टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरियतामा शीर्ष दुई स्थानमा रहेका एसोसियट टोलीसँग नेपालले सोमबारदेखि ट्राइ सिरिज खेल्दै छ।
वरियताको १३ औँ स्थानमा रहेको स्कटल्यान्ड र १४ औँ स्थानमा रहेको नेदरल्यान्ड्ससँग नेपालले यो शृंखला खेल्दै छ। नेपाल टी-२० अन्तर्राष्ट्रियको विश्व वरियतामा १८ औँ नम्बरमा छ।

स्कटल्यान्डमा विश्वकप लिग-२ को शृंखला खेलेपछि नेपाललो सोहि शृंखला खेलेका टोलीसँग टी–२० अन्तर्राष्ट्रियको ट्राइ सिरिज खेल्न लागेको हो।
विश्वकप लिग-२ को यो साइकलमा हरेक शृंखलापछि ती शृंखलामा सहभागी भएका टोलीहरुबीच टी-२० अन्तर्राष्ट्रिय ट्राइ सिरिज पनि भइरहेको छ। तर यो विश्वकप लिग-२ को पार्ट भने होइन।
नेपालले यस्तो बेलामा यो सिरिज खेल्दै छ जतिबेला एसोसियट वरियतामा माथिल्लो स्थानमा रहेका एसोसियट टोलिहरु स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध शानदार प्रदर्शन गरिरहेको छ। विश्वकप लिग-२ शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध भएका दुवै खेल जितेको थियो।
स्कटल्यान्डसँग भएको एक खेल जितेको थियो भने अर्को खेलमा ३ सय २४ रनको लक्ष्य पछ्याउनेक्रममा केवल ३ रनको हार ब्यहोरेको थियो।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा स्कटल्यान्ड १३ औँ र नेदरल्यान्ड्स १५ औँ स्थानमा रहेका टोली हुन्। नेपाल १७ औँ नम्बरमा छ।
शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई ३ सय ७० रनको लक्ष्य भेट्दै हराएकाले टी-२० अन्तर्राष्ट्रिय ट्राइ सिरिज कति रोमान्चक हुन सक्छ, नेपालका लागि कति टफ हुन सक्छ, हामी अनुमान गर्न सक्छौँ।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्समाथी दबदबा बनाउन चाहन्छ।
नेपालले आगामी सेप्टेम्बरको अन्तिम साता वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ। टेस्ट राष्ट्रसँग नेपालले टी-२० अन्तर्राष्ट्रिय शृखला खेल्न लागेको यो पहिलोपटक हो।
उक्त शृंखलामा तीनवटा खेल हुनेछन्। लगत्तै नेपालले टी-२० विश्वकपको छनोट खेल्ने छ। इस्ट एसिया प्यासिफिक र एसियाका कुल ९ टोलीले यो छनोट खेल्नेछन् जसबाट ३ टोली विश्वकप पुग्नेछन्।
नेपालले सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो। गत वर्ष वेस्ट इन्डिज र अमेरिकामा आयोजना भएको पछिल्लो संस्करण पनि नेपालले खेलेको थियो। नेपाल लगातार दोस्रोपटक विश्वकप खेल्न चाहन्छ। विश्वकप छनोट भएको केहि समयमा नेपाल प्रिमियर लिग आयोजना गर्ने तयारी छ जसमा नेदरल्यान्ड्स र स्कटल्यान्डका टप खेलाडीहरु पनि अघिल्लोपटक सहभागी भएका थिए। यतिबेला नेपाल र नेपाली खेलाडीले आफुलाई एसोसिएट क्रिकेटमा बलियो भएको प्रमाणित गर्नुपर्ने छ।
महत्वपूर्ण प्रतियोगिताको अगाडि नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको यो शृंखलाले नेपालको स्तर पुन एकपटक टेस्ट हुने छ।
नेपालले स्कटल्यान्डसँग यसअघि एकपटक मात्र टी-२० खेल खेलेको छ। सन् २०१३ मा भएको विश्वकपको ग्लोबल क्वालिफायरमा पहिलोपटक भिडेकामा स्कटल्यान्डले नेपाललाई हराएको थियो। त्यतिबेला नेपालसँग टी-२० अन्तर्राष्ट्रिय मान्यता थिएन।
