काठमाडौं । सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र सम्वादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ ।
सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्वन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन्। कार्यदलको संयोजकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयक, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारकातर्फबाट कार्यदलमा छन्।
त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् । गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य कार्यदलको सदस्य सचिव राखिएका छन्।
त्यसैगरी बैठकले वार्ता र सम्वादमार्फत समस्याको समाधान गर्न सरकार सकरात्मक रहेको सन्र्दभमा बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसित अनुरोध समेत गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।


