काठमाडौं। चालु आर्थिक वर्षको सुरुको १० महिनामा रेमिट्ट्यान्स १३.२ प्रतिशतले बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष सोही अवधिमा ११ खर्ब ९८ अर्ब ६३ करोड रेमिट्ट्यान्स भित्रिएको थियो। गत वर्ष यो अवधिमा रेमिट्टयान्स १६.९ प्रतिशतले बढेको थियो।

चालु आर्थिक वर्षमा ४ लाख ५ हजार ६ सय १० जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्विकृती लिएको र २ लाख ८० हजार ३ सय १० जनाले पुन श्रम स्विकृती प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष सुरुको १० महिनामा ३ लाख ७३ हजार ३ सय ७ जनाले अन्तिम श्रम स्विकृती र २ लाख ३६ हजार ३ सय ९८ जनाले पुन श्रम स्विकृती लिएका थिए।
यस्तै खुद सेवा आय ८६ अर्ब ५३ करोड रहेको छ। गत आर्थिक वर्ष सोही अवधिमा खुख सेवा आय ५० अर्ब ३१ करोड घाटामा थियो।
यस्तै भ्रमण आय ८.६ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष ७५ अर्ब ७१ करोड सेवा आय भएको छ भने गत चालु आर्थिक वर्ष यो अवधिमा उक्त रकम ६९ अर्ब ७३ करोड रहेको थियो।
यस्तै भ्रमण व्यय १७.९ प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब ३ करोड पुगेको छ। गत आर्थिक वर्ष त्यस अवधिमा भ्रमण व्यय एक खर्ब ५६ अर्ब ९५ करोड रहेको थियो। शिक्षा, पर्यटनमा प्राप्त हुने वैदेशिक आम्दानी र खर्चलाई भ्रमण आय व्यय भनिन्छ।
भ्रमण व्ययअन्तर्गत चालु आर्थिक वर्षको सुरुको १० महिनामा विधार्थीले एक खर्ब १२ अर्ब ४४ करोड नेपाली रुपैयाँ विदेश लगेका छन्। गत वर्ष सुरुको १० महिनामा यो रकम एक खर्ब ४ अर्ब २५ करोड थियो।
यस्तै वैदेशिक निर्यात ७२.७ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष को सुरुको १० महिनामा वैदेशिक निर्यात ३.६ प्रतिशतले घटेको थियो। यो वर्ष भारततर्फ १०४.७ प्रतिशतले, चीनतर्फ ५.१ प्रतिशतले र अन्य देशतर्फ ४.२ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकको तथ्यांक छ।
यस्तै वैदेशिक आयात पनि १३.१ प्रतिशतले वृद्धी भएर १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्ष सुरुको १० महिना आयात २.४ प्रतिशत घटेको थियो।
वस्तु आयात हुने मुलुकहरुका आधारमा भारतबाट ७.९, चीनबाट १५.१ र अन्य मुलुकबाट २८.३ प्रतिशत वृद्धी भएको छ। यसरी हेर्दा व्यापार घाटा ६.७ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै विदेशी मुद्रा सन्चिति १८ अर्ब ४० करोड अमेरिकी डलर रहेको छ।


