काठमाडौं। नेपालले एएफसी महिला एसियन कपको छनोटअन्तर्गत अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग खेल्दै छ। यो खेलको नतिजा सामान्य जित हारमा मात्र सिमित हुने छैन।
एउटा जितले नेपाली महिला फुटबलमा ठुलो अर्थ राख्ने छ। सावित्रा भण्डारी, प्रिति राई, रेखा पौडेलसहित महिला राष्ट्रिय फुटबल टोलीमा रहेका सबै खेलाडिले ठुलो उपलब्धी हासिल गर्ने छन्।

विश्व फुटबल महासंघ-फिफाको वरियताक्रममा उज्वेकिस्तान ५१ र नेपाल एक सयौँ स्थानमा रहेका टोली हुन्। अर्थात वरियताक्रमलाई हेर्ने हो भने उज्वेकिस्तान नेपालभन्दा बलियो टोली देखिन्छ।
उज्वेकिस्तान सेन्ट्रल एसियन फुटबल एसोसिएसन अर्थात काफाको हालसम्म दुईपटक महिला च्याम्पियनसिप भएकामा दुवैपटक उज्वेकिस्तानले उपाधि जितेको छ।
सन् २०१८ देखि सुरु भएको यो प्रतियोगिता अन्तिमपटक सन् २०२२ मा आयोजना भएको थियो। काफामा इरान, ताजिकिस्तान,तुर्केमेनिस्तान,अफगानिस्तान, किर्गिजस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
सन् २०२२ मै आयोजना भएको एसियन गेम्समा उज्वेकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। उज्वेकिस्तानका निलुफार कुद्रातोभा र दियोराखोन खाबुबुल्लाएभा नेपालकी सावित्रा भन्डारी जत्तिकै प्रभावशाली मानिन्छिन्। २८ वर्षीय कुद्रातोभा र २५ वर्षीया खाबुबुल्लाएभाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा समान ३८ गोल गरेका छन्। उनिहरु उज्वेकिस्तानका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्।
अहिले भइरहेको छनोटमा कुद्रातोभाले ६ र खाबुबुल्लाएभाले ४ गोल गरेकि छिन्। त्यसैले हामि भन्न सक्छौँ- नेपालले उज्वेकिस्तानलाई हराउन सके त्यो एसियाभरमै नोटिस हुने छ। जसरी दुई दिन अघि दक्षिण एसियाली च्याम्पियन बंगलादेशले वरियतामा आफुभन्दा निकै माथि रहेको म्यानमारलाई हराएर चर्चा बटुलेको थियो।
म्यानमारलाई हराएको मात्र थिएन, एसियन कपमा स्थान बनाएको पनि थियो। बंगलादेश पहिलोपटक एसियन कपका लागि छनोट भए को छ।
ठिक नेपाललाई पनि यस्तै अवसर छ, उज्वेकिस्तानलाई हराएर। नेपाली टोली २७ वर्षपछि एसियन कप खेल्ने प्रयाशमा रहेको छ। यसअघि नेपालले सन् १९९९ मा अन्तिमपटक महिला एसियन कप फुटबल खेलेको थियो। त्यतिबेला अहिलेजस्तो छनोट खेल्नु पर्दैन थियो। टिमहरु सोझै एसियन कप खेल्थे।
अहिलेको नेपाली महिला फुटबल टोली अन्तर्राष्ट्रिय सफलताका लागि आँतुर छ। गोल्डेन जेनेरेसन भनिँदै आएको अहिलेको नेपाली महिला फुटबल पुस्तामाथी अपेक्षा बढि छ। नेपालले हालसम्म सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा उपाधि जित्न सकेको छैन। अहिलेकै पुस्ता पनि पटकपटक फाइनलमा पुगेर पराजित भएको छ। गत वर्ष मात्र वेस्ट एसियन फुटबल फेडेरेसन अर्थात वाफ च्याम्पियनसिपमा गेस्ट टिमका रुपमा खेलेको नेपालले फाइनलसम्मको यात्रा तय गरेको थियो।
त्यतिबेला वरियतामा आफुभन्दा निकै माथी रहेको जोर्डनविरुद्ध नेपालले शानदार प्रदर्शन गरेको थियो। जोर्डनले खेल जित्न टाइब्रेकरसम्म पुग्नु पर्यो। साम्बाले यो खेल गुमाएपनि नेपालले कडा टक्कर दिएको थियो।
त्यसयता साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई हराएको नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुन पुगेको थियो। यतिबेला नेपालका थुप्रै खेलाडीहरु एसियादेखि युरोपका घरेलु लिगहरुमा खेलिरहेका छन्। खेलाडीहरुको स्तर चाहीँ राम्रो तर राष्ट्रिय टोलीले सफलता हात नपार्ने ? नेपाली महिला फुटबलको अहिले नियति नै बनेको छ।
उज्वेकिस्तानलाई हराउन सके विदेशका लिगमा नेपाली महिला फुटबलरको सम्भावनाका ढोकाहरु थप खुल्न सक्नेछन् किनभने नेपालले बलियो टोलीलाई हराउने मात्र छैन, एसियन कपमा पनि पुग्ने छ। एसियन कपमा नेपाली महिला खेलाडीहरुमा विदेशका क्लबहरुको नजर पर्न सक्ने छ।
नेपाली महिला फुटबलले अन्तर्राष्ट्रिय सफलत हात पार्न नसक्दा त्यसको सबैभन्दा ठुलो दबाब साम्बामाथी छ। थुप्रै कीर्तिमान बनाइसकेकी साम्बाले राष्ट्रिय टोलीका लागि उपलब्धी हात पार्न नसकेको टिप्पणी स्वभाविक मान्न सकिन्छ।
उनी हाल फ्रान्सको घरेलु लिग फुटबल खेलिरहेकी छिन्। धैरैपटक उपाधि नजिक पुगेर चुकेको अनुभव उनिसँग छ। सायद नेपाललाई एसियन कपमा छनोट गराउन सके स्वंय साम्बाका लागि ठुलो राहत र सफलता हुने छ। संयोग नै मान्नुपर्छ, यही प्रतियोगितामार्फत उनले नेपालको कप्तानी गरिरहेकी छिन्।
उज्वेकिस्तानमाथी जित हात पार्न सके नेपाली टिममा प्रशिक्षक प्याट्रिड डे वाइल्डेको इफेक्ट देखिने छ। पहिलोपटक प्रो लाइसेन्स प्रशिक्षक पाएको नेपाली महिला फुटबल टोलीले वाइल्डेको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेलिरहेको छ।
एन्फाले केही समय अघि महिला राष्ट्रिय फुटबल टोलीमा विदेशी प्रशिक्षक त्यसमा पनि प्रो लाइसेन्सधारी राख्ने निर्णय गरेको थियो। विज्ञापन खुलाएर वाइल्डेलाई भित्र्याइएको हो।


