काठमाडौं। नौ वर्षअघि सम्बन्ध विच्छेद गरेका श्रीमान। विवाह गरेको तीन महिनामै आफ्नै दाजुको हत्या गरेर सुजन कोइराला जेल परेपछि श्रीमती दीपाले आफ्नो बाटो तय गरिन् र अर्को विवाह गरिन्।
अहिले दुई छोरीसहित दीपा पाल्पाको तानसेनमा काम गर्दै बसिरहेकी थिइन। मान वैदेशिक रोजगारीमा गएर परिवारको सुन्दर सपना बुनिरहेका थिए।

तर उनै दीपा बुधबार बिहान बुटवलको होइराजनचोकमा रहेको एक घरमा मृत भेटिइन्। दीपा मात्र होइन, उनिका दुई छोरीहरु मारिएको अवस्थामा फेला परे।
तीनै जनाको शरिरमा धारिलो हतियार प्रहार गरिएको थियो। यतिबेला दीपाको माइती पक्ष, श्रीमान र अन्य आफन्तमा सन्नाटा छाइरहेको छ।
उनिहरु आफ्नो परिवारमा घटेको यो कहालीलाग्दो घटना पत्याउन सकिरहेका छैनन्।
उनिहरु पत्याउन सकिरहेका छैनन्- आफ्नी बुइनी, बुहारी, श्रीमती, छोरी सम्बन्ध अनुसार आ-आफ्नो नाता पर्ने दीपा आफ्ना दुई छोरीसहित कसरी पूर्व श्रीमान सुजनको घरमा पुगिन् भनेर।
हो, पूर्व श्रीमान सुजनको घरमा दीपा र उनका दुई सन्तान विभत्स हत्या गरिएको अवस्थामा फेला परेका हुन्।
बुधबार बुटवलमा दीपाकी भान्जीको विवाह हुँदै थियो। उनी मंगलबार बुटवल आईपुगेकी थिइन्। तर उनि बुटवल आईपुगेको कुरा न घरपट्टीका थाहा थियो नत माइति पट्टीकालाई।
यसरी बुधबार बिहान एकाएक बुटवलमा दीपा र उनका दुई छोरीको हत्या भएको सुन्दा सायद परिवारलाई विश्वास नै गर्न गाह्रो थियो। अगाडि नदेख्दासम्म उनिहरुले पत्याएनन् पनि होला। तर सत्य त्यही थियो।
प्रारम्भिक अनुसन्धानमा आफ्ना पूर्व श्रीमान अर्थात सुजन कोइरालाले नै दीपा र उनका दुई छोरीको हत्या गरेको पाइएको छ।
अचम्म त के छ भने बिहान उठेर बाहिर निस्किएर पनि सुजन काम गरिरहेका थिए जतिबेला उनको घरभित्र तीन जनाको शव लडिरहेको थियो।
सुजन र दीपाले २०६९ असोजमा विवाह गरेका हुन्, त्यो पनि प्रेम सम्बन्धपछि। उनिहरु अहिले घटना घटेकै ठाउँमा बस्थे विवाहपछि। तर केही महिनामै यो परिवारमा बज्रपात पर्यो। सुजनले आफुसँगै बसिरहेका दाईको हत्या गरे।
यो २०६९ पुसको कुरा थियो। दाजु हरायो भन्दै प्रहरीमा निवेदन दिएका सुजन आफैले हत्या गरेर शव लुकाएको प्रहरी अनुसन्धानबाट देखिएको थियो। उनले आर्थिक विषयमा विवाद आउँदा दाजुको ज्यान गएको बयान प्रहरीमा दिएका थिए। त्यसपछि उनि बाहिर निस्कन पाएनन्। पुर्पक्षका लागि थुनामा पुगेका उनलाई अदालतले जन्मकैद सजाय सुनायो।
दीपाले सम्बन्ध विच्छेद गरेर कावासोतीका एक युवकसँग विवाह गरिन् जो आफु पनि पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद भएर बसिरहेका थिए।
२०७८ सालमा आचरण सुधार भएको भन्दै सुजनको सजाय छुट भएर उनि जेल परेको ९ वर्षमै छुटे।
त्यसपछि आफु पहिला बस्दै आएकै ठाउँमा आएर उनि हस्तकलाको सामग्रीको व्यापार गरेर बस्दै आएका थिए। उक्त घरमा सुजन एक्लै बस्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका सुजनले आफू दीपासँग एक वर्षदेखि नियमित सम्पर्क र सम्बन्धमा रहेको बयान दिएका छन्। स्थानीयले पनि पछिल्लो समय दीपाजस्तै मान्छे सुजनको घरमा आईरहने गरेको सन्चार माध्यमहरुलाई बताएका छन्।
यतिबेला रुपन्देही प्रहरीले अनुसन्धन गरिरहेको छ। सुजनले त्यहाँबाट जाउ भन्दा नमानेपछि दीपा र उनका दुई छोरीको हत्या गरेको बयान दिएका छन्।
यतिबेला दीपाका आफन्त मात्र होइन घटना भएको बुटवलको होराइजनचोकस्थित मिलिजुलीपथमा पनि सन्नाटा छाइरहेको छ। उनिहरु पत्याउन सकिरहेका छैनन्।
यो घटनाले सरकारले दिने कैद सजायको माफीमाथी पुन एकपटक प्रश्न उठेको छ। २०७५ सालमा नयाँ कानुन लागु हुनुअघि जन्मकैद सजाय भएकाले पनि ६० प्रतिशतसम्म सजाय छुट पाउने गर्थे।
नयाँ कानुनमा भने जन्मकैद भएकालाई त्यो छुटको व्यवस्था छैन। बरु अहिले सजाय छुट गर्दा पिडित पक्षको पनि सहमती आवश्यक हुनुपर्ने सर्वोच्च अदालतले फैसला गरेको छ।
अहिलेको यो घटनालाई अनुसन्धान अधिकारीहरु वैदेशिक रोजगारी अनि परपुरुष, परस्त्री सम्बन्धलाई जोडेर हेरिरहेका छन्।



