काठमाडौं। काठमाडौं तिनकुनेमा चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएको घटनामा दुर्गा प्रसाईसहित ७ जनाविरुद्ध ज्यान मारेको अभियोग लागेको छ।
त्यस घटनामा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो भने एक घरभित्र प्रदर्शनकारीले आगो लगाउँदा भिडियो खिचिरहेका पत्रकार सुरेश रजकको ज्यान गएको थियो।

दुर्गा प्रसाईको नेतृत्वमा भएको उक्त प्रदर्शनलाई राजसंस्था पुनर्स्थापनाको एजेन्डसहित बनेको संयुक्त जनआन्दोलन संघर्ष समितीले पनि साथ दिएको थियो। प्रसाईलाई समितिले कमान्डर नै तोकेको थियो।
घरभित्र पुगेर आगो लगाउने र तोडफोडमा संलग्न देखिएका सबै ७ जनालाई ज्यान मारेको अभियोग लगाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ।
प्रसाईविरुद्ध राज्यविरुद्धको कसुर, ज्यान सम्बन्धी कसुर, ज्यान मार्ने उधोग र आपराधिक उपद्रव लगाइएको छ। हरिहर चौलागाई, सरोज गौतम, गोकर्ण शाही, डण्डापाणी रेग्मी, सन्तोषकुमार सिलवाल र हेमराज थारुविरुद्ध ज्यान मारेकोसहितका कसुर लगाइएको छ।
यस्तै रविन्द्र मिश्र, धवल शमशेर राणाविरुद्ध राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको कसुरसहित २ वटा कसुर लगाइएको छ। तीनकुने घटनामा ७४ जनाविरुद्ध मुद्धा चलाइएको छ। प्रहरीले ९० जनालाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।


