काठमाडौं। नेपाल टेबल टेनिस संघको लापरबाहीका कारण उज्वेकिस्तानमा भइरहेको २९ औँ एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा नेपाली खेलाडी प्रतिस्पर्धबाट बन्चित भएका छन्।
महिला र पुरुष एकलतर्फ प्राप्त कोटामा नाम दर्ता नहुँदा दुई जना नेपाली खेलाडी प्रतिस्पर्धाबाट बन्चित भएका हुन्। महिला र पुरुष दुवैको एकल स्पर्धामा नेपालले ३/३ जना खेलाडीलाई प्रतिस्पर्धा गराउन पाउने थियो तर २/२ जना खेलाडीले मात्र खेल्न पाए।

नेपाल टेबल टेनिस संघका महासचिव कुवेर सिंहले २/२ जना मात्र खेलाडी एकल स्पर्धामा दर्ता गरेको स्विकार गरे। ‘पहिला पनि २/२ जना मात्र खेलाडी दर्ता हुने गरेकाले हामीले त्यसैअनुसार यसपटक नाम दर्ता गरेका थियौँ। महिला र पुरुष दुवैतर्फ नेपालमा पहिलो र दोस्रो भएका खेलाडीको नाम दिएका थियौँ। तर पछी बुझ्दा ३/३ जना खेलाडीले खेल्न पाउने रहेछन्। अब यसमा गल्ती भन्ने की के भन्ने ? ‘, सिंहले भने।
नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलातर्फ योङगी पौडेल, वियंका राई र इभाना थापा प्रतिस्पर्धा गर्न उज्वेकिस्तान पुगेका थिए। प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन्। एक खेलाडीले टिमसँग गएका म्यानेजर तथा प्रशिक्षकको पनि यसमा कमजोरी रहेको बताए।
नेपाली टिम केहि दिनपछि फर्कँदै छ।


