काठमाडौं। इरानले कतारस्थित अमेरिकी सेनाको हवाई बेसलाई लक्ष्यित गरि सोमबार साँझ मिसाइल हमला गरेको छ।
इरानी सेनाले अल उदिद हवाई बेसलाई तार्गेट गरेर ब्यालेस्टिक मिसाइल हमला गरेका थिए। त्यसअघि इरानले कतारले आफुले आक्रमण गर्न लागेको सूचना दिएका थिए। सोहि कारण कतार र अमरिकी सेना दुवैले पर्याप्त तयारी गरेका थिए।

कतारले आफ्नो एयर स्पेस बन्द गरेको थियो।
आक्रमणपछि कतारको आकाशमा मिसाईलका झिल्का र विस्फोटका आवाजहरु सुनिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। कतारले सबै आक्रमणलाई इन्टरसेप्ट गर्न सफल भएको जनाएको छ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पूर्व सूचना दिएका कारण कुनै मानवीय क्षति नभएको बताएका छन्। साथै उनले इरानको यो आक्रमणलाई कमजोर पनि भनेका छन्।
यसअघि इरानले आफ्ना आणविक भट्टीमा अमेरिकाले आक्रमण गरेपछि त्यसको जवाफ दिने बताएको थियो। मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी हवाई सेनाको बेसमा इरानले आक्रमण गर्न सक्ने अनुमान गरिएको थियो।
अमेरिकी राष्ट्रपती ट्रम्पले इरान र इजरायल दुवै युद्ध विरामका लागि सहमत भएको पनि दावी गरेका छन्। यसमा इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन। तर इरानका विदेशमन्त्री सेयद अब्बास अराघ्चीले इजरायलले आक्रमण रोके आफुहरुले पनि बन्द गर्ने बताएका छन्। तर युद्ध विरामबारे कुनै सहमती नभएको उनको दावी छ।
कतारको राजधानी दोहा नजिकै रहेको अल उदिद मध्यपूर्वमा अमेरिकी सेनाको सबैभन्दा ठुलो एयर बेस हो। यहाँ १० हजार अमेरिकी सैनिक तथा एक सय वटा एयर फोर्स विमानहरु छन्।
यो एयर बेसलाई यूएस सेन्ट्रल कमान्डको हेडक्वार्टर पनि भनिन्छ। इरानले यस एयर बेसमा गरेको आक्रमणलाई क्षति गराउने भन्दा सांकेतिक बनाउन खोजेको टिप्पणी भइरहेको छ। इजरायलले आणविक खतरा अन्त्य गर्न भन्दै झन्डै डेढ साताअघि इरानमा आक्रमण थालेयता दुई देशबीच युद्ध चलिरहेको छ। पछिल्ला दिनहरुमा इजरायललाई साथ दिँदै अमेरिकाले पनि इरानमा आक्रमण गरेको थियो।
इरानको आणविक कार्यक्रम आणविक हतियार बनाउनेतर्फ अग्रसर भएको दावीसहित त्यहाँ हमला थालिएको हो।


