बर्लिन : तपाईले कत्तिको याद गर्नु भयो, आइतबार राती नेसन्स लिगको फाइनलमा पोर्चुगल र स्पेन भिड्न थालेको केही समयमा सामाजिक सन्जालमा एउटा तस्विर भाइरल भएको थियो। मैदानमा उत्रिरहेका ४० वर्षका क्रिस्टियानो रोनाल्डो र १७ वर्षका लेमिन यमाल एउटै फ्रेममा कैद भएको तस्विर थियो त्यो।

तस्विरमा रोनाल्डो र यमाल दुई फरक दिशामा गइरहेको जस्तो देखिन्छ। यो तस्विर कतिसम्म अर्थपूर्ण थियो भने स्पेन र पोर्चुगलबीचको यो उपाधि भिडन्तलाई क्लास अफ रोनाल्डो भर्सेस क्लास अफ यमाल भनिएको थियो।
करियरको अन्तिम समयतिर रहेका ५ पटकका बेलोन डीअर अवार्ड विजेता रोनाल्डोको क्लास र अनुभव हावी हुन्छ की विश्व फुटबलमा राइजिङ सुपर स्टारको छवि बनाइरहेका यमाल हावी हुन्छन् , विश्व फुटबलले निकै चासोपूर्वक हेरेको थियो। के ४० वर्षको उमेर भएपनि रोनाल्डोले आफुभन्दा २३ वर्ष कान्छा यमाललाई ओझेलमा पार्न सक्छन् की यमालले अब आफ्नो समय आएको सन्देश दिन्छन् ? कसलाई हेर्ने रहर थिएन र ?
यमाल आफ्नो आदर्श रोनाल्डोका समकालिन अर्थात ८ पटक बेलन डीअर जितेका लियोनल मेस्सीलाई मान्छन्। यमाल र उनको टोली स्पेनले रोनाल्डोलाई आदर्श मान्ने केलियन एमबाप्पे र उनको टोली फ्रान्सलाई सेमिफाइनलमा हराएर यसपटक उपाधि भिडन्त पक्का गरेको थियो।
त्यसैले यो प्रतियोगिताको वैट कति थियो तपाई अनुमान गर्न सक्नु हुन्छ खासगरी यमाल र रोनाल्डोका लागि। अन्तत पोर्चुगलले यो प्रतियोगित जित्यो। रोनाल्डो भक्कानिए। यमाल निराश बनेँ।
विश्व फुटबलमा सँधै दबदबा बनाउने युरोपका एक से एक टोली खेलिरहेका छन्, खासमा नेसन्स लिग कस्तो प्रतियोगिता हो सुरुमा यसलाई बुझौँ।
झट्ट हेर्दा युरो कपकै प्यारालल प्रतियोगिताजस्तो जस्तो देखिन्छ नेसन्स लिग तर युरो कपभन्दा निकै फरक छ।
युरो कपमा जस्तो पहिला टिमहरु छनोट गरेर त्यसपछि झन्डै एक महिनासम्म आयोजना गरिने प्रतियोगिता होइन यो।
खासमा आफ्ना सदस्य राष्ट्रलाई अन्तर्राष्ट्रिय फुटबलमा विजि राखिरहन युरोपियन फुटबल महासंघले सन् २०१८ देखि सुरु गरेको प्रतियोगिता थियो नेसन्स लिग।
जस्तो की यसपटक सम्पन्न भएको एडिसनको पहिलो खेल पोर्चुगलले गत सेप्टेम्बर अर्थात आजभन्दा १० महिना अगाडि खेलेको थियो। युरो कप चार वर्षमा आयोजना हुन्छ। झन्डै एक वर्षसम्म सन्चालन हुने नेसन्स लिग २०१८ यता चार संस्करण आयोजना भएका छन्।
सुरुमा युरोपका राष्ट्रिय टोलिहरुलाई उनिहरुको स्तरका आधारमा लिग ए बी सी र डी गरेर चार वटा श्रेणीमा विभाजन गरिएको थियो र हरेक लिगमा प्रमोसनको सिस्टम पनि राखिएको छ। डीबाहेक हरेक लिगमा रेलिगेसन पनि छ।
पोर्चुगल पहिलो सिजनदेखि नै लिग एमा रहेको छ। यही लिग एको उपाधि जित्ने टोली यूईएफए नेसन्स लिग च्याम्पियनका रुपमा परिचित हुन्छ। लिग एमा १६ टिम छन्। पहिलो चरणमा चार वटा टिमका चारवटा समूह हुन्छन्। समूहका शीर्ष दुई टोली क्वाटरफाइनल पुग्छन्।
यसपटक पोर्चुगलले समूहगत चरणमा क्रोएसिया, स्कटल्यान्ड र पोल्यान्डसँग खेलेको थियो। यी टोलिसँग दुई दुई खेल खेल्दा पोर्चुगलले एक खेल पनि हारेन।
क्वाटरफाइनलमा डेनमार्कलाई समग्रमा ५-३ गोलले हराएको थियो। पहिलो लेग १-० गोलले हारेपनि दोस्रो लेग ५-२ गोलले जितेर सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा जर्मनीलाई २-१ गोलले हराएर पोर्चुगल फाइनल पुगेको थियो।
