नेपालको सयौँ टी-२० अन्तर्राष्ट्रिय खेल अनि टी-२० अन्तर्राष्ट्रियको इतिहासमै पहिलोपटक एकै खेलमा तीनवटा सुपर ओभर। सोमबार राती नेपाल र नेदरल्यान्ड्सबीच भएको टी-२० अन्तर्राष्ट्रिय खेल विश्व क्रिकेटले नै लामो समय सम्झिरहने छ।
खेल कसले जित्यो भन्दा पनि जसरी यो खेल तीनवटा सुपर ओभर खेलाउनु पर्ने अवस्थामा पुग्यो, त्यो नै बढी स्मरणीय हुने छ।

नेपाली क्रिकेट समर्थक भने केही निराश छन्- किनभने नेपालले सयौँ टी-२० अन्तर्राष्ट्रिय खेल जित्न सकेन।
तीन-तीनपटक सुपर ओभर भएको ऐतिहासिक खेलको नतिजा आफ्नो पक्षमा पार्न सकेन।
सुपर ओभर जस्तो हरेक बलमा छक्का र चौकाका लागि एटेम्ट हुने अवस्थामा प्रशिक्षक स्टूवार्ट लले किन पहिलो खेल खेलिरहेका रुपेश सिंहलाई पठाए? नेपाली क्रिकेट प्रेमिहरु उक्त निर्णय पत्याउन सकिरहेका छैनन्।
स्कटल्यान्डको ग्लासगोमा भएको खेलमा नेपालले टस जितेर पहिला बलिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले एक सय ५३ रनको मध्यम लक्ष्य दियो।
कसिलो बलिङ गर्दै सन्दीप लामिछानेले ३ र नन्दन यादबले दुई विकेट लिएका थिए। नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन जोड्दै खेललाई सुपर ओभरमा पुर्याएको थियो।
नेपाललाई अन्तिम दुई ओभरमा ३१ रन चाहिएको बेला १९ औँ ओभरमा महत्वपूर्ण दुई ब्याट्सम्यान रोहित पौडेल र करन केसीलाई गुमायो।
क्रिजमा थिए सन्दीप लामिछाने र घाइते हुँदाहुँदै ब्याटिङमा आएका नन्दन यादब। नेपाललाई अन्तिम ओभरमा नेपाललाई जितका लागि १६ रन चाहिएको थियो। सन्दीपले पहिलो बलमा २ रन लिए। दोस्रो बलमा एक रन लिएर नन्दनलाई स्ट्राइक दिए।
तेस्रो बलमा चौका प्रहार गरेका नन्दनल त्यसपछिका दुई बलमा लगातार दुई दुई रन जोडे। नेपाललाई अन्तिम बलमा जितका लागि ५ रन चाहिएको थियो।
नन्दन स्ट्राइकमा थिए। एक दुई रनको काम थिए। नेपाललाई केवल बाउन्ड्री चाहिएको थियो। भयो त्यस्तै नन्दनले चौका प्रहार गरे। खेल सुपर ओभरमा पुग्यो।
पहिला ब्याटिङ गर्नु पर्ने पालो नेपालको थियो। सुपर ओभरमा नेपालले कसलाई पठायो होला ब्याटिङमा। ३४ रन बनाएका कुशल भुर्तेल र ४८ रन बनाएका रोहित पौडेलको जोडीलाई प्रशिक्षक स्टुवार्ट लले ब्याटिङमा पठाए। नेदरल्यान्ड्सले स्पीनर ड्यानियल डोरामलाई पठायो जसले त्यसअघिको खेलमा कुनै समय ३ रन खर्चिएर ३ विकेट लिएका थिए।
तर सुपर ओभरमा उनी निरिह देखिए। कुशल भुर्तेलले दुई छक्का र रोहित पौडैलले एक चौका प्रहार गरेपछि नेपालले २० रनको लक्ष्य प्रस्तुत गरेको थियो। कप्तान रोहित पौडेलले बलिङका लागि बल करण केसीलाई थमाए। नेदरल्यान्ड्सले माइकल लेभिट र म्याक्स ओ दोदलाई ब्याटिङमा पठाएको थियो।
म्याक्स ओ दोदले सुरुकै बलमा छक्का प्रहार गरे। तर त्यसपछिका तीन बलमा करनले बाउन्ड्री दिएनन्। उनले एउटा रन आउटको चान्स खेर फालेका थिए।
