नेपाली महिला क्रिकेट टिम विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएर बुधबार साँझ स्वदेश फर्कियो। त्रिभुवन विमानस्थलमा ओर्लिएर, बाहिर निस्कनुभन्दा केही मिनेट अगाडि हतारिँदै त्यहाँ पुगेकी थिइन् सिता रानामगर।
उनी नेपाली टिमलाई स्वागत गर्न र खुसी साँट्न किन आँतुर देखिन्थिइन् भने त्यसपछिको दृश्यबाट प्रष्ट हुन्थ्यो। बाहिर निस्कँदा सबैभन्दा अगाडि थिइन् कप्तान इन्दु बर्मा र त्यसपछि उपकप्तान पुजा महतो। क्रमश सबै खेलाडीलाई अंकमाल गर्दै स्वागत गरिन्।

तर दृश्य तब भावुक बन्यो जब अन्तिमतिर रहेकी पूर्व कप्तान रुबिना क्षेत्री सिताको अगाडि आईपुगिन्। सिता अंगालो हालेर रुन थालिन्। रुबिनाले सितलाई सुमसुम्याउँदै केहि भनिरहेको देखिन्थिन्। रुबिना हाँसिरहेकी थिइन् जसमा खुसी र सफलता छछल्किरहेको थियो। नेपाली महिला क्रिकेटमा यो अर्थपूर्ण दृश्य थियो.
रुबिना हालको नेपाली टोलीमा सबैभन्दा सिनियर सदस्य हुन्। सिता यदी टोलीमा हुन्थिन् भने सबैभन्दा सिनियरको सूचीमा रुबिना दोस्रो स्थानमा झर्थिन्। नेपालले पहिलो महिला अन्तर्राष्ट्रिय खेल्दाकी सदस्य हुन् सिता।
सन् २००७ मा आयोजना भएको एसिसि महिला ट्रफी नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता थियो जुन सिताले पनि खेलिरहेकी थिइन्। त्यसको एक वर्षपछि सन् २००८ मा नेपालले खेलेको एसिसि यू-१९ महिला क्रिकेटमा नेपाली टोलीमा थिइन् रुबिना क्षेत्री।
त्यसयत सिता र रुबिना दुवैले नेपाली टोलीबाट निरन्तर खेलिरहेका थिए। यसबीचमा नेपालले सिनियर अन्तर्राष्ट्रिय महिला क्रिकेटमा एउटा पनि उपाधि जित्न सकेको छैन। यस्तै विश्वकप त के विश्वकपको विश्वस्तरको छनोटमा पनि पुग्न सकेको थिएन।
थाइल्यान्डमा हालै सम्पन्न टी-२० महिला विश्वकपको एसियाली छनोटमा जान सिताले पनि प्रयाश गरेकी थिइन् तर उनी टिममा परिनन्। उनले अन्तिमपटक गत फेब्रुअरिमा नेपालका लागि खेलेको थिइन्, थाइल्यान्ड र नेदरल्यान्ड्सलाई बोलाएर घरेलु मैदानमा खेलिएको टी-२० अन्तर्राष्ट्रिय शृखलामा।
त्यसपछि उनी घाइते भएकी थिइन् र पुनरागमनको प्रयाश गर्दै थिइन्। ग्लोबल क्वालिफायरमा पुगेर ऐतिहासिक सफलता हात पार्ने नेपाली टोलीमा नहुनुको पिडा सायद सितालाई थियो। १८ वर्षदेखि नेपालका लागि खेलिरहेकी सिता यो सफलताका लागि सायद डिजर्भ पनि गर्थिन्।
अर्कातर्फ नेपालले प्राप्त गरेको यो सफलता देख्न सिता आँतुर पनि थिइन्। लगभग एउटै समयमा संघर्ष सुरु गरेर अथक प्रयाश गरिरहेकी रुबिनालाई अगाडि देख्दा सिता भावुक हुनु स्वभाविक थियो। खासमा सिता र रुबिना नेपाली महिला क्रिकेटका लागि आदर्श हुन् जसले अन्तर्राष्ट्रिय सफलता सँधै पछ्याइरहे र नेपालका लागि खेल्न छाडेनन्। केहि नहुँद पनि खेल र देशप्रतिको मोहले उनिरुलाई क्रिकेटबाट बाहिर निस्कन दिएन।
भावुक सिता मात्र थिइनन्, स्वदेश फर्किएर त्रिभुवन विमानस्थलबाहिर सन्चारकर्मीसँग बोल्नेक्रममा रुबिनाले पनि आफुसँग बोल्ने कुनै शब्द नरहेको व्यक्त गरिन्। उनले ग्लोबल क्वालिफायरमा पुग्न भगवानसँग प्राथर्ना नै गरेको पनि बताइन्। उनले अब आफु एक वर्षभन्दा बढी समय खेल्न नसक्ने भएकाले अन्तिम अवसर सफल भएको उल्लेख गरिन्।
एक वर्षयता नेपाली महिला क्रिकेट टोली उच्च मनोबलमा छ। नेपालले यसबीचमा पहिलोपटक यू-१९ महिला विश्वकप खेल्यो भने एसिया कपमा पनि ऐतिहासिक जित हात पारेको छ। थाइल्यान्डबाहेक एसियाका अन्य एसोसियट टोलीलाई हराइरहेको छ।
अब नेपाललाई अन्तर्राष्ट्रिय उपाधि खडेरी टार्न सबैभन्दा बलियो चुनौती थाइल्यान्ड हुने देखिन्छ जसलाई आगामी दिनमा नेपालले हराउनुपर्ने छ। त्यसबाहेक अहिलेलाई नेपाली महिला क्रिकेटको ध्यान ग्लोबल क्वालिफायरमा हुने छ जसमा सहभागी हुने १० टोलीमध्ये ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
बाँकेको नेपालगन्ज स्थायी घर भएकी सिता अलराउन्डर हुन्। लामो समय ओपनिङ ब्याटरका रुपमा खेल्दै आएकी उनलाई पछिल्लो समयमा पनि मध्यक्रमबाट ब्याटिङमा पठाउने गरिएको थियो।
उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६१ खेल खेल्दै ५८ इनिङ्समा २१.३५ औसत र ७९.११ स्ट्राइक रेटमा, एक अर्धसतकसहित ९ सय ६१ रन जोडेकी छिन्। पछिल्ला खेलहरुमा उनलाई दोहोरो अंक छुन हम्मेहमे परिरहेको थियो। नेपाली खेलाडीमा फिटेनसको प्रश्न उठिरहँदा त्यसको घेराभित्र सिता पनि थिइन्।


