काठमाडौं। पहिला ब्याटिङ गरेको टिमलाई २ सय २५ रनमा अलआउट गर्नु। त्यसपछि चौथो विकेटका लागि ५५ अनि पाचौँ विकेटका लागि ८९ रनको साझेदारी गर्नु।
विजयी रनका रुपमा सातौँ नम्बरमा आएका ब्याटरले छक्का प्रहार गरेर स्टाइलमा खेल जित्नु। यतिबेला नेपाली क्रिकेटले एसोसियट क्रिकेटलाई भन्दै छ- हामी कमजोर भएका थिएनौँ बस अर्को सुन्दर यात्राका लागि केही पूर्व तयारीमा थियौँ।

नेपालको कुरा किन कन्भिन्सिङ लागिरहेको छ भने स्कटल्यान्डपछि अर्को बलियो टोली नेदरल्यान्ड्समाथी नेपाली टोलीले शानदार जित हात पारेको छ। गाईगुई सुरु भएको छ- नेपाली क्रिकेटमा स्टूवार्ट लको एरा सुरु भएको छ।
स्टुवार्ट एरा सुरु भयो भन्ने कुरा पनि कन्भिन्सिङ लागिरहेको छ। नेपाली टोलीको प्रमुख प्रशिक्षकका रुपमा स्टुवार्ट ल पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइरहेका छन्।
विश्वकप लिग-२ क्रिकेटमा सुरुका १२ खेलमा केवल ६ अंक जोडेर अंक तालिकाको पुछारमा अर्थात आठौँ स्थानमा रहेको अवस्थामा स्टुवार्ट ल नेपाली क्रिकेटलाई सम्हाल्न आईपुगका थिए।
ल यस्तो बेलामा नेपाल आईपुगेका थिए झन्डै यस्तै अवस्था थियो जतिबेला मन्टी देशाई २ वर्षअघि नेपाली टोलीको जिम्मेवारी सम्हाल्न आईपुगेका थिए। विश्वकप लिग दुईमा नेपालले २४ खेल खेल्दा केवल १८ अंक जोडेको थियो। एकदिवशीय अन्तर्राष्ट्रिय गुम्ने खतरा थियो।
नामिबिया र स्कटल्यान्डजस्ता टिमसँग त्रिवि क्रिकेट मैदानमा खेल्दै देशाई एरा सुरु भएको थियो नेपाली क्रिकेटमा। औपचारिक रुपमा उपाधि जित्न मात्र बाँकी रहेको स्कटल्यान्ड र एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाइसकेको नामिबियाविरुद्ध नेपालले यसरी खेल्यो की उनिहरुसँग भएका सबै ४ खेल जित्यो।
नेपाली क्रिकेटमा त्यो मन्टी देशाई एराको सुरुवात थियो। एराकै रुपमा देशाई किन स्थापित भए भने नेपालले बाँकी १२ मध्ये ११ विश्वकप लिग २ खेल जितेर एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगायो। एकदिवशिय विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्यो, एसिसि प्रिमियर कप जित्यो र पहिलोपटक एसिया कप खेल्यो। उपलब्धीहरु त्यत्ति मात्र थिएनन्।
नेपालले १० वर्षपछि टी-२० विश्वकप पनि खेल्यो। तर विश्वकप लिग-२ को चालु एडिसन देसाईले सोचेजस्तो रहेन। सायद नेपाली क्रिकेटको भविस्यलाई हेरेर हुन सक्छ, नेपाल क्रिकेट संघ-क्यानले देशाईलाई निरन्तरता दिएन र अस्ट्रेलियन स्टुवार्ट ललाई ल्यायो।
स्टुवार्ट लमाथी अहिलेका लागि मन्टी देशाई एरा दोहोरिने अपेक्षा बढीरहेको थियो। किनभने विश्वकप लिग-२ अंक तालिका हेर्दा नेपाली क्रिकेटको त्यस्तै अवस्था थियो जस्तो मन्टी देशाई आउनुअघि थियो। भलै नेपाली क्रिकेटलाई त्यतिबेलाजस्तो हरेक खेल जित्नुपर्ने दबाब थिएन। अझै २४ खेल खेल्न बाँकी नै थियो।
स्टुवार्ट ल भनिरहेका थिए- हामी हरेक खेल जित्नेका लागि, जित्ने गरी खेल्नुपर्छ।
