काठमाडौं। आगामी आर्थिक वर्षमा वृद्ध भत्ता पाउने उमेर ७० वर्ष पुर्याइएको छ। अर्थमन्त्री विष्णु पौडेलले वृद्ध भत्ता पाउने उमेर २ वर्ष बढाएका हुन्।
आर्थिक वर्ष २०७९/८० मा तत्कालिन अर्थमन्त्री जनार्धन शर्मा प्रभाकरले वृद्ध भत्ता पाउने उमेरलाई ६८ वर्षमा झारेका थिए।

यसपटक फेरी ७० वर्ष पुर्याइएको छ। त्यतिबेला चुनावको मुखमा सरकारमाझ लोकप्रिय बन्न सरकारले वृद्ध भत्ता पाउने उमेर घटाएको थियो। सरकारले वृद्ध भत्ताबापत मासिक ४ हजार रुपैयाँ दिँदै आएको छ।
२०५२ सालमा तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्ध भत्ता दिने चलन सुरु गरेको थियो। त्यतिबेला अर्थमन्त्री भरतमोहन अधिकारी थिए।
०५७/५८ मा तत्कालिन अर्थमन्त्री महेश आचार्यले ५० रुपैयाँ थपेर मासिक एक सय ५० रुपैयाँ पुर्याएका थिए। त्यसपछि भरतमोहन अधिकारी नै अर्थमन्त्री हुँदा ०६१/६२ सालमा २५ रुपैयाँ थपेर एक सय ७५ सय रुपैयाँ पुर्याइएको थियो।
०६५/६६ सालमा तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराईले मासिक ५ सय रुपैयाँ पुर्याए। अर्थमन्त्री रामशरण महत हुँदा वृद्ध भत्ता मासिक एक हजार रुपैयाँ पुग्यो। विष्णु पौडेल अर्थमन्त्री हुँदा यसलाई २ हजार पुर्याए। युवराज खतिवडा हुँदा ३ हजार पुग्यो। विष्णु पौडेलले यसलाई ४ हजार रुपैयाँ पुर्याएका थिए।
सरकारले सामाजिक सुरक्षा भत्ताका रुपमा अन्य ज्येष्ट नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, लोपोन्मुख आदिवासी/जनजातीलगायत वितरण गर्दै आएको छ।
यता सरकारले आगामी आर्थिक वर्षका लागि कर्मचारीको तलब पनि बढाएन। बरु महँगी भत्ता २ हजार रुपैयाँबाट ५ हजार रुपैयाँ पुर्याएको छ। यसअघि ०७९/८० मा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए।
बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत २ हजार रुपैयाँ र वार्षिक रूपमा पोसाक भत्ता १० हजार रुपैयाँ पाउँदै आएका छन्।


