काठमाडौं। सरकारले आयातित मदिरामा अब प्रतिशतका दरले कर लगाउने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले लिटरका हिसाबले लाग्दै आएको कर अब प्रतिशतका दरले लाग्ने बजेट भाषणमार्फट सार्वजनिक गरे। यसको मतलब अब महँगो रक्सीमा धेरै धेरै पैसा र सस्तो रक्सीमा कम पैसा सरकारले प्राप्त गर्ने छ।

बियर प्रतिलिटर २ सय रुपैयाँ लिने गरिएकोमा अब ८० प्रतिशत कर लगाइने छ। वाइनमा प्रति लिटर ३ सय रुपैयाँ कर लगाइएकामा अब ८० प्रतिशत निर्धारण गरिएको छ। साइडर, पेरी, साकेलगायत फर्मेन्टेड मदिरामा ४० प्रतिशत लिने गरिएकोमा त्यसलाई ८० प्रतिशत पुर्याइएको छ।
८० प्रतिशत वा त्यसभन्दा बढीका अल्कोहल क्षमताका स्पिरिट अर्थात मदिराको कच्चा पदार्थमा प्रति लिटर ६० रुपैयाँ लिने गरिएकोमा अब त्यसलाई ३० प्रतिशत निर्धारण गरिएको छ।
ब्रान्डीको कच्चा पदार्थ प्रति लिटर १५ सय रुपैयाँ लिने गरिएकामा अब ८० प्रतिशत, ह्विस्कीको कच्चा पदार्थ प्रतिलिटर १५ सय रुपैयाँ लिने गरिएकामा अब ८० प्रतिशत कर लगाइने भएको छ।
रमको कच्चा पदार्थ प्रतिलिटर १५ सय रुपैयाँ लिँदै आएकोमा अब त्यसलाई ८० प्रतिशत तय गरिएको छ।
भोड्काको कच्चा पदार्थ पनि प्रति लिटर १५ सय रुपैयाँबाट ८० प्रतिशत तय गरिएको छ। हल्का पेय पदार्थ प्रति लिटर ४० रुपैयाँ लिँदै आएकोमा अब ४० प्रतिशत नै तय गरिएको छ।