यहाँ उल्लेखनीय के छ भने रोनाल्डोले क्वाटरफाइनल, सेमिफाइनल र फाइनल तीनवटै स्टेजमा गोल गरे। सेमिफाइनलमा त उनले जर्मनीविरुद्ध निर्णायक गोल नै गरेका थिए। स्पेनलाई हराएर उपाधि जित्नु पोर्चुगलका लागि विषेश थियो। स्पेन नेसन्स लिगको २०२३ मा सम्पन्न अघिल्लो संस्करण विजेता हो।
त्यति मात्र होइन, २०२४ मा सम्पन्न युरो कप पनि स्पेनले नै जितेको थियो। क्वाटरफाइलनमा पोर्चुगललाई टाइब्रेकरमा हराएको फ्रान्सलाई सेमिफाइनलमा पराजित गर्दै त्यतिबेला स्पेनेले अन्तत उपाधि नै जितेको थियो। यमाल त्यस प्रतियोगितामा चम्किएका थिए। उनले कीर्तिमान पनि बनाए।
यो सिजन यमाल क्लब फुटबलम पनि चम्किए। स्पेनिस क्लब बार्सिलोनाबाट उनको प्रदर्शन स्तरीय रहेको थियो। साउदी अरबको अल नासरबाट व्यावशायीक फुटबल खेलिरहेका रोनाल्डोले पछिल्लो समय क्लबका लागि उपाधि पनि जित्न सकिरहेका थिएनन्। रोनाल्डोले अब कहिल्यै सन्याश घोषणा गर्छन् हरेक दिन बढिरहेको प्रश्न थियो।
रोनाल्डोले पोर्चुगलका लागि यसअघि सन् २०१९ मा नेसन्स लिग र २०१६ मा युरो कप जितेका थिए। उनका समकालिन लियोनल मेस्सीले सन् २०२१ र २०२४ मा कोपा अमेरिका अनि २०२२ मा विश्वकप जितेकाले हामी अनुमान गर्न सक्छौँ- रोनाल्डो फेरी अर्को उपाधि जित्न कति आँतुर थिए भनेर।
रोनाल्डो र उनको कप्तानीमा रहेको पोर्चुगलले लयमा रहेको स्पेनविरुद्ध आइतबार राती जर्मनीमा डटेर खेल्यो। यस्तो लाग्थ्यो रोनाल्डो टिम र मैदानमा हुनु नै पोर्चुगलका इन्करेजमेन्ट थियो।
दुईपटक खेलमा पछाडि परेर पनि पोर्चुगल बराबरीमा फर्कियो। दोस्रोपटक बराबरीमा ल्याउने रोनाल्डो थिए।
गोल गरिसकेपछि यमाल रहेकै दिशातर्फ बढेर रोनाल्डोले मुख बिगार्दै एउटा औला उठाएर गरेको सेलिब्रेसन सिम्बोलिक थियो। उनले किन त्यसो गरेका थिए केही स्पष्ट पारेका छैनन्। तर आफ्ना आलोचकहरुलाई उनि जवाफ दिइरहेका थिए भन्ने चाहीँ स्पष्ट बुझ्न सकिन्थ्यो।
यतिबेला सामाजिक सन्जालहरुमा रोनाल्डो र यमालका दुईवटा फुटेज भाइरल छन्। दुवै फुटेजमा रोनाल्डोले यमालबाट बल खोसेर लगेको देखिन्छ।
यहाँ उल्लेखनीय के छ भने यमाल रोनाल्डो र पोर्चुगलविरुद्ध भएको यो फाइनलमा खह्रो उत्रन सकेनन्। उनी खेलमा छाउन सकेनन्। लयमा देखिएनन् भने पनि हुन्छ। उनीबाट केही भइरहेको थिएन जुन उनी चाहन्थे जे उनका समर्थक यमालबाट खोजिरहेका थिए। बढी त रोनाल्डोको छायामा उनी परेको देखियो। रोनाल्डोले यमाललाई डोमिनेट गरेको पाइयो।
८९ औँ मिनेटमा रोनाल्डो घाइते भएर निस्कँदा पनि पोर्चुगलले आत्मविश्वास गुमाएन। खेललाई टाइब्रेकरसम्म पुर्यायो र जित्यो पनि। रोनाल्डोले नयाँ जेनेरेसनलाई लिड गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। यो सिजन युरोपियन च्याम्पियन्स लिग जितेको पीएसजीमा रहेका चार जना खेलाडी अहिले पोर्चुगलको टोलीमा छन्। रोनाल्डोले यमालबारे पनि बोलेका छन्। यमालमाथी अहिले अनावश्यक दबाब बढाइएको उनको बुझाई छ।
पोर्चुगलले उपाधि जितेपछि रोनाल्डोसँग गरिएका अन्तर्वार्ताहरुमा फेरी उनलाई प्रश्न दोहोर्याइएको थियो- सन्याश कहिल्यै लिनु हुन्छ ? रोनाल्डोले घुमाउरो जवाफ दिए र कहिले सन्याश लिन्छन् स्पष्ट पारेनन्।
यस्तो लाग्छ रोनाल्डो आगामी वर्ष आयोजना हुने विश्वकप पनि खेल्न चाहन्छन्। रोनाल्डोको नाममा विश्व कीर्तिमानी एक सय ३७ अन्तर्राष्ट्रिय गोल छ। यस्तै विश्व कीर्तिमानी ८ सय व्यावशायीक करियर गोल छन्। गत वर्ष रोनाल्डोले आफ्नो इच्छा एक हजार गोल पुर्याउने भएको बताएका थिए।

