काठमाडौं। नेपाल आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसियन कप फुटबलमा छनोट हुन असफल भएको छ।
शनिबार राती उज्वेकिस्तानसँग पराजित भएपछि नेपाली महिला फुटबलको सपना अधुरै बन्यो। निर्धारित समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि हार जितको नतिजाटाइब्रेकरबाट लिइएको हो।

टाइब्रेकरमा नेपालका सावित्रा भण्डारी र अन्जना रानामगर चुके। उज्वेकिस्तानले सुरुका ४ वटा प्रहार गोलमा परिणत गरेको थियो। अन्जन मिस भएपछि उज्वेकिस्तानले अन्तिम प्रहार गर्नै परेन।
त्यसअघि निर्धारित समयमा उज्वेकिस्तानले दुईपटक २ गोलको अन्तरले अग्रता लिएपनि जोगाउन सकेको थिएन।
नेपालकी साम्बाले ह्याट्रिक गरिन्। उज्वेकिस्तानले दोस्रो र ११ औँ मिनेटमा गोल गर्दै २-० गोलको अग्रता लिएको थियो। साम्बाले २४ औँ मिनेटमा पहिलो गोल गरिन्।
३९ औँ मिनेटमा उज्वेकिस्तानले टाइब्रेकरमा गोल गर्दै अग्रता पुन दोब्बर बनाएको थियो।
तर पहिलो हाफको अन्त्यतिर उज्वेकिस्तान १० खेलाडीमा सिमित भएको थियो। दोस्रो हाफको मध्यतिर साम्बाले एक मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा पुगेको थियो।
निर्धारित समयको खेलपछि दुवै टोलीको समान अंक, समान गोलअन्तर भएका कारण लिगको खेल भएपनि अगाडी बढ्ने टोलिको निर्णय लिन टाइब्रेकर गरिएको थियो। चार टोली सहभागी समूहबाट एक टोली मात्र एसियन कप पुग्ने थिए। दक्षिण एसियाबाट भारत र बंगलादेश एसियन कपका लागि छनोट भएका छन्।


