काठमाडौं। विश्वलाई लोभ्याउने क्रिकेट फ्यान बेस भएको देश जहाँ एकै घरका दाजुभाई देशको झन्डा बोकेर, नजिकै बस्दै ब्याट्सम्यानको ब्याटबाट फुत्किएको बल समात्न तम्तयार हुन्छन्।
रन रोक्दै र रन जोड्दै देशलाई जिताउन आँतुर हुन्छन्। विश्वभर खेल हेरिरहेका लाखौँ दर्शकहरु घरि आसिफ शेखको नाम लिएर चिच्याउँछन् त घरी आरिफ शेखको। दर्शकहरु विर्सि हाल्छन् की उनिहरु दाजुभाई हुन्। अचेल नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्दा यस्तै दृश्य देखिन्छ।

दर्शकहरुलाई थाहा हुन्न की दाजु आरिफलाई पछ्याउँदै भाई आसिफले क्रिकेट खेल्न थालेका हुन्, राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका हुन्। दर्शकलाई थाहा हुँदैन- दाजु आरिफले गरेको संघर्ष- जिवनमा लामो समय भोगेको अप्स एन्ड डाउन। उनी लामो समय चर्चाबाहिर रहे।
सायद आरिफको समय नै त्यस्तै चलिरहेको थियो। सन् २०२१ मा आसिफले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेपछि आरिफ भाईको छायामा परे भने पनि हुन्छ।
आसिफ पहिलो खेलदेखि चम्किए। प्राय हरेक अन्तर्राष्ट्रिय खेलमा उनले पहिलो रोजाईका खेलाडी देखिए। नोटेबल प्रदर्शन गरे, टिमलाई जिताए। टिमलाई जिताउन मुख्य भूमिका खेले। आरिफको समय त्यस्तो रहेन।
सन् २०२१ मा डेब्यु गरेका आसिफले ५९ एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्दै एक सतक र १३ अर्धसतकसहित एक हजार ५ सय ६९ रन बनाएका छन्। उनले यी हरेक खेलमा ब्याटिङ गरेका छन्। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ५८ खेल खेल्दै ७ अर्धसतकसहित एक हजार ३ सय ५२ रन जोडेका छन्। यीमध्ये एक खेलमा मात्र उनले ब्याटिङ गर्नु परेको थिएन।
यता आरिफले २०१८ मै एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। त्यसयता उनले ६१ एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा ९ अर्धसतकसहित एक हजार ३ सय २६ रन जोडेका छन्। उनले ती ६१ खेलका ५२ इनिङ्समा मात्र ब्याटिङ गर्ने मौका पाए।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफले ४१ खेल खेल्दै ४ सय ९४ रन जोडेका छन्। उनले ३२ वटा इनिङमा ब्याटिङ गर्ने मौका पाए। आरिफको नाममा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धसतक पनि छैन।
आरिफले २०१४ मै अर्थात आजभन्दा ११ वर्षअघि नेपालको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। त्यतिबेला आयोजित एसिसि प्रिमियर लिगमा उनले हङकङ, अफगानिस्तान जस्ता टोलीविरुद्ध राम्रो प्रदर्शन गरेका थिए। उनी बलिङ अलराउन्डरको भूमिका थिए।
त्यसै वर्ष भएको एसिसि यू-१९ एसिया कपमा पनि उनले भारतविरुद्ध ४०, पाकिस्तानविरुद्ध २५ र यूएईविरुद्ध ४८ रन जोडेका थिए। त्यस वर्ष केरन केसी र आरिफले बैंगलोरमा १० दिने विषेश प्रशिक्षणको अवसर पाएका थिए। सन् २०१५ देखि नेपालले आईसिसीका एसोसिएट सदस्य मात्रले खेल्ने सबैभन्दा ठुलो एकदिवशीय फर्म्याटको प्रतियोगिता आईसिसि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्यो। नेपालले विशेष परिस्थितीबाट उक्त अवसर पाएको थियो।
एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता नरहेपनि नेपाल यो प्रतियोगितामा सहभागी थियो। लिस्ट एको मान्यता दिइएको यो प्रतियोगितामा आरिफले सन् २०१५ को सुरुवातमै डेब्यु गरेका थिए।
