काठमाडौं। इरानका एक उच्च धार्मिक गुरुले दिएको स्टेटमेन्टले यतिबेला इस्लामिक समुदायसहित पश्चिमा राष्ट्र र अमेरिकामा तरङ्ग सृजना गरेको छ।
ग्रान्ड आयोतोल्लाह नासर मकारेम सिराजीले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भगवानविरुद्ध युद्ध गरेको भन्दै भगवानको शत्रुका रुपमा उल्लेख गरेका छन्। एउटा व्यक्तीले दिएको यो स्टेटमेन्ट किन यति चर्चित बन्यो ? किन विश्व समुदायले मह्त्वका साथ हेरिरहेको छ? . यसको अर्थ के हुन्छ ?

नासर मकारेम सिराजीले दिएको स्टेटमेन्ट इस्लामिक समुदायका लागि एउटा धार्मिक राय वा आदेश जस्तै हो जसलाई फत्वा भन्ने गरिन्छ। धर्म गुरुहरुले आफ्नो राय जसरी व्यक्त गरेपनि इस्लामिक समुदायले आदेशजसरी त्यसलाई ग्रहण गर्छ।
ग्रान्ड आयोतोल्लाह इस्लाम धर्मका प्रकाण्ड विद्धानले प्राप्त गर्ने पदवी हो जसले इस्लामिक कानुनको व्याख्या गर्न सक्ने र आदेश गर्न सक्ने क्षमता राख्छन्। धार्मिक शासन भएको देशमा फत्वाले नैतिक र राजनीतिक अर्थ राख्छ। यस्ता फत्वालाई मार्ग निर्देशक मानेर सरकारले आवश्यक नीति अपनाउँछ।
विसम राजनीतिक, धार्मिक परिस्थितीमा इस्लाम समुदायले के गर्ने, यस्ता फत्वाले मार्गनिर्देश गर्छन्। जस्तो ग्रान्ड आयोतोल्लाह नासर मकारेम सिराजीले सन् २००२ मा ढुंगाले हानेर मार्ने कानुनी सजायको विकल्प दिन सकिने भन्दै फत्वा जारी गरेका थिए। त्यतिबेला ढुंगाले हानेर मार्न नहुने व्यवस्थाको विरोध भइरहेको थियो।
सन् २०१० मा कुकुरलाई किन इस्लामले फोहोरी मान्छ भन्ने विषयमा बहस चलिरहेका बेला ग्रान्ड आयोतोल्लाह नासर मकारेम सिराजीले फत्वा जारी गरेका थिए। ग्रान्ड आयोतोल्लाह नासर मकारेम सिराजीलेले इस्लामिक धर्मअनुसार कुकुन फोहोरी भएकाले घर पालुवाका रुपमा प्रयोग गर्न नहुने तर्कसहित फत्वा जारी गरेका थिए।
उनको फत्वापछि इरानी सरकारले घर पालुवा कुकुरको खरिद विक्रीका विज्ञापनमा प्रतिबन्ध लगाएका थिए। लगभग त्यहि समयमा उनले धुम्रपान निधेष गर्नुपर्ने धारणासहित अर्को फत्वा जारी गरेका थिए।
ग्रान्ड आयोतोल्लाह नासर मकारेम सिराजीले अहिले जारी गरेको फत्वाभित्र प्रवेश गर्नुअघि अहिलेको इरान-इजराय र इरान-अमेरिका द्धन्द्धबारे छोटो कुरा गरौँ।
झन्डै दुई साता अघि इरानको आणविक कार्यक्रम परमाणु हतियार बनाउने क्षमतानजिक पुगेको भन्दै इजरायलले आक्रमण गर्यो। गोप्य रुपमा इजरायलले गरेको हमलामा इरानका शीर्ष सैन्य अधिकारी र आणविक वैज्ञानिकहरु मारिए। इरानका हवाई डिफेन्स सिस्टम र परमाणू भट्टीमा आक्रमण गरियो। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तीपूर्ण र उर्जाको प्रयोजनका लागि मात्र भएको दावीलाई यसपटक पनि दोहोर्यो। अनि थप्यो- इजरायलले एउटा स्वतन्त्र राष्ट्रको अस्तित्वमाथी आक्रमण गर्यो। त्यहीबीचमा पहिलाजस्तै यसपटक पनि अमेरिकाले इजरायललाई सपोर्ट गर्यो।
