काठमाडौं। एसोसियट क्रिकेटको नम्बर एक टोली स्कटल्यान्डमाथी नेपालले मंगलबार राती जित हात पार्यो। त्यो पनि स्कटल्यान्डकै मैदानमा। यो जितको नायक बने सन्दीप लामिछाने।
पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ९७ रनमै समेटिएको थियो। हो, यति कम स्कोरमा स्कटल्यान्डलाई समेटेपछि नेपालको खेल जित्ने बलियो आधार तयार भएको थियो। अर्थात जितको आधार बलरले तयार गरेका थिए।

त्यसमा पनि सन्दीपले चार ओभरमा ११ खर्चिएर ४ विकेट लिए। उनले एक मेडन पनि राखेका थिए। सातौँ ओभरमा सन्दीपले बलिङ सुरु गरेका थिए जतिबेला स्कटल्यान्डले ५ विकेट गुमाएर ३२ रन जोडेको थियो। सन्दीपले आफ्ना सुरुका दुई ओभरमा ९ रन खर्चिएका थिए भने विकेट हात पार्न सकेका थिएनन्।
स्कटल्यान्डका म्याथ्यु क्रस र माइकल लिस्क साझेदारी बढाएर टिमलाई सम्हाल्न प्रयाश गर्दै थिए। त्यही बेला सन्दीप तेस्रो ओभर लिए आए। १३ औँ ओभरमा कप्तान रोहित पौडेलले सन्दीपलाई बल दिएका थिए। त्यस ओभरको लगातार बलमा सन्दीपले दुई जना ब्याट्सम्यानलाई बोल्ड गरे।
१७ औँ ओभरमा सन्दीप पुन आए। स्कटल्यान्ड ७ विकेट गुमाएर ७९ रन बनाएर खेल्दै थियो। अन्य बलरले विकेट लिन सकिरहेका थिएनन्। सन्दीपले त्यस ओभरमा दुई विकेट लिए। यसरी अन्तत स्कटल्यान्ड ९७ रनमा अलआउट भयो। यो खेल नेपालले २ विकेटले जित्यो। सन्दीप प्लेयर अफ दी म्याच बने।
कसिलो बलिङ। विपक्षी ब्याट्सम्यानहरुमाथी दबाब बनाउने धारिलो हतियार। मै हुँ भन्ने ब्याट्सम्यानलाई पनि हल्लाउन सक्ने क्षमता।
ब्रेक थ्रु दिन सक्ने र हरेक खेलमा २/३ विकेट लिने बलर । यीनै कारणहरु थिए जसले सन्दीप लामिछानेलाई सानै उमेरमा विश्वभर चिनायो।
इन्डियन प्रिमियर लिग-आईपीएलदेखि विग बाससम्म पुगे। ग्लोबल टि-२० देखि क्यारेबियन प्रिमियर लिगसम्म खेले। टी-२० क्रिकेटको बेजोड प्रदर्शनले सन्दीपलाई विश्वभर चिनायो। उनले विश्वका एक से एक खेलाडीसँग खेले, खेल्ने मौका पाए, आफुलाई टेस्ट गरे।
तर पछिल्लो एक डेढ वर्षयता सन्दीप त्यसरी खेलिरहेका थिएनन् जसरी उनी पहिला देखिन्थे।
खासगरी व्यावशायीक प्रतियोगिता उनका लागि उल्लेख्य रहन सकेन। घरेलु मैदानमा आयोजित नेपाल प्रिमियर लिगमा पनि फिक्का देखिए।
विदेशका ठुला व्यावशायीक लिगहरुको नजर पर्न छाड्नुले कतै सन्दीप फिक्का बन्दै गएका त होइनन्, आशंकाहरु बढिरहेका थिए।
यसले स्वयं सन्दीपलाई दबाब बढाइरहेको थियो हरेक दिन। खासगरी बलात्कारको आरोप र त्यसबाट सफाईलगायतको घटनाक्रमबीच सन्दीप उनको पुरानो स्तरमा पुग्न संघर्षरत देखिएका थिए।
हामी सबैलाई थाहा नै छ. सन्दीप टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकै सेकेन्ड फास्टेस्ट सय विकेट पुरा गर्ने बलर हुन्। उनले ५४ खेलमा उक्त सफलता हात पारेका थिए।
अफगानिस्तानका रसिद खानले ५३ खेलमा पुरा गरेको सय विकेट विश्व कीर्तिमानका रुपमा रहेको छ।
यता एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने फास्टेस्ट सय विकेट पुरा गर्ने विश्व कीर्तिमान सन्दीपको नाममा छ। सन्दीपले ४२ खेलमा सय विकेट पुरा गरेका थिए। उनले अफगानिस्तानकै रसिद खानको नाममा रहेको ४४ खेलको कीर्तिमान तोडेका थिए।
