काठमाडौं। नेपाल र श्रीलंकाबीच बुधबार भएको खेल हेर्नु नै भयो होला। यदी छुटाउनु भयो भने नतिजा त पक्कै सुन्नु भयो होला। नेपाली चेलीहरुले ८ गोल गरे।
साम्बाले फेरी ह्याट्रिक गरिन्। नेपालले फेरी फराकिलो जित हात पार्यो, एक गोल नखाई। पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९ गोल गरेको थियो विपक्षीलाई एक गोल पनि गर्न नदिकन।

तर यी नतिजा र गोलहरुको कुनै अर्थ हुने छैन यदि नेपालले अब समूहको अन्तिम खेलमा उज्वेकिस्तानसँग हार्यो भने। नेपालले घरेलु टोली उज्वेकिस्तानसँग शनिबार साँझ प्रतिस्पर्धा गर्दै छ। यो खेल जसले जित्छ, त्यही टोली आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एसियन कप पुग्ने छ। एसियन कप खेल्ने १२ मध्ये शीर्ष ६ टोली विश्वकप पुग्ने भएकाले हामी महसुस गर्न सक्छौँ यतिबेला नेपाली खेलाडीहरु करियरको कति महत्वपूर्ण खेल अगाडि छन्।
नेपालले २५ वर्षयता महिला एसियन कप खेलेको छैन। छनोट नै नखेली सिधै एसियन कप खेल्ने समयमा नेपालले सन् १९९९ को एडिसनमा सहभागिता जनाएको थियो। नेपाली महिला फुटबलमा अहिलेको टोलीलाई गोल्डेन जेनेरेसन मानिएकाले उनिहरुबाट ठुलो अपेक्षा छ।
उनिहरु आगामी खेलमा उज्वेकिस्तानलाई हराएर करियरको ठुलो सफलता प्राप्त गर्न आँतुर छन्। तर यो सजिलो काम भने हुने छैन। उज्वेकिस्तान फिफा वरियतामा ५१ औँ स्थान अर्थात नेपालभन्दा ४९ औँ स्थन माथीको टोली हो। त्यसमा पनि घरेलु टोली पनि हो। तर खेलमा जे पनि सम्भव छ। खेलको समयमा जसले बढी गोल गर्छ उसैले जित्ने हो।
जस्तो की बुधबार नै भएको खेलमा बंगलादेशले म्यानमारलाई २-१ गोलले हराएर एसियन कपमा स्थान बनाएको छ। फिफा वरियताम म्यानमार ५५ औँ र बंगलादेश एक सय २८ औँ स्थानमा रहेका टोली हुन्। अर्थात नेपालले हराइरहने दक्षिण एसियाकै अर्को टोली बंगलादेशले आफुभन्दा ७३ स्थान माथीको टोली म्यानमारलाई हरायो। नेपालले केहि समय अघि म्यानमारलाई बराबरीमा रोकेको थियो। यी नतिजाहरुबाट नेपालले आफुमाथी विश्वास गर्न सक्छ।
शनिबार हुने खेलमा निर्धारित ९० मिनेटको समयमा बराबरी भएमा को अगाडी बढ्छ ? सायद तपाईलाई यो कन्टेन्ट हेरिरहँदा उठिरहेको जिज्ञासा हुन सक्छ। त्यो निकै स्वभाविक पनि हो। नेपालले श्रीलंकालाई ८-० गोलले हराएपछि धेरैले उज्वेकिस्तान र लाओसबीचको खेल पनि हेर्नु भयो होला। नत्र बिहान उठेर स्कोर त पक्कै चेक गर्नु भयो।
पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई १०-० गोलले हराएकाले नेपाललाई केही दबाब थियो दोस्रो खेलमा। श्रीलंकाविरुद्ध ८ गोल गरेपछि नेपालको गोल डिफरेन्स १७ भयो।
अब चासो थियो उज्वेकिस्तानले लाओसलाई चाहीँ कति गोल गर्छ ? किनभने लाओसविरुद्ध पनि उज्वेकिस्तानले पक्कै धेरै गोल गर्छ भन्ने थियो।
