काठमाडौं : स्कटल्याण्ड भ्रमण सकेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै छ।
एक महिना लामो भ्रमणमा नेपाली क्रिकेटले विश्वकप लिग-२ शृंखला र त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो।

यी शृंखलामा नेपालले चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय र ४ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा तीनवटा एकदिवशीय र दुईवटा टी-२० खेल जित्यो।
दुवै शृखलाभर नेपाली क्रिकेटले व्यापक चर्चा पायो। अहिले पनि त्यो चर्चा रोकिएको छैन। एसोसियटको बेस्ट क्रिकेट भन्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरु लेखिरहेका छन्। यस्तो किन भइरहेको छ, स्कटल्यान्ड भ्रमणबाट नेपाली क्रिकेटले एसोसियट क्रिकेट र विश्व क्रिकेटलाई दिएका मुख्य सन्देशबारे यहाँ चर्चा गर्ने छौँ।
विश्वकप लिग-२ मा नेपालले खेल्ने ९ मध्ये कठिन शृंखला थियो भर्खरै सम्पन्न भएको स्कटल्यान्ड सिरिज। यसमा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग भिड्दै थियो। स्कटल्यान्ड विश्वकप लिग-२ को डिफेन्डिङ च्याम्पियन थियो। विश्वकप लिग-२ को त्यो पहिलो एडिसन थियो।
विश्वकप लिग-२ परिकल्पना हुनुअघि आयोजना हुने गरेको यही लेभलको प्रतियोगिता वर्ल्ड क्रिकेट लिग च्याम्पिनयसिप जुन सन् २०१५ देखि २०१७ सम्म आयोजना भएको थियो त्यो नेदरल्यान्ड्सले जितेको थियो, त्यतिबेला स्कटल्यान्ड ८ टोलीमध्ये दोस्रो भएको थियो।
अहिले भइरहेको विश्वकप लिग-२ मा पनि स्कटल्यान्ड र नेदरल्यान्ड्सले शसक्त प्रदर्शन गरिरहेका थिए। स्कटल्यान्ड शृंखला सुरु हुनुअघि नेपाल तालिकाको पुछारमा थियो, १२ खेलबाट केवल ६ अंक जोडेर आठौँ तथा अन्तिम स्थानमा रहेको थियो। स्कटल्यान्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा थियो। दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले २० खेलबाट २६ अंक जोडेको थियो।
पहिलो स्थानमा रहेको थियो अमेरिकाको २० खेलबाट २८ अंक थियो। यति मात्र होइन एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको विश्व वरियतामा स्कटल्यान्ड १३ औँ स्थानमा रहेर आईसिसीका एसोसियट सदस्यमध्ये पहिलो थियो। नेदरल्यान्ड्स समग्रमा १५ औँ र एसोसियटमा तेस्रो स्थानमा थियो।
नेपाल समग्रमा १७ औँ स्थानमा रहेको थियो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा स्कटल्यान्ड १३ औँ, नेदरल्यान्ड्स १४ औँ र नेपाल १८ औँ स्थानमा रहेका थिए।
एकातर्फ अंक तालिका र वरियता दुवैमा तल रहेको टोली अनि माथि रहेका स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्नुपर्ने। नेपालका लागि स्कटल्यान्ड सिरिज कठिन परिक्षा थियो। तर नेपालले आफु कहाँ छु विर्सिएर खेल्यो।
विश्वकप लिग-२ शृंखलामा नेदरल्यान्ड्ससँग भएका दुवै खेल जित्यो, स्कटल्यान्डसँग भएको एक खेल जित्यो भने अर्को खेलमा हार ब्यहोर्यो।
नेपालले एसोसियट क्रिकेटमा जसलाई पनि हराउन सक्छ भन्ने देखायो चाहे त्यो पहिलो नम्बरकै टिम किन नहोस्। यसको मतलब हो नेपालले आफुलाई नम्बर एक एसोसियट टिम बन्ने होडमा सामेल गरेको छ। निर्विवाद अरुले पनि भन्न सक्ने स्तरको प्रदर्शन गरेको छ।
स्कटल्यान्ड भनेपछि नेपालले यो शृंखला विदेशमा खेल्दै थियो, भन्नैपरेन।
विदेशी भूमी त्यसमा पनि स्कटल्यान्ड जस्तो टफ कन्डिसनमा खेल्नु नेपालका लागि गाह्रो थियो। स्कटल्यान्ड जानुअघि नेपाली खेलाडीले त्यसलाई स्विकार गरेका थिए। नेपाली क्रिकेटमा एउटा टिप्पणी सँधै जसो हुने गरेको छ- नेपालले घरेलु मैदान मात्र राम्रो खेल्छ, विदेशी भूमीमा त्यसरी खेल्न सक्दैन।