उनले स्पष्ट सन्देश दिइरहेका थिए- राम्रो खेल्ने टोलीमा पर्छ। अनुभवले मात्र कसैलाई ग्रान्टेड हुने छैन
नेपाली टोलीमामा जितको भोक जगाएर प्रशिक्षक ल र नेपाली टोली स्कटल्यान्ड पुगेको थियो जहाँ नेपाली टोलीले दुई बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै थियो।
यो शृंखला सुरु हुनुभन्दा अगाडी स्कटल्यान्ड १६ खेलबाट २० अंक जोडेर तालिकाको चौथो र नेदरल्यान्ड्स २० खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा थिए।
अर्थात ६ अंक भएको टोलीले २० अंक र २६ अंक भएका टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो। स्कटल्यान्डको टफ कन्डिसनका कारण नेपाली खेलाडीहरु डराइरहेका पनि थिए। यसले आफ्नो पहिलो प्रतियोगितामै प्रशिक्षक स्टुवार्ट लमाथी कति ठुलो दबाब थियो, हामी अनुमान गर्न सक्छौँ।
तर नेपाली क्रिकेट टोलि सबै अड कन्डिसनलाई पराजित गर्दै अगाडि बढेको छ। स्कटल्यान्डविरुद्ध नेपालले लोअर अडरसम्म आफ्नो ब्याटिङ स्ट्रेन्थ र कन्फिडेन्स देखायो। अन्तिम बल बाँकी रहँदासम्म हार नस्विकार्ने एटिच्युड खेलाडीले देखाए। माथिल्लोक्रमका ब्याट्सम्यानले गरेको साझेदारी उल्लेखनीय थियो।
नेदरल्यान्ड्सविरुद्ध नेपालले आफ्नो बलिङ स्ट्रेन्थ देखायो। ललित नारायण राजबंशी र सन्दीप लामिछानेको स्पीन जोडी शसक्त देखियो।
अन्य बलरहरुले पनि राम्रो खेले। त्यसपछि मध्यक्रमका ब्याट्सम्यानबीच गतिलो साझेदारी भयो। पहिलो खेलमा गुल्सन झा र करण केसीजस्तै यसपटक आरिफ शेखले भन्दिए- मलाई साथ मात्र देउ, खेल जिताउने जिम्मा मेरो भयो।
नेपालि क्रिकेटमा अन्डर रेटेड यी ब्याटरले आफ्नो इन्पोर्टेन्स पुस्टी गरे। लगातार दुई खेल जितेपछि नेपाल १४ खेलबाट १० अंक जोडेर ७ औँ स्थानमा छ। अब स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग हुने दुवै खेल जितेमा नेपाल नामिबियालाई पछाडी पार्दै अंक तालिकाको छैटौं स्थानमा उक्लिने छ।
यहाँ उल्लेखनीय के छ भने २० अंकसहित पाचौँ स्थानमा रहेको क्यानडाले नेपालभन्दा ६ खेल बढी खेलेको छ। २८ अंक भएको अमेरिका र २४ अंक भएको ओमानले पनि नेपालले भन्दा ६ खेल बढी खेलेका छन्।
त्यसैले अंक तालिकामा पछाडि देखिए पनि नेपालले माथि रहेका अन्य टोलीभन्दा खेल पनि कम खेलेको छ। जस्तो की नेपालले अबका ६ खेल लगातार जितेमा पहिलो स्थानमा रहेको अमेरिकाभन्दा केवल ६ अंकले मात्र पछाडि रहने छ र अंक तालिकामा कम्तिमा ५ औँ स्थानमा उक्लिने छ।
लमाथी अहिले नै जजमेन्ट गरि हाल्नु हतार हुन सक्छ। किनभने अहिलेलाई केवल दुई खेल लगातार जितेको छ। विश्वकप लिग दुईमा अझै नेपालको यात्रा लामो छ। धेरै खेल बाँकी छन्।
टप फोरमा उक्लनेदेखि विश्वकप लिग-२ को उपाधि जित्नेसम्मका लक्ष्यहरु नेपालले तय गर्न सक्छ। दुई बलिया टोलीमाथी त्यसमा पनि घरेलु मैदानभन्दा बाहिर गएर, टफ कन्डिसनमा जित हात पार्नु अहिलेका लागि पोजेटिभ साइन हुन्।


