काठमाडौं। काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारविरुद्ध भ्रष्टाचारको मुद्धा लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतम मुद्धा दायर गरेको छ।

सामाखुसी कोरिडोरको ढल निर्माण गर्ने ठेक्कामा कम रकम कबोलेको कम्पनीलाई नदिई बढी रकम कबोल्नेलाई ठेक्का दिएर अनियमितता गरेको आरोप उनिहरुमाथी लगाइएको छ। कम रकम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई ठेक्का नदिई कल्पवृक्षलाई दिएर अनियमितता गरेको अख्तियारको दाबी छ।
परियार हाल सूचना विभागको महानिर्देशक थिए। सरकारले परियारलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट झन्डै ८ महिनामै सरुवा गरेको थियो।
परियारसहित बोलपत्र मुल्यांकन समितीका पदाधिकारीहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहालविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँ बिगो माग गरिएको छ।
समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा र कल्पवृक्ष कोहिनुर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेका थिए।