सन् २०१८ को एकदिवशीय विश्वकप छनोटबाट नेपालले पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दा पनि आरिफ टोलीमा थिए। नेपालले त्यसपछि पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्ससँग खेलेको थियो। दुर्भाग्य आरिफ त्यस खेलमा शुन्यमै आउट भएका थिए।
आरिफ यतिबेला आएर करियरकै उच्च लयमा छन्, उच्च चर्चामा छन्। स्कटल्यान्डमा भएको विश्वकप लिग-२ शृंखलामा आरिफले बेजोड खेले।
नेपालले ४ मध्ये तीन खेल जित्दा आरिफ दुई खेलमा प्लेयर अफ दी म्याच भए। पहिलो खेलमा स्कटल्यान्डविरुद्ध आरिफ केवल ७ रन बनाएर आउट भएका थिए।
दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध उनी एक्लैले करियर बेस्ट ७८ रनको इनिङ्स खेले। यो खेलमा उनी प्लेयर अफ दी म्याच बने। तेस्रो खेलमा स्कटल्यान्डविरुद्ध उनले ३९ रन जोडे। चौथो खेलमा नेदरल्यान्ड्सविरुद्ध उनले करियर बेस्ट ८४ रन बनाए। नेपालले यो खेल जित्यो। आरिफ प्लेयर अफ दी म्याच भए। नेपालले दुई बलिया टोली नेदरल्यान्ड्स र स्कटल्यान्डसँग भएका चारमध्ये तीन खेल विदेशको टफ कन्डिसनमा खेले जित्यो।
ती खेलमा आरिफको प्रदर्शन निर्णायक रह्यो। बलिया टोलीसँग कठिन परिस्थितबीच खेल्नु, राम्रो ब्याटिङ गर्नु र खेल जिताउनु अनि प्लेयर अफ दी म्याच पनि हुनु।
अहिले आरिफ चर्चाको शिखरमा रहनुका कारण हुन्। आरिफले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो शृंखला अघि ७ पटक एकदिवशीय अन्तर्राष्ट्रिय हाफ सेन्चुरी बनाएका थिए। दुर्भाग्य तीमध्ये २ खेलमा मात्र नेपाल विजयी भएको थियो।
आरिफले पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय सतक सन् २०२२ को मार्चमा पीएनजीविरुद्ध दुबईमा बनाएका थिए जसमा नेपाल विजयी भएको थियो आरिफ प्लेयर अफ दी म्याच भएका थिए। त्यस वर्ष ओमान, नामिबिया र अमेरिकाविरुद्ध भएका खेलमा आरिफले अर्धसतक बनाएका थिए तर नेपाल विजयी हुन सकेन ती खेलमा।
सन् २०२३ को मार्चमा पनि उनले कीर्तिपुरमा यूएईविरुद्ध अर्धसतक बनाएका थिए तर त्यो खेलमा पनि नेपाल विजयी हुन सकेको थिएन। त्यसै वर्ष जिम्बावेको हरारेमा उनले वेस्ट इन्डिजविरुद्ध बनाएको ६३ रन पनि खेर गएको थियो। गत अक्टोबरमा उनले अमेरिकामा स्कटल्यान्डविरुद्ध अर्धसतक बनाएका थिए जसमा नेपाल विजयी भएको थियो र आरिफ प्लेयर अफ दी म्याच भएका थिए। संयोग नै मान्नुपर्छ आरिफले अर्धसतक बनाएका पछिल्ला तीन खेलमा नेपाल विजयी भएको छ। तीनवटै खेलमा आरिफ प्लेयर अफ दी म्याच घोषित भएका छन्।
यहाँ उल्लेखनीय के छ भने मंगलबार नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा आसिफलाई टिममा राखिएको थिएन। उनको पछिल्लो प्रदर्शन सन्तोषजनक रहन सकेको थिएन।
आरिफ मध्यक्रममा आएर टिकेर खेल्न सक्ने ब्याट्सम्यानको पहिचान भएका खेलाडी हुन्। पार्टनरसिप बनाएर खेल्नु, टिमको संकट टार्नु उनको स्वभावै देखिएको छ। तर ठुला इनिङ्स खेल्न नसक्नु लामो समयदेखि समस्या देखिएको थियो जुन अहिले आएर उनले सुधार गरेका छन्।
यहाँ उल्लेखनीय के छ भने एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफको ब्याटिङ औसत २८.८२ रहेको छ। लिस्ट ए क्रिकेटमा उनले ८५ खेलका ७५ इनिङ्स खेल्दै २३.६८ औसतमा एक हजार ६ सय ३४ रन जोडेका छन्। उनलाई एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पार्ट टाइम बलरका रुपमा मात्र प्रयोग हुने गरेको छ। आरिफले ६१ एकदिवशीय अन्तर्राष्ट्रिय खेलका ३४ इनिङ्समा बलिङ गरेका छन् जसमा केवल ८ विकेट लिएका छन्।