७ गोलभन्दा बढि गर्दा नेपाललाई समस्या हुन सक्थ्यो। जस्तो की अन्तिम खेलमा नेपालसँग बराबरीको नतिजा निकाल्दा पनि अगाडि बढ्न सक्थ्यो। तर उज्वेकिस्तानले लाओसलाई ७-० गोलले हराएर गोल डिफरेन्स उसले पनि १७ पुर्यायो। अर्थात अन्तिम खेलमा नेपाल र उज्वेकिस्तानले अगाडी बढ्न बराबरी मात्र खेलेर अब पुगेन। खेल जित्नै पर्ने भयो। बराबरी भए टाइब्रेकरमा पुग्ने भयो।
लाओससँग उज्वेकिस्तानले निकालेको नतिजा नेपाली समर्थकका लागि निराश बनाउने खालको रह्यो किनभने एक समय यस्तो थियो की नेपालले बराबरी खेले मात्र पुग्ने भयो भनेर अनुमान हुन थालेको थियो। यो त्यत्तिकै अनुमान गरिएको थिएन। ८० मिनेटसम्म उज्वेकिस्तानले ३ गोल मात्र गरेको थियो। तर त्यसपछि उसले आक्रमण तिव्र बनायो।
उज्वेकिस्तानले ६ गोल मात्र गरेको भएपनि नेपाललाई बराबरी भए पुग्थ्यो। तर इन्जुरी समयको तेस्रो मिनेटमा अन्तिम गोल गर्दै उज्जेकिस्तानले नेपाललाई जित्नैपर्ने अवस्थामा पुर्यायो। उज्वेकिस्तानले इन्जुरी सममा एक मिनेटको अन्तरमा लगातार दुई गोल गरेको थियो।
अन्तिम खेलहरु नेपाल र उज्वेकिस्तानबीच केहि रोचक तथ्यहरु देखिएका छन्। दुवै टोलीले समान १७ गोल गरेका छन्। अनि दुवै टोलीले एक गोल पनि खाएनन्। उज्वेकिस्तानले १० गोल गरेको श्रीलंकालाई नेपालले ८ गोल गर्यो। अनि नेपालले ९ गोल गरेको लाओसलाई उज्वेकिस्तानले ७ गोल गर्यो।
उज्वेकिस्तानकी निलुफर कुद्रातोभाले पहिलो खेलमा श्रीलंकाविरुद्ध ४ गोल र दियोराखोन खाबिबुलाएभाले ३ गोल गरेकी थिइन्। नेपालकी साम्बाले पहिलो खेलमा लाओसविरुद्ध ४ गोल गरेकी थिइन्। दोस्रो खेलमा उज्वेकिस्तानकी कुद्रातोभले लाओसविरुद्ध २ गोल गरिन्। नेपालकी साम्बाले श्रीलंकाविरुद्ध ३ गोल गरिन्।
अब नेपाली टिमबारे छोटो कुरा गरौँ। प्रशिक्षक प्याट्रिक डे वाइल्डेको प्लेयर सेलेक्सन डिसिजनले फेरी एकपटक छक्क पर्नु भयो होला। विदेशमा खेलिरहेका रेखा पौडेल, पुजा राना, गोलकिपर एन्जिला तुम्बापो सुब्बा लगातार दोस्रो खेलमा सुरुवाती-११ मा अँटाएनन्। यसअघि कप्तान रहेकी एन्जिलाले त खेल्ने मौका नै पाएकी छैनन्। लगातार दोस्रो खेलमा गोलकिपर अन्जना राना मगरले पुरा समय खेलिन्।
एकातर्फ कप्तान गुमेको, अर्कातिर खेल्नै नपाइरहेको एन्जिलाको समय पक्कैपनि ठिक चलि नरहेको हामी अनुमान गर्न सक्छौँ। पहिलो खेलमा सुरुवाती-११ मा नअँटाएकी प्रिति राईलाई बुधबार भने सुरुवातीबाटै प्रशिक्षक वाइल्डेले खेलाएका थिए। खेलाडीको सेलेक्सन हेर्दा वाइल्डेले तुलानात्मक रुपमा अग्ला खेलाडीलाई बढी प्राथमिकता दिएको देखिन्छ।
अब उज्वेकिस्तानविरुद्ध वाइल्डेले कस्तो टिम उतार्छन् त्यो हेर्न बाँकी छ। जसले अवसर पाएपनि उनिहरुले यो खेलमा सतप्रतिशत दिन कुनै कसर बीकी राख्ने छैनन्, हामी अपेक्षा गर्न सक्छौँ।