इरानलाई आत्मसम्पर्ण गर्न भन्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका धार्मिक हैसियतका सर्वोच्च नेता आयोतोल्लाह अलि खमेनीलाई आफुले सजिलै मार्न सक्ने तर अहिले नमार्ने वक्तव्य दिए।
इरान र अमेरिकाले बारम्बार आयोतोल्लाह अलि खमेनीको सत्ताबाट इरानलाई मुक्त गर्ने आफ्नो योजना विश्वलाई सुनाए। त्यहीबीचमा अमेरिकाले पनि इरानको आणविक भट्टीमा शक्तिशाली बम खसाल्यो। जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य बेसलाई लक्ष्यित गरी मिसाइल हान्यो। त्यसपछि युद्ध रोकियो। तर वाक युद्ध भने बढिरहेको छ।
अयोतोल्लाह अली खमेनीले इजरायलसँगको युद्ध इरानले जितेको बताएपछि ट्रम्प आक्रोशित बनेका थिए। उनले सामाजिक सन्जालमार्फत खमेनीलाई आफुले बचाएको वक्तव्य दिएका थिए। त्यसपछि इरानी विदेश मन्त्री अब्बास अराग्चीले खमेनीमाथी ट्रम्पको स्टेटमेन्ट लाजमर्दो र निकै नराम्रो भएको प्रतिक्रिया दिए।
इरान अमेरिकी राष्ट्रपति ट्रम्पसँग सम्झौता गर्न तयार भएको बताइरहेको छ। तर ट्रम्पले भड्किला अभिव्यक्ती दिइरहेको इरानी अधिकारीहरु दावी गरिरहेका छन्। आयोतोल्लाह अली खमेनी इस्लामिक कानुनअनुसार सन् १९८९ मा सर्वोच्च नेता चुनिएका थिए। सर्वोच्च नेताको प्रभाव धार्मिक रुपमा त हुन्छ नै राजनीतिक, सैन्यलगायत महत्वपूर्ण क्षेत्रमा पनि निर्णायक भूमिका हुन्छ।
नासर मकारेम सिराजीले नेतान्याहु र ट्रम्पले भगवानसँग युद्ध लडेको उल्लेख गरेका छन्। इस्लामिक धर्ममा आयोतल्लाहको अर्थ भगवान अर्थात इश्वरको प्रतिक हुन्छ। ट्रम्प र नेतान्याहुलाई इश्वरको शत्रुका रुपमा उल्लेख गरिएको छ। इस्लामिक धर्मअनुसार इश्वरको शत्रुलाई मृत्युदण्डसम्म हुने व्यवस्था छ।
यसबाहेक त्यस्ता शत्रुलाई समर्थन गर्ने इस्लामिक समुदाय र राष्ट्रविरुद्ध उनले निषेध जारी गरेका छन्। शत्रुलाई आफ्ना शब्द र गल्तीहरुको पश्चात गराउन विश्वभरका मुस्लिमहरु एक हुन पनि आह्वान गरेका छन्।
अब नासर मकारेम सिराजीको फत्वालाई इरानी सरकारले कसरी लिएर अगाडि बढ्छ हेर्न बाँकी छ। ९८ वर्षीय सिराजी सन् १९७९ मा इरानको इस्लामिक क्रान्तीपछि संविधान बनाउने टोलीमा थिए। इस्लामिक धर्मअनुसार सिराजी हालका सुप्रिम लिडर आयोतोल्लाह अलि खमिनीभन्दा ठुला धर्मगुरु हुन्।
सबैभन्दा चर्चित फत्वा साहित्यकार सलमान रुस्दीविरुद्ध जारी भएको मानिन्छ। सन् १९८९ मा द सेटानिक भर्सेस उपन्याशमा इस्लाम धर्मको अवमुल्यन गरेको भन्दै रुस्दीविरुद्ध तत्कालिन सर्वोच्च नेताले फत्वा जारी गरेका थिए। मारिन सक्ने डरले रुस्दी त्यसपछि लुक्दै हिँडे।
यतिबेला सिराजीको फत्वापछि के इरान इजरायल र अमेरिकासँग आक्रामक भएर उभिन्छ, अहिले चासो पूर्वक हेरिएको छ।


