काठमाडौं अवैध आप्रवासीमाथी जिरो टोलेरेन्सको नीति लिइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकै दिन ३७ जना नेपालीलाई आइतबार घर फर्काउँदैछन्।
यति ठुलो संख्यामा नेपालीलाई अमेरिकाले एकैपटक डिपोर्ट गर्न लागेको यो पहिलोपटक हो। अपरान्ह चार्टर्ड फ्लाइटमार्फत उनिहरुलाई काठमाडौं ओरालिँदै छ। चार्टर्ड फ्लाइट बंगलादेशको ढाका हुँदै नेपाल आउने छ।

अमेरिकामा रहका यी नेपालीलाई फर्काउने विषयमा ट्रम्प प्रशासनले केही समय अघि नै नेपाल सरकारलाई जानकारि गराएको थियो।
नेपालस्थित अमेरिकी दुतावासले परराष्ट्र मन्त्रालयलाई त्यस विषयमा पत्राचार गरेको थियो। सोही अनुसार फर्काउन लागिएका ४८ नेपालीको सूची अध्यागमन कार्यालय र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई उपलब्ध गराइएको थियो। तर कागजातको समस्याका कारण ११ जना रोकिएका छन्। नेपाल फर्काइन लागेका ३७ जनामध्ये ५ जना महिला छन्।
अघिल्ला घटनाहरुमा पनि अमेरिकाले डिपोर्ट गर्न लागिएका नेपालीबारे नेपाल सरकारलाई जानकारी गराउने गरेको थियो यसरी नै।
कागजात नभएका खासगरी पासपोर्ट नभएका नेपालीलाई अमेरिकी प्रशानसको अनुरोधमा त्यहाँ रहेको नेपाली दुतावासाले ट्राभल डकुमेन्ट बनाइ दिन्छ। त्यसै आधारमा उनिहरुलाई नेपाल पठाइन्छ। अहिलेसम्म अमेरिकाले फर्काएका अधिकांश नेपाली अवेध रुपमा अमेरिका प्रवेश गरेर बस्नेहरु छन्। मानव तस्करीले उनिहरुलाई चोरबाटो हुँदै त्यहाँ पुर्याएको देखिने गरेको छ।
चार्टर्ड विमानले काठमाडौं ओरालेपछि डिपोर्ट गरिएका नेपालीमाथी प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्ने छ। उनिहरु कसरी अमेरिका पुगेका थिए भन्ने जानकारी लिन प्रयाश गर्ने छ। तर हालसम्मको अनुसन्धानमा त्यसरी फर्किएका नेपालीले उनिहरुलाई कसले त्यहाँ पुर्याएका थिए भन्ने बताउन चाहेको पाइएको छैन। आफुलाई अमेरिका छिराउनु थियो छिराए आफ्नै ब्याडलक भन्दै उनिहरु चुपचाप बस्ने गरेका छन्।
आफ्नो देशमा अवैध रुपमा बसिरहेका आप्रवासीलाई अमेरिकाले पटकपटक आफ्नो देश फर्कन निर्देशन दिँदै आएको छ।
पछिल्लो समय स्वेच्छिक रुपमा फर्कन चाहने अवैध आप्रवासीका लागि राष्ट्रपति ट्रम्पले अफर पनि ल्याएका थिए।
तर त्यसलाई नटेरी, जबर्जस्ती बसिरहेका आप्रवासीमाथी भने अमेरिकी प्रशासन निर्मम बनिरहेको छ। डिपोर्टको आदेश भएर पनि अटेरी गर्नेहरुमाथी अमेरिकी सुरक्षा निकायले धरपकड गरिरहेको छ।
गत जनवरीमा ट्रम्पले दोस्रोपटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको पहिलो निशानामै त्यहाँ रहेका अवैध आप्रवासी परेका थिए। अमेरिकामा एक करोडभन्दा बढी अवैध आप्रवासी रहेको बताइन्छ। ट्रम्प प्रशासन आएयता अमेरिकाले अवैध रुपमा प्रवेशका लागि प्रयोग हुने गरेको मेक्सिकन बोर्डर टाइट गरेको छ भने बोर्डरमा पुगेर प्रवेशका लागि आवदेन दिन सकिने अनलाइन सिस्टम पनि ट्रम्पले बन्द गरेका छन्।
पछिल्लो समय अमेरिकाले त्यहाँ अस्थायी रुपमा बस्न दिने गरेको टेम्पोररी प्रोटेक्टेड स्टाटस अर्थात टिपिएस पनि खारेज गरेको छ।
यसरी टिपिएस खारेज भएका नेपालीसहितका आप्रवासीलाई दुई महिनाभित्र घर फर्कन भनिएको छ। टिपिएस खारेजीले अमेरिकामा रहेका कम्तिमा ७ हजार नेपाली अप्ठेरोमा पर्न सक्ने बताइएको छ।
यहाँ उल्लेखनीय के छ भने स्थानीय समयअनुसार गत बिहिबार साँझ भर्जिनियामा बस्दै आएको एक नेपाली परिवारका सबै ४ जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए।
३८ वर्षीय सन्तोष परियार, उनकी ३६ वर्षीय श्रीमती अन्जु ,८ वर्षकी छोरी र २ वर्षका छोरा मृत भेटिएका थिए। प्रहरीले यो घटना हत्यापछि आत्महत्याका रुपमा अनुमान गर्दै अनुसन्धान गरिरहेको छ। कसले हत्या गरेर आत्महत्या गरेको भन्नेबारे केही खुलाइएको छैन। उनिहरु कुन भिषा स्टाटसमा थिए भन्ने पनि केही बाहिर आएको छैन। यसबारे अनुसन्धानले केही न केही त बाहिर ल्याउने नै छ। यसका भित्रि कारणहरु विस्तारै खुल्दै जालान्। यही बेला अमेरिकाले ठुलो संख्यामा नेपालीलाई घर फर्काउन लागेको छ।
भिषा भएका आप्रवासी पनि पछिल्लो समय अमेरिकामा आतङ्कित छन्। अमेरिकी नीतिविरुद्ध क्रियाकलपा गर्नेहरु ट्रम्पको निशानामा परिरहेका छन्। भिषाले अनुमती नदिएका कामहरु गर्नेलाई पनि अमेरिकाले भिषा रद्ध गरिरहेको छ। अनुमतीभन्दा बढी काम गर्नेहरुलाई पनि अमेरिकाले घर फर्काइरहेको छ।
ट्रम्पले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि त्यहाँबाट एक सय २६ जना जना नेपालीलाई घर फर्काइएको छ। यस्तै अमेरिका जान हिँडेर पनामामा अड्किएका २० जना नेपालीलाई पनि केही समय अघि नेपाल फर्काइएको थियो। गत अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ। ट्रम्पको दोस्रो कार्यालय सुरु भएयता अमेरिकाले दुईपटक चार्टर्ड नै गरेर नेपालीलाई फर्काएको थियो।
सन् २०२४ मा अमेरिकाले जम्मा ५२ जना नेपालीलाई घर फर्काएको थियो। अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुका अनुसार ट्रम्पको दोस्रो कार्यालय सुरु भएयता गत मेसम्म अमेरिकाले करिब डेढ लाख अवैध आप्रवासीलाई फर्काएको छ।