यता नेदरल्यान्ड्स र नेपाल भने नियमितजसो भिडिरहेका छन्। अन्तिम पटक यी दुई टोली गत वर्षको विश्वकपमा खेलेका थिए जसमा नेदरल्यान्ड्सले नेपाललाई हराएको थियो।
त्यसअघि सन् २०२४ को फ्रेबुअरीमा नेपालमै भएको विश्वकप लिग-२ शृंखलापछि नेदरल्यान्ड्स, नामिबिया र नेपालबीच टी-२० अन्तर्राष्ट्रिय ट्राइ सिरिज भएको थियो। त्यस शृखलाको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई हराएको थियो। लिग चरणमा नेपालले पनि नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना भएको विश्वकपमा शानदार प्रदर्शन गरेको थियो। खेलहरु हारेपनि नेपाली क्रिकेटको चर्चा भएको थियो।
बंगलादेश र दक्षिण अफ्रिकालाई नेपालले आच्छुआच्छु पार्यो। गत अप्रिलमा हङकङमा चार देश सहभागी टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपाल कुवेतसँग पराजित भएको थियो।
नेपालले सोमबारदेखि सुरु हुने शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्ने छ। यो शृंखलामा नेपालका दुई नियमित खेलाडी गुल्सन झा र सोमपाल कामी चोटक कारण उपलब्ध हुने छैनन्। गुल्सन टी-२० क्रिकेटका स्पेसलिस्ट भनेपनि हुन्छ।
टी-२० क्रिकेटमा एउटै ब्याट्सम्यानले खेल उलटपुलट पार्न सक्छन्। त्यसैले यसलाई ब्याट्सम्यानको फर्म्याट पनि भन्ने गरिन्छ। यहाँ हामी तीन जना नेपालका पावर हिटर नेपाली ब्याट्सम्यानबारे चर्चा गर्ने छौँ जसले नेदरल्यान्ड्स र स्कटल्यान्डको टाउको दुखाउन सक्छन्।
ब्याटिङ एभरेज, स्ट्राइक रेटलगायतलाई आधार मानेर हामी ती ब्याटरबारे कुरा गर्ने छौँ। तीमध्ये एक हुन् दीपेन्द्रसिंह ऐरी। दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। ७८ खेल खेलेका उनको नाममा एक सतक र ९ अर्धसतकसहित एक हजार ७ सय ५६ रन रहेको छ।
उनको ब्याटिङ एभरेज ३३.७६ र स्ट्राइक रेट १४४ दशमलब जिरो ५ रहेको छ। उनी अलराउन्डर हुन्। ६.०८ इकोनोमीमा ४९ विकेट लिएका छन्। पछिल्लो समय टी-२० क्रिकेटमा उनी लयमा नदेखिनु चिन्ताको विषय हो। १८ खेलयता अर्धसतक बनाएका छैनन् जसमा ४ खेलमा उनले ब्याटिङ नै गर्नु परेको थिएन।
हालै भएको विश्वकप लिग-२ शृंखलामा भने दीपेन्द्रले राम्रो प्रदर्शन गरेका छन्। अर्का पावर हिटर नेपाली ब्याट्सम्यान हुन् कुशल भुर्तेल। भुर्तेलले ५७ टी-२० अन्तर्राष्ट्रिय खेलमा एक सतक र १० अर्धसतकसहित एक हजार ४ सय २० रन जोडेका छन्।
उनको ब्याटिङ औसत २८.९७ र स्ट्राइक रेट १३०.८७ रहेको छ। उनी कुवेतसँग गत अप्रिलमा भएको फाइनलमा ३ रनमा आउट हुनुअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार उच्च लयमा थिए। हाले भएको विश्वकप लिग-२ शृंखलामा पनि कुशल भुर्तेलले राम्रै प्रदर्शन गरेका छन्।
नेपाललाई अन्तिम समयसम्म जितको भरोसा कायम राख्ने पावर हिटर हुन् करन केसी। करनले ७८ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ५२.८४ स्ट्राइक रेटमा ब्याटिङ गरेका छन्। उनको ब्याटिङ एभरेज १५.२३ मात्र भएपनि अन्तिम समयमा खेललाई रोमान्चक बनाउन सक्ने सामर्थ्य उनको छ। हालै भएको विश्वकप लिग-२ शृंखलामा पनि करनले सँधै झैँ विस्फोटक ब्याटिङ गरेका थिए। उनले स्कटल्यान्डविरुद्ध भएको एक खेलमा ४१ बलमा ६५ रन जोडेका थिए।
यी तीन जना खेलाडीबाहेक रोहित पौडेल, आसिफ शेख, अनिल शाहलगायतले पनि ठुला प्रहार गर्दै खेल्न सक्छन्।


