काठमाडौं। कुनै पनि मुद्धामा फरार भएका व्यक्तीलाई पक्राउ गर्दा प्रहरीले ठुलै सफलता जसरी प्रचार गर्छ। तर काठमाडौं प्रहरीले शुक्रबार एक जना फरार व्यक्तीलाई जाहेरवाला आफैले बुझाएको केही समयमा छाडेको छ।
विवादित ठेकेदार मनोज भेटवाललाई पिडितले आफैले खोजेर प्रहरीको जिम्मा लगाएका थिए।

‘मैले आफैले फलो गर्दै अनामनगरबाट प्रहरी बोलाएर भेटवाललाई जिम्मा लगाएको हुँ। प्रहरीले सिंहदरबार वृत्तभित्र लिएर पनि गएको थियो। त्यहाँको सिसिटिभि फुटेज हेर्दा थाहा हुन्छ’, पिडितले भने।
बैकिङ कसुर मुद्धामा भेटवालविरुद्ध केहि समय अघि पक्राउ पुर्जी जारी भएको थियो। जाहेरवालाले पक्राउ पुर्जी देखाएपछि प्रहरीले भेटवाललाई पक्राउ गरेको थियो।
‘बल्लबल्ल भेटाएको थिएँ। घर आएर केहि समयमा थाहा पाएँ- उनलाई त सिंहदरबार प्रहरीले छाडिसकेको रहेछ। मेरो माथीसम्म लिंक छ छुटिहाल्छु नी भनेर धम्कि दिएका भेटवाल केही बेरमै छुट्दा मलाई विश्वास नै लागिरहेको छैन’, ती जाहेरवालाले भने।
भेटवाल पक्राउ पर्ने वित्तिकै हामीले त्यस विषयमा सिंहदरबार प्रहरी प्रमुख गंगा पौडेलसँग बुझेका थियौँ। उनले भेटवाललाई केही समय अघी पक्राउ गरिएको र काठमाडौं प्रहरी परिसरमा बुझाउने तयारी भइरहेको बताएका थिए।
तर उनै डीएसपी पौडेलले पछि आफु झुटा सूचनामा परेको भनेर जवाफ दिए। ‘ म त विदा छु। इन्सपेक्टरसँग बुझ्दा त्यस्तै जस्तो लागेको थियो। हैन रहेछ’, डीएसपी पौडेलले भने।
पिडितले प्रहरीले पक्राउ पुर्जी भएकै व्यक्तीलाई समातेर बुझाउँदा पनि छाडेको सुन्दा ‘रुनु की हाँस्नु’ भएको बताए। ‘अनि यो देशमा न्याय खोज्न कहाँ जाने ? उनले दुख पोखे’, पिडितले भने।
काठमाडौं प्रहरी परिसर प्रवक्ता अपिल बोहराले भेटवाल पक्राउ परेकोबारे आफुलाई कुनै जानकारी नभएको जवाफ दिए।
अपडेट : यो समाचार प्रकाशित भएपछि शुक्रबार राती काठमाडौं प्रहरीले भेटवाललाई पक्राउ गरिएको विज्ञप्ती जारी गरेको छ।