त्यसैले हरेक खेलमा नेपाली क्रिकेट मात्र होइन, विश्व क्रिकेटले सन्दीपलाई हेरिरहेको हुन्छ। सन्दीपका आलोचकहरु उनले विकेट लिएपनि प्लेयर अफ दी म्याच लेभलको दावेदारी दिन भने नसकिरहेको टिप्पणी पहिल्यैदेखि गर्दै आएका छन्। यो किसिमको रेकर्ड र चर्चा भएका खेलाडीबाट हरेक खेलमा प्लेयर अफ दी म्याच लेभलको प्रदर्शन अपेक्षा हुनु अस्वभाविक पनि नहोला।
यहाँ उल्लेखनीय के छ भने टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप यसअघी अन्तिमपटक सन् २०२२ को मार्चमा मात्र प्लेयर अफ दी म्याच भएका थिए। त्यसयता उनले २३ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए मंगलबार स्कटल्यान्डसँग भिड्नुअघि।
यतिबेला नेपाली टोली विश्वकप लिग-२ को शृखला खेल्न स्कटल्यान्डमा छ। उक्त शृंखला खेलेपछि नेदरल्यान्ड्स, स्कटल्यान्ड र नेपाल टी-२० इन्टरनेसनल ट्राई सिरिज खेलिरहेका छन्।
पछिल्लो प्रदर्शनपछि सन्दीपमाथी किङ इज ब्याकजस्ता टिप्पणीहरु भइरहेका छन्। के सन्दीप लयमा फर्किएका हुन् त ? सन्दीपले सोमबार नेदरल्यान्ड्ससँग भएको टी-२० खेलमा पनि १८ रन खर्चिएर ३ विकेट लिएका थिए। उनले मध्यक्रमलाई ध्वस्त बनाएका थिए।
सन् २०२२ को अगस्टमा सन्दीपले केन्याविरुद्ध ५ विकेट लिएर पनि नेपालले उक्त टी-२० जित्न सकेको थिएन। त्यसयता आफुले खेलेका १७ टी-२० अन्तर्राष्ट्रिय खेलमा सन्दीपले २ खेलमा ३/३ विकेट, ९ खेलमा २/२ विकेट, चार खेलमा एक एक विकेट लिएका थिए। यसीबचमा एक खेलमा विकेटविहिन बनेँ। सन्दीप आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरमा ७ खेलमा विकेटविहिन भएका छन्।
सन्दीपले स्कटल्यान्डमा हालै भएको विश्वकप लिग-२ शृखलामा ४ खेलमा ६ विकेट लिए। उनले तीमध्ये एक खेलमा विकेट लिन सकेनन्। अन्तिम खेलमा उनले नेदरल्यान्ड्सविरुद्ध ३ विकेट हात पारेका थिए।
सन्दीप दुई वर्षयता एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा प्लेयर अफ दी म्याच बन्न सकेका छैनन्। यसबीचमा उनले २२ वटा एकदिवशिय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। अन्तिमपटक उनले नेपालमै भएको पपुआ न्युगिनिविरुद्ध ५ विकेट लिएर प्लेयर अफ दी म्याच अवार्ड जितेका थिए।
सन्दीपले ६२ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा एक सय २७ विकेट लिएका छन्। त्यसमा उनको बलिङ इकोनोमी ४ दशमलब ४८ रहेको छ। यस्तै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ६० खेलमा एक सय १५ विकेट लिएका छन्। त्यसमा उनको बलिङ इकोनोमी ६ दशमलब ० ६ रहेको छ।
सन्दीप अफ द फिल्ड अटेन्सन सिकर भएको आरोप लाग्ने गरेको छ। मैदानमा गतिलो प्रदर्शन गर्न नसकिरहेका बेला सामाजिक सन्जालमा लेखेका आक्रोशपूर्ण स्टाटसहरुले उनलाई चर्चा र विवादमा ल्याएको थियो। त्यही कारण कारबाहीमा समेत परे।
पछिल्लो पटक स्कटल्यान्ड जानु अघि उनले आफु क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने निर्णय सुनाएका थिए। सेन्ट्रल कन्ट्याक्टबाट मासिक एक लाख रुपैयाँ पाइरहेका सन्दीपले उक्त निर्णय किन लिए ? त्यसले उनलाई के फाइदा हुन्छ क्रिकेट प्रेमीहरु अझै पनि कन्फ्युज्ड छन्।
अब यो विषय के हुन्छ आगामी दिनमा अझ स्पष्ट होला। सन्दीपमा एउटा भोक चाहीँ छर्लङ्ग छ त्यो हो फेरी विदेशका ठुला व्यावशायीक क्रिकेट प्रतियोगितामा फर्कने। त्यसका लागि उनले नेदरल्यान्ड्स, स्कटल्यान्ड्सजस्ता टप लेभलका एसोसियट टिमसँग निरन्तर राम्रो प्रदर्शन गर्नुपपर्छ। टेस्ट टिमसँग पाएका भिड्ने अवसरमा पनि उनले गतिलो छाप छाड्न सक्नुपर्छ।


