काठमाडौं। महिला एसियन कप फुटबलको छनोटमा नेपालले आइतबार साँझ लाओसलाई ९-० गोलले हराएको छ।
उज्वेकिस्तानमा भएको खेलमा नेपालका सावित्रा भण्डारीले ४, अनिता बस्नेत, अनिता केसी, रश्मीकुमारी घिसिङ, सरु लिम्बुले एक एक गोल गरे।

एक गोल नेपालले आत्मघाती उपहार पाएको थियो। पहिलो हाफमा २-० गोलले अगाडि रहेको नेपालले मध्यान्तरपछि ७ गोल थपेको थियो।
सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा यो नेपालको सयौँ खेल थियो। यही खेलमार्फत नेपालले साम्बालाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ। त्यसो त लाओसविरुद्ध भएको खेलमा नियमित कप्तान एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राखिएको थियो।
एन्जिला मात्र होइन, रेखा पौडेल र प्रिति राईलाई पनि बेन्चमा राखिएको थियो। रेखा र पौडेललाई दोस्रो हाफमा मैदान प्रवेश गराइएको थियो।
नवनियुक्त प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डेको पनि नेपालका लागि यो पहिलो खेल थियो। वाइल्डेको पहिलो खेल, साम्बाको कप्तानका रुपमा पहिलो खेल र शानदार प्रदर्शन अनि महत्वपूर्ण केही खेलाडीलाई बेन्चमा राखेर गरिएको प्रयोग, नेपाली महिला फुटबलको सयौँ सिनियर अन्तर्राष्ट्रिय खेल सम्झनायोग्य बनेका थुप्रै कारणहरु हुन्।
नेपालले छनोटमा अब श्रीलंका र त्यसपछि उज्वेकिस्तानसँग खेल्ने छ।
चार टोली रहेको समूहबाट एक टोली मात्र एसियन कपका लागि छनोट हुने छ। नेपालले अन्तिमपटक सन् १९९९ मा महिला एसियन कप फुटबल खेलेको थियो।


