काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका निलम्बित सांसद मोहनबहादुर बस्नेतसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
आइतबार थुनछेक बहसपछि विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ।

उनी सञ्चारमन्त्री भएका बेला टेरामक्स प्रविधि खरिद गर्ने निर्णय भएको थियो।
फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने टेरामक्स प्रणाली खरिद प्रकरणमा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो कायम गरी पूर्व सञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको थियो।



