काठमाडौं – नेपालले आइतबारदेखि उज्वेकिस्तानमा महिला एसियन कप फुटबलको छनोट खेल्दै छ। त्यसअघि नेपाली महिला फुटबलले निकट भविस्यमा एसियन कपदेखि विश्वकप खेल्नेसम्मका सपनाबारे चर्चा भइरहेका छन्। ती सपनाबारे बुझ्न हामीले यो छनोट प्रतियोगिताबारे थाहा पाउनु पर्ने हुन्छ।
नेपालले उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्ने छ।

यी तीन टोलीलाई पछाडि पार्न सके नेपाल आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने छ। समूहको विजेता मात्र एसियन कपका लागि छनोट हुने भएकाले नेपाल अंक तालिकामा उज्वेकिस्तान, लाओस र श्रीलंकाभन्दा अगाडि रहनुपर्ने छ।
नेपालले अन्तिमपटक सन १९९९ मा आयोजना भएको महिला एसियन कप फुटबल खेलेको थियो। त्यतिबेलासम्म यो प्रतियोगिता खेल्न छनोट प्रतियोगिता खेल्नु पर्दैन थियो। टिमहरुले चाहे सोझै एसियन कप खेल्न सक्थे।
यतिबेला फिफा वरियतामा उज्वेकिस्तान ५१, लाओस एक सय ७ र श्रीलंका एक सय ५९ औँ स्थानमा रहेको छ। नेपाल एक सयौँ स्थानमा रहेको छ।
यो एसियन कप छनोट सन् २०२७ मा ब्राजिलमा हुने महिला विश्वकपको पहिलो चरणको छनोट प्रतियोगिताका रुपमा पनि रहेको छ। विश्वकप छनोटमा कायम रहन एसियन कपका लागि छनोट हुनैपर्ने हुन्छ। एसियन कपमा एसियाभरबाट छनोट भएका १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
१२ वटा टोलीलाई तीनवटा समूहमा विभाजन गरिने छ। समूहको विजेता र उपविजेतासहित दुईवटा बेस्ट थर्ड टिम पनि नकआउट चरण पुग्नेछन्। नकआउट चरणमा पुग्ने ८ मध्ये शीर्ष ६ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। यति भनेपछि तपाईले पक्कै बुझ्नु भयो होला- एसियन कप र विश्वकप पुग्न नेपाललाई कति सजिलो वा गाह्रो छ भनेर।
नेपालले हालसम्म सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि जित्न सकेको छैन। उपाधि जित्न नसकेपनि लकले साथ नदिएको भनेर नेपालले चित्त बुझाइरहेको छ। एक डेढ वर्षयता नेपाली महिला फुटबल टोलिको बेग्लै हाईप छ। हरेकपटक फाइनल पुग्ने मात्र नभएर जुनस्तरको फुटबल नेपालले खेलिरहेको छ, त्यसका आधारमा सम्भवत् नेपालको पुरुष फुटबललाई समेत ओझेलमा पारेर फुटबल प्रेमीको ध्यान तानिरहेको छ। अहिलेलाई एसियन कपमा छनोट हुने लक्षय लिएर नेपाल उज्वेकिस्तान पुगेको छ।
यति धेरै चर्चा र अपेक्षा त्यत्तिकै बढिरहेको छैन। पहिलो कारण नेपाल पछिल्ला लगातार तीनवटा प्रतियोगिताको फाइनल पुगेको छ। वाफ च्याम्पियनसिप, साफ च्याम्पियनसिप र फोर नेसन्स आमन्त्रण कपजस्ता लगातार तीनवटा प्रतियोगितामा नेपाल फाइनलसम्म पुगेको थियो।
वाफ च्याम्पियनसिपको फाइनलमा जोर्डन, साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेश र फोर नेसन्स आमन्त्रण कपको फाइनलमा म्यानमारसँग प्रतिस्पर्धा गरेको थियो।
यस्तै नेपालले यसबीचमा वरियतामा माथी रहेका टोलीसँग राम्रो खेलेको छ। ५५ स्थानको म्यानमारसँग नेपालले फोर नेसन्स कपको पहिलो चरणमा बराबरी खेलेको थियो। साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो।