तर नेपालले विश्वको नम्बर एक एसोसियट टोलीको मैदानमा गएर शानदार प्रदर्शन गर्यो। हरेक खेलमा जितको दावेदारी दियो। को चाहीँ कमजोर भन्न गाह्रो देखियो। त्यसमा अझ जुन किसिमको ब्याटिङ नेपालले गर्यो त्यो उल्लेख्य रह्यो। नेदरल्यान्ड्स र स्कटल्यान्डजस्ता टिमको धारिलो बलिङसामु त्यसरी खेल्नु सजिलो थिएनर।
विश्वकप लिग-२ शृखलाको पहिलो खेलमा स्कटल्यान्डले २ सय ९७ रनको लक्ष्य दिएको थियो। नेपालले त्यसलाई पुरा गर्यो।
एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यति ठुलो लक्ष्य नेपालले कहिल्ये भेटेको थिएनँ। स्कटल्यान्डसँग नै भएको दोस्रो खेलमा नेपालले ३ सय २४ रनको लक्ष्य पछ्याउँदा ३ सय २१ रनसम्म जोडेको थियो। नेपालले अब ठुला लक्ष्यहरु पनि पछ्याउन थाल्यो। ३ सय आसपासका लक्ष्यहरु बलिया टिमसँग पुरा गर्न सक्छ भनेर नेपालले देखायो।
त्यसमा पनि मध्यक्रम र पछिल्लोक्रमका ब्याट्सम्यानले ठुला तार्गेटहरुमा जुन किसिमले खेले त्यसबाट एउटा कन्फिडेन्स नेपालले देखाएको छ- हामी अन्तिम विकेट बाँकी रहँदासम्म जितको आशा कायम राख्छौँ।
मध्यक्रम र पछिल्लोक्रमका गुल्सन झा, सोमपाल कामी, करन केसीहरुले गतिलो ब्याटिङ र साझेदारी गरेर खेले। यो भ्रमणमार्फत नन्दन यादबले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे। भीम सार्की, रुपेश सिंह र किरण ठगुन्नाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे। नन्दनले उत्कृष्ट प्रदर्शन गरे। लामो समय एकदिवशीय टोलीमा रहेका भीमले पनि राम्रो प्रभाव छाडे। रुपेशले नयाँ खेलाडी भएर पनि समग्रमा त्यो महसुस हुन दिएनन्। टी-२० क्रिकेटमा गुल्सन झा, सोमपाल कामी र करण केसीजस्ता अनुभवी खेलाडी विनै पनि नेपालले खेल्यो।
यहाँ छुटाउनै नहुने, नेपाली क्रिकेटले दिएको अर्को म्यासेज चाहीँ प्रशिक्षक स्टुवार्ट लको एरा हो। नेपाली क्रिकेटमा मन्टी देशाई एरापछि स्टुवार्ट ल ऐरा सुरु भएको छ।
कठिन अवस्थामा नेपाली क्रिकेट सम्हालेर रेस्क्यु गर्नुका साथै ऐतिहासिक सफलता दिलाएका मन्टी देशाईले जस्तै गतिलो सुरुवात गरेका छन् प्रशिक्षक लले नेपाली क्रिकेटमा।
स्कटल्यान्डजस्तो टफ कन्डिनमा खेलेर स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग भएका खेलमा जित हात पार्नु, ऐतिहासिक सफलताहरु प्राप्त गर्नु, गज्जबको ब्याटिङ गर्नुले लबाट आगामी दिनमा निकै आशा गर्न सकिन्छ। र पक्कैपनि यसलाई एसोसियट क्रिकेटले पनि सिरियस्ली हेरिरहेको छ।
मन्टी देशाई आएपछि नेपालले विश्वकप लिग-२ का अन्तिम १२ खेलमध्ये ११ खेल जितेर एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको थियो। एसिसि प्रिमियर कप जितेको थियो। पहिलोपटक एसिया कप खेल्दै भारत र पाकिस्तानसँग पनि प्रतिस्पर्धा गर्ने सपना नेपाली क्रिकेटरले पुरा गरेका थिए। १० वर्पपछि टी-२० विश्वकप पनि खेलेको थियो।
अब नेपालले आगामी सेप्टेम्बरको अन्त्यतिर वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै छ। त्यसपछि टी२० विश्वकपको छनोटमा पनि सहभागी हुँदै छ।
त्यस अघि नेपालले आत्मविश्वास बलियो बनाएको छ। यतिबेला कुशल भुर्तेल, आरिफ शेख, गुल्सन झाजजस्ता ब्याट्सम्यानहरु लयमा देखिन्छन् भने सन्दीप लामिछानेले पनि लयमा फर्किएको सन्देश दिएका छन्।


