर्न छाडिन्। दुईवटा जिम्मेवारी उनीबाट एक साथ खोसियो भने पनि हुन्छ।
टिममा नपरेपछि कप्तान कायम रहने कुरा कसरी सम्भव हुन्छ ? यहाँ प्रश्न उठ्न सक्छ- एन्जिला स्टार्टिङ-११ मा नपर्ने भएपछि कप्तानको विकल्प खोजिएको हो की साम्बालाई कप्तान बनाउने र एन्जिला स्टार्टिङ-११ मा पर्ने कुरा अलग हुन् ?
हिजोसम्म पहिलो रोजाईकी एन्जिलाले एकाएक किन खेल्न पाइनन् ? एन्जिलालाई ओझेलमा पार्ने गरी अन्जना रानामगरले त्यस्तो केहि चमात्कार गरेकी थिइन् की ! यस्ता अनेकन जिज्ञासाहरु उठ्न सक्छन्।
हामीले एन्जिलाले खेल्न नपाएका विषयमा एन्फा र उनी निकटहरुसँग कुराकानी गरेका थियौँ।
वाइल्डे झन्डै एक महिनायता नेपाली महिला फुटबल टोलीको प्रमुख प्रशिक्षक रहेका छन्। यसअघि प्रमुख प्रशिक्षक रहेका राजेन्द्र तामाङ अहिले सहायक प्रशिक्षक छन्। एन्जिला ग्रिसमा व्यावशायीक फुटबल खेलिरहेकी छिन्। हालै एन्जिलाको जिवनीमाथी बनेको फिल्म निकै चर्चित बनेको थियो। फिल्मको सफलताले एन्जिला खेलबाट डाइभर्ट हुन्छिन् की भन्ने चिन्ता बढेको थियो। किनभने उनी सबैभन्दा अनुभवी गोलकिपर थिइन्।
झन्डै एक महिना अघि नेपालले थाइल्यान्डसँग दुईवटा मैत्रिपूर्ण खेल खेलेको थियो। दुवै खेलमा कप्तान एन्जिला थिइन् र स्टार्टिङ-११ मा पनि थिइन्।
त्यतिबेला प्रशिक्षक राजेन्द्र तामाङ थिए। थाइल्यान्डसँग नेपालले एउटा खेल १-० र अर्को खेल २-० गोलले हारेको थियो।
२-० गोलले हारेको खेलमा एन्जिलाकै कमजोरीका कारण गोल खाएको प्रशिक्षक तामाङले बताएका थिए। यसअघि वाफ च्याम्पियनसिप र साफ च्याम्पियनसिपको फाइनलमा नेपालले हार ब्यहोर्दा एन्जिला नै कप्तान र गोलकिपर थिइन्। प्रशिक्षक तामाङ थिए।
नयाँ प्रशिक्षकका रुपमा वाइल्डे आएपछि टिमभित्र एन्जिलाको विकल्प खोजिनुपर्ने कुराहरु उठेको थियो। कोचिङ स्टाफभित्रैबाट उक्त छलफल अगाडि बढेको बताइन्छ। विगतमा गोलकिपिङमा एन्जिलाले गरेका केही गल्तिका कारण नेपाल सफलता नजिक पुगेर निराश भएको टिप्पणी टिमभित्र चलेको थियो।
एन्जिलाले उज्वेकिस्तान उड्नु अगावै आफुले स्टार्टिङ इलेभेनमा ठाउँ पाउन सक्ने सम्भावना कम रहेको भनेर निकटस्थ केहीलाई सेयर गरेकी थिइन्।
एसियन कप छनोटका लागि नेपालको पहिलो दिनको खेलभन्दा ठिक अगाडि मात्र सार्वजनिक भएको लाइन अपमा कप्तानका रुपमा रेनुका नगरकोटीको नाम समावेश थियो। तर खेल सुरु हुन लाग्दा कप्तानका रुपमा साम्बा देखिएकी थिइन्। यसका कारण कप्तान कसलाई बनउने भन्ने विषयमा विवाद रहेको देखिएको थियो। गोलकिपरका रुपमा अन्जना थिइन्।
नेपालले एसियन कप छनोटका सुरुका दुई खेलमा लाओस र श्रीलंकालाई सजिलै हरायो। गोलकिपर अन्जनाले खासै मिहेनत गर्नु परेन। शनिबार राती उज्वेकिस्तानसँग भने गोलकिपरको रियल परिक्षण हुनेवाला थियो। वाइल्डेको रोजाईमा अन्जना फेरी परिन्। विदेशका लिगहरु खेलिरहेकी एन्जिला फेरी बेन्चमै सिमित भइन्। मह्तवपूर्ण खेलमा पाएको अवसर अन्जनाले सदुपयोग गर्न सकिनन्। बरु एन्जिलालाई खेलाएको भए नेपालले जित्ने थियो जस्ता टिप्पणीहरु ह्वात्तै बढेका छन्। हुन पनि अन्जनाका लागि यो खेल विर्सनालयक रह्यो।
अन्जनाले खेल सुरु भएको दोस्रो मिनेट पनि वित्न नपाउँदै गोल खाइन्। ११ औँ मिनेटमा उज्वेकिस्तानकी कप्तानले गोल गर्दा अन्जना निरिह बनिन्। त्यसपछि पहिलो हाफमै उज्वेकिस्तानले पेनाल्टीमार्फत तेस्रो गोल गरेको थियो। यसपटक पनि अन्जना हेरेको हेर्यै भइन्।
खेलभर अन्जनाले वाह क्या खेलिन्, वाह क्या बचाइन् भन्ने स्तरको प्रदर्शन गर्न सकिनन्। टाइब्रेकरमा साम्बा पहिलो प्रहारमै चुकेपछि नेपाल दबाबमा परेको थियो। उज्वेकिस्तानका सुरुका चार प्रहार रोक्न नसकेकी अन्जनालाई नेपालको पाचौँ प्रहार गर्न पठाइएको थियो। तर उनको प्रहार गोल हुन सकेन।
यसअघि वाफ च्याम्पियनसिपको फाइनलमा नेपालले जोर्डनसँग टाइब्रेकरमा हारेको थियो। त्यतिबेला एन्जिलाले पनि एकै प्रहार पनि रोक्न सकेकी थिइनन्। त्यसपछि साफ च्याम्पियनसिपको सेमिफाइनल टाइब्रेकरमा पुग्नुअघि एन्जिलाको स्थानमा अन्जनाले प्रवेश गराइएको थियो। त्यतिबेला अन्जनाले शानदार प्रदर्शन गरेकी थिइन् र टाइब्रेकर जितेर नेपाल फाइनल पुगेको थियो।
केही महिना अघि नेपालमै आयोजना भएको फोर नेसन्स कपको फाइनलमा नेपालले म्यानमारसँग हार ब्यहोरेको थियो। त्यतिबेला पनि एन्जिला नै पहिलो रोजाईकी गोलकिपर थिइन्। यतिबेला अन्जनाले एन्जिलाको ठाउँ लिने कुनै माहोल देखिएको थिएन।
एन्जिलाले स्टार्टिङ इलेभेनमा निरन्तरता पाउन सक्ने भनेर अनुमान गर्न सकिने ठाउँ थिए। ती भनेका एसियन कप छनोटजस्तो महत्वपूर्ण प्रतियोगिता अनि एन्जिलाको लामो अनुभव र विदेशका लिगमा लगातार सहभागिता नै हुन्। शनिबारको प्रदर्शनले केहि समय अन्जना र प्रशिक्षक वाइल्डे दुवैलाई आलोचित बनाउने पक्क छ।