सायद त्यसले ठुलो अर्थ राख्यो। नेदरल्यान्ड्सलाई अन्तिम दुई बलमा जितका लागि ११ रन चाहिएको थियो। म्याक्स ओ दोदले पाचौँ बलमा छक्का र छेटौँ बलमा चौका प्रहार गर्दै खेललाई टाई गरेका थिए। खेल दोस्रो सुपरओभरमा पुगेको थियो।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले सुरुमा ब्याटिङ गर्नुपर्ने थियो। यसपटक कप्तान स्कट एडवार्ड्स र म्यक्स ओ दोद ब्याटिङमा आए। नेपालले बलिङको जिम्मा स्पीनर ललितनारायण राजबंशीलाई दियो। ललितलाई एडवार्ड्सले पहिलो बलमै छक्का प्रहार गरे। अन्तिम बलमा विकेट गुमाएपनि नेदरल्यान्ड्सले १८ रनको लक्ष्य दियो। म्याक्स ओ दोदले पनि एक छक्का प्रहार गरेका थिए।
यसपटक लक्ष्य पछ्याउन नेपालले ब्याटिङ जोडी फेर्यो। कुशल भुर्तेलको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई पठाइयो। रोहितले पहिलो बलमै छक्का प्रहार गरे। तरपनि नेपालले सुरुका ५ बलमा ११ रन मात्र जोडेको थियो। अन्तिम बलमा छक्का प्रहार गरे खेल पुन टाइ हुने थियो।
लगातार दुई बल डट खेलेका दीपेन्द्र फेरी पनि स्ट्राइकमा थिए। अन्तिम बलमा दीपेन्द्रले नेदरल्यान्ड्सका मिडियम पेसर कायल क्लेनलाई छक्का प्रहार गरे। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलोपटक एकै खेलमा तीनपटक सुपर ओभर खेलाउनु पर्ने अवस्था बन्यो।
तेस्रो सुपर ओभरमा सुरुमा ब्याटिङ गर्ने पालो नेपालको थियो। दीपेन्द्र र रोहितकै जोडी ब्याटिङमा आयो। नेदरल्यान्ड्सले लगातार तेस्रो सुपर ओभरमा बलर फेर्यो। यसपटक स्पीनर याच लायन काचेटलाई बल जिम्मा दियो। रोहित पहिलो बलमै क्याच आउट भए।
त्यसपछि रुपेश सिंहलाई ब्याटिङमा पठाइयो। रुपेशले त्यही खेलबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरिररहेका थिए। त्यसअघि निर्धारित ओभर ओभरको खेलमा उनले १४ बलमा एक छक्का र एक चौकासहित १९ रन जोडेका थिए।
करन केसी, कुशल भुर्तेलजस्ता विस्फोटक ब्याट्सम्यान हुँदा हुँदै पनि निकै कम अनुभव भएका रुपेशलाई ब्याटिङमा पठाइएको थियो। यो किनपनि अचम्म लाग्दो निर्णय थियो भने अब एक विकेट जाँदा नेपाल अलआउट हुने थियो।
किनभने सुपर ओभरमा दुई विकेट झर्ने वित्तिकै अलआउट हुन्छ। रुपेश सुरुवातदेखि दबाबमा देखिए। उनले दोस्रो बलमा ब्याट घुमाए पनि बल कनेक्ट भएन।
तेस्रो बलमा पनि उनले ब्याट घुमाए। तर बल कनेक्ट भएन। नेपालको खातामा एक रन पनि थिएन। चौथो बलमा रुपेशले पुन ब्याट घुमाए। बल विकेटकिपरको हातमा पुग्यो। विकेटकिपर एडवार्ड्सले ब्याटमा एज लागेको भन्दै अपिल गरे। अम्पायरले औँला उठाए। २ बल बाँकी रहँदै नेपाल अलआउट भयो।
नेपालको खातामा एक रन पनि थिएन। त्यसैले नेदरल्यान्ड्सले एक रनको लक्ष्य पाएको थियो। नेपाल लगभग औपचारिक रुपमा मात्र बलिङ गरिरहेको थियो।
यसपटक सन्दीप लामिछानेलाई बल थमाइयो। सन्दीपलाई पहिलो बलमै माइकल लेभिटले छक्का प्रहार गरे। र ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्सले जित्यो।
स्कटल्यान्डमा विश्वकप लिग-२ शृखलापछि यतिबेला नेदरल्यान्ड्स, नेपाल र स्कटल्यान्डबबीच टी-२० अन्तर्राष्ट्रिय ट्राइ सिरिज भइरहेको छ। नेपाल पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग भिडेको थियो।


