विरगन्ज। पर्सा प्रहरीले ठुलो परिमाणको लागु औषध चरेस बरामद गरेको छ। काठमाडौंबाट विरगन्जतर्फ आएको मालबहाक ट्रकभित्र बुधबार ३ सय १९ केजी चरेस बरामद फेला परेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए।
प्रहरीले प्रदेश २-०३-००१ख६३४८ नम्बरको मालबहाक ट्रक र त्यसका चालक मकवानपुरका ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ।


चालकको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद पनि बरामद भएको पर्सा प्रहरी प्रमुख मिश्रेले बताए। विरगन्ज महानगरपालिका-२१ परवानीपुरमा साँझ साढे ७ बजे प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो।
त्यसक्रममा ट्रकको पछाडिपट्टी सामान बोक्ने भागमा प्लास्टिकको बोराभित्र लुकाएर राखिएको अवस्थामा चरेस भेटिएको थियो।
१३ वटा पोकामा उक्त चरेस प्याकिङ गरिएको प्रहरीले जनाएको छ। एसपी मिश्रले स्याङ्तानलाई अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए।




