काठमाडौं। काठमाडौंमा प्रशस्त जग्गा जमिन अनि अवकाशतिर लम्किरहेको सरकारी शिक्षकको जागिर।
बेलाबखग जग्गाको पनि कारोबार। छोरा छोरीलाई अमेरिका पठाएर पारिवारिक भार पनि हलुङ्गो हुँदै गरेको समय।

तर जिवनमा एकाएक काला बादलहरु मडारिन थाल्छन्। न कसैलाई खुलेर भन्न सक्छन् नत त्यसलाई दबाउन सक्छन्।
उनको छटपटी त्यतिबेला सम्हालिन नसक्ने हुन्छ जब उनलाई केही समय अघि मात्र चिनजान भएकी युवतीले दुई जनाको अश्लिल तस्विरहरु पठाएर भन्न थाल्छिन्- काठमाडौमा घर र चार आना जग्गा चाहियो नत्र म प्रहरीकहाँ जान्छु ?
अर्थात उनी हनी ट्रयापमा परेका थिए।
हामीले ती ५५ वर्षीय सरकारी शिक्षकको गोपनियताका कारण यहाँ उनलाई नाम परिवर्तन गरेर कृष्ण भनेर सम्बोधन गर्ने छौँ।
केही महिना अघि कृष्णलाई सामाजिक सन्जालमा एक युवतीको नामबाट फ्रेन्ड रिक्वेस्ट आउँछ। उनी भक्तपुरकी ३४ वर्षीया रितु आँचल श्रेष्ठ हुन्छिन्। म्यासेन्जरमा कुराकानी गर्छन् र चैत २३ गते महाराजगन्जको वर्गर हाउसमा भेट्छन्।
रितुले एक जना साथी पनि लिएर आउँछिन्। उनी हुन्छिन् कैलालीकी ३४ वर्षीया ममता तामाङ। त्यस दिन खाजा खाएर छुट्छन् र कुनै दिन रमाइलो गर्ने गरी भेट्ने सल्लाह गरेर छुट्छन्।
ती दिनपछि नै रितुले कृष्णलाई ठमेलको होलिडे रिजेन्सी होटल पुर्याउँछिन्। रितुले आफुहरु दुई जना आउने र कृष्णलाई पनि दुई जना आउन भन्छिन्।
कृष्णले जग्गाकै कारोबारी एक जनालाई जान भन्छन् र तर उनी मान्दैनन्। र कृष्ण एक्लै जान्छन्। तीन जना बसेर मदिरा सेवन गर्छन्। होटलको कोठा छिर्छन्। त्यसपछि के के हुन्छ जब आफ्नो म्यासेन्जरमा तस्विरहरु आउँछन् कृष्ण छाँगाबाट खसेजस्तो हुन्छन्।
जेठ २ गते रितुले कृष्णलाई आफु प्रेग्नेन्ट भएको बताउँछिन्। र त्यहाँबाट बार्गेनिङ सुरु हुन्छ। केही दिनमा घरमा कान्छी बनाएर राख्ने की, जग्गा दिने की प्रहरीकहाँ जाउँ भन्दै रितुले कृष्णलाई दबाब बढाउन थाल्छिन्। विस्तारै ७० लाख रुपैयाँ दिए आफु साइड लाग्ने आशय व्यक्त गर्छिन्।
जेठ ८ गते कृष्णले रितुलाई अनामनगर बोलाउँछिन्। रितु ममतालाई लिएर त्यहाँ पुग्छिन्। तत्कालका लागि कृष्ण ५ लाख रुपैयाँ दिन तयार हुन्छन्। ५ लाखको चेक रितुको हातमा पर्छ। अनि आउँछ कहानीमा ट्विस्ट। प्रहरीले दुवै युवतीलाई कर्यापछ्याप पार्छ।
खासमा प्रहरीकै योजनाअनुसार कृष्णले ती युवतीलाई बोलाएका हुन्छन्। प्रहरी युवतीहरुलाई समात्न तम्तयार भएर बसेको हुन्छ।
पक्राउ परेका युवतीहरुसँग प्रहरीले प्रारम्भिक सोधपुछ गर्छ। उनिहरुले पैसा कमाउने यो धन्धाको योजनाकार अन्य दुई जना व्यक्ती रहेको बताउँछन्। कन्चनपुरका ३६ वर्षीय दीपक विष्ट र ४१ वर्षीय राजेन्द्र विष्टकै योजना आफुहरुले काम गरेको उनिहरुले बयान दिएका थिए।
यहाँ रोचक के छ भने राजेन्द्रसँग कृष्णको पुरानो चिनजान हुन्छ। कृष्णसँग पैसा भएको चाल पाएरै राजेन्द्रले दीपकसँग मिलेर यो योजना बनाएको खुल्छ। युवतीका अनुसार उनिहरुलाई राजेन्द्रले काम फत्तै भएपछि २/२ लाख रुपैयाँ दिने बताएका थिए। राजेन्द्रकै निर्देशनअनुसार कृष्णसँग
रितु र ममता दुवैले आफुहरु केही समय अघिसम्म ब्युटी पार्लरमा काम गर्ने गरेको बताएका छन्। सन्तानसमेत भएकी रितु डिभोर्सी हुन। ममता भने दिपक विष्टसँग लिभिङ टुगेदरमा रहेकी थिइन्।
ममतासँग ५/६ महिना अघि आफ्नो चिनजान भएको रितुको भनाई छ। कृष्णलाई ब्ल्याकमेलिङ गरेर पैसा उठाउने योजना ममता, राजेन्द्र र दीपकले बोलाएर आफुलाई सुनाएको रितुले बयान दिएकी छिन्।
तर यो समूह व्यावशायीक रुपमा यो धन्धामा लागेको हुन सक्ने प्रहरीको आशंका छ। यद्यफी अन्य कसैको उजुरी अहिलेसम्म परेको छैन। पिडित भनिएका कृष्णले ठमेलको होलिडे रिजेन्सी होटलमा रमाइलो गरेको दिन पनि आफुले रितुलाई ४ हजार रुपैयाँ दिएको बताएका छन्।
५ लाख रुपैयाँको चेक लिने बेला रितुले लेनदेनको कागज बनाएर मात्र उक्त पैसा लिने तयारी गरिरहेकी थिइन्। उनले क्युआरबाट समेत पैसा लिन मानेकी थिइनन्।
घटनाको अनुसन्धान गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकारीहरु यो समूहले भिक्टिमको खोजी, उनिहरुसँगको ब्ल्याकमेलिङ र पैसा लिने तरिकालाई हेर्दा पहिला पनि यस्ता काम गरेको हुन सक्ने अनुमान गर्छन्।
यस किसिमको घटनालाई आम रुपमा हनी ट्रयाप पनि भन्ने गरिन्छ जसमा युवतीहरुले शारिरिक सम्बन्धको विषयलाई लिएर बार्गेनिङ गर्छन् र पैसा उठाउँछन्। यस्ता धेरै घटनामा इज्जत जाने र अरुले थाहा पाउने डरले पिडित प्रहरीमा नआउने र गिरोह सफल हुने गरेको अनुसन्धान अधिकारीहरु बताउँछन्।
कृष्णका बारे सबै कुरा थाहा पाएकै आधारमा राजेन्द्र विष्टले योजना बनाएको प्रहरीको दावी छ। प्रहरीले दुवै युवतीलाई पक्राउ गरेपनि राजेन्द्र र दीपक भने फरार छन्।