यस्तै वरियतामा आफुभन्दा माथि रहेका जोर्डन, थाइल्यान्डजस्ता टोलीलाई कडा चुनौती दिएको छ। वाफ च्याम्पियनसिपको फाइनलमा नेपालले जोर्डनलाई टाइब्रेकरसम्म पुर्याएको थियो। हाल वरियतामा ४६ औँ स्थानमा रहेको थाइल्यान्डसँग झन्डै एक महिना अघि भएका खेलमा केवल १-० र २-० गोलको हार ब्यहोरेको थियो।
यस्तै यतिबेला नेपाली खेलाडीहरु विदेशका लिगमा खेलिरहेकाले पनि अपेक्षा बढेको छ। सावित्रा भन्डारी साम्बा फ्रान्सको लिग वान खेलिरहेका छिन्।
यस्तै गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई ग्रिसको क्लबले भित्र्याएको थियो। अर्की स्ट्राइकर रेखा पौडेलले यूएईमा खेल्दैछिन् र त्यहाँ उपाधि पनि जितिरहेकी छिन्। यस्तै डिफेन्डर पुजा राना भुटानमा व्यावशायीक लिग खेलिरहेकी छिन्। उनिहरुको अनुभव नेपालको प्रदर्शन र नतिजामा देखिने विश्वास र अपेक्षा छ। अन्य प्रतिभावान खेलाडीहरुको पनि कमि नेपाली टोलीमा छैन।
मिडफिल्डबाट आगो बालिरहेकी प्रिति नेपाली महिला फुटबलकी स्टार खेलाडी हुन्। भलै उनले विदेशका क्लबमा डेब्यु गर्न बाँकी छ। उनी सम्भवत नेपाली महिला फुटबलमा साम्बापछि सबैभन्दा बढी चर्चा हुने खेलाडी हुन्। मिडफिल्डमा उनी लगातार विपक्षीलाई टाउको दुखाई बनिरहेकि छिन्। प्रिति र अनुभवी रेनुका नगरकोटीले मिडफिल्डबाट साम्बा र रेखालाई सुन्दर अवसरहरु सृजना गर्ने क्षमता राख्छन्।
यतिबेला नेपाली महिला फुटबलको चर्चा हुनुको अर्को महत्वपूर्ण कारण नेपाली महिला फुटबल टोलीले पाएका विदेशी प्रशिक्षक हुन्। विदेशी प्रशिक्षक मात्र भनेर पुग्दैन – प्रो लाइसेसन्स प्रशिक्षक। अखिल नेपाल फुटबल संघ-एन्फाले महिला टोलीको प्रशिक्षकमा प्याट्रिक डे वाइल्डेलाई नियुक्त गरेको थियो
। प्याट्रिकको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ। यसअघि लगातार तीनवटा प्रतियोगितामा नेपाललाई फाइनल पुर्याएका राजेन्द्र तामाङ अहिले सहायक प्रशिक्षक रहेका छन्। ६१ वर्षीय बेल्जियन वाइल्डे आएयता नेपाली महिला फुटबलको मनोबल उच्च रहेको छ।
यतिबेला नेपाली महिला फुटबलको ध्यान एसियन कप छनोटका तीन खेलमा रहेका छन्। यीमध्ये सम्भवत नेपालका लागि सबैभन्दा कठिन खेल हुने छ उज्वेकिस्तानसँग हुने भिडन्त। समूहको आ-आफ्नो अन्तिम खेलमा नेपाल र उज्वेकिस्तान आमने सामने हुनेछन्। वरियतामा निकै माथि रहेको र घरेलु टोलीसमेत रहेकाले यो खेलको दबाब हामी महसुस गर्न सक्छौँ।
उज्वेकिस्तानले पछिल्ला लगातार ३ खेलमा भारतलाई दुईपटक र प्यालेस्टाइनलाई हराएको छ। त्यसभन्दा अगाडिका लगातार तीन खेलमा थाइल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो भने जाम्बिया र चीनसँग पराजित भएको थियो।
नेपालले हालसम्म तीनपटक महिला एसियन कप फुटबल खेलेको छ। सन् १९९९ मा नेपालले अन्तिमपटक एसियन कप खेल्दा उज्वेकिस्तानसँग पनि प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपाल ६-१ गोलले पराजित हुन पुगेको थियो।
अन्तर्राष्ट्रिय सफलताका लागि नेपाली महिला फुटबल टिमको यतिबेला उत्तम समय भएको टिप्पणी हुने गरेको छ। त्यसको प्रमुख कारण हो, अनुभवी रेनुका नगरकोटीसहित खेलाडीहरु करियरको अन्तिम समयतिर छन्। स्वयं साम्बाका लागि पनि यो राइट टाइम हुन सक्छ। त्यसका लागि कम्तिमा एसियन कप खेल्नु उनिहरुका लागि करियरकै सबैभन्दा ठुलो उपलब्धी हुन सक्छ।


