काठमाडौं। मध्यरात सवा एक बजे। जिल्ला प्रहरी कार्यालय भोजपुरको कन्ट्रोल रुममा रिङ बज्छ। फोन उठाउँदा उताबाट बोलेको सुनिन्छ- मैले चार जनालाई छुरी हानेर आएको छु मलाई पक्राउ गर्न आउनु।
मध्य निन्द्राको समय, अनि त्यस्तो फोन। प्रहरी एकछिन अक्कनबक्क पर्छन्। कसैले जाँड खाएर दुख दिन पो फोन गरेको हो की, प्रहरीले आशंका गरेपनि ढुक्क हुन सक्दैन। कन्ट्रोलले नजिकैको प्रहरी कार्यालयलाई खबर गर्छ। अस्थायी प्रहरी कार्यालय ओख्रेको टोली तत्कालै मुभ हुन्छ।

लगभग १५ मिनेटपछि हुर्बु भन्जाङमा एक युवक पेटमा छुरा हानिएको अवस्थामा सख्त घाइते भेटिन्छन्। प्रहरीलाई फोन गर्ने युवक तीनै भएको यकिन हुन्छ। त्यसपछि ती युवकले छुरा हानेको भनेको ठाउँतर्फ प्रहरी मुभ हुन्छ। झन्डै एक घण्टाको पैदल दुरीमा पुग्दा एउटा झुपटीभित्र प्रहरी छिर्छ। मानिसहरु क्षतविक्षत अवस्थामा लडिरहेको भेटिन्छन्।
भोजपुरको सदरमुकामदेखि झन्डै ३५ किलोमिटर दुरीमा रहेको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा शनिबार मध्यरात घटेको घटना यतिबेला पत्याउनै गाह्रो भइरहेको छ। समाचारहरु छ्यापछ्याप्ती छन्- ससुराली पुगेका ज्वाईले गरे चार जनाको हत्या भन्दै।
प्रहरीलाई खबर गर्दै घाइते अवस्थामा भेटिएका ३० वर्षीय राजेन्द्र राईको अहिले धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ। उनले छुरा हानेको भनेका एकै घरका ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र ९ वर्षीय छोरा सपन गिरी सबै मृत भेटिएका थिए। उनिहरु सबै ४ जनाको शव पोस्ट मार्टमका लागि घोपा अस्पताल पुर्याइएको छ।
हामीले यो सामग्री तयार पार्न घटना भएको रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधि र जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख दीपक श्रेष्ठ र राजेन्द्रको घर भएको भोजपुर नगरपालिका-२ जनप्रतिनिधिसँग कुराकानि गरेका छौँ।
मोटर गुड्ने सडकभन्दा माथी, कान्लामा छ एउटा झुप्रो घर। जहाँ न विजुली पुगेको छ नत सोलार जोडिएको छ। २/३ सय मिटर वरपरसम्म घर छैनन्। चिच्याएर कराएमा मात्र मुस्किलले छिमेकीले सुन्छन्। यही घरमा बस्दै आएको थियो बेलबहादुर गिरीको परिवार।
गिरीका ३ छोरी र एक छोरा आ-आफ्नो घरजम गरेर भोजपुर बाहिर थिए। बेलबहादुरको आर्थिक अवस्था कति कमजोर थियो भनेर उनको घरबाट अनुमान गर्न सकिन्छ। जनप्रतिनिधिहरुका अनुसार बेलबलहादुर र उनको परिवारको नाममा लालपुर्जा पनि थिएन। बेलबहादुर आफ्नो मामाघरले दिएको जग्गामा ओत लागेर बसिरहेका थिए। पछिल्लो समय त्यस घरमा बेलबहादुर, उनकी श्रीमती मन्जु, १६ वर्षीया छोरी मनिषा र ९ वर्षका छोरा सपन।
मनिषा कान्छी छोरी र सपन कान्छा छोरा हुन्। यो घटनाको केन्द्रमा छिन् कान्छी छोरी मनिषा। गत असोजमा राजेन्द्र राईले मनिषालाई भगाएर विवाह गरेका थिए। भगाएर लगेपछि मनिषालाई राजेन्द्रले भोजपुर बजारमा राखेका थिए। राजेन्द्र घर पेन्टिङको काम गर्दै आएका थिए।
पछिल्लो एक महिनायता मनिषा माइत आएर बसेकी थिइन्। घटनापछि प्रहरीले स्थानीयसँग बुझेअनुसार मनिषालाई आमा मन्जुले भोजपुर लिन गएकी थिइन्। पछिल्लो एक सातायता राजेन्द्र ससुरालीमा थिए। घरमा रहेका सबैको ज्यान गएकाले प्रहरीले स्थानीय र राजेन्द्रसँग कुराकानी गरेर घटनाबारे बुझ्ने काम गरिरहेको छ।
स्थानीयले शनिबार दिउँसोसम्म राजेन्द्रलाई सामान्य अवस्थामा देखेको बताएका छन्। केहीले राजेन्द्रले साला सपनलाई लिएर खेल्न गएको पनि बताएका छन्। घटनापछि प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा सुतिरहेको अवस्था सासु मन्जुले छुरा हान्न आएपछी त्यसलाई खोसेर परिवारका सबैलाई आक्रमण गरेको बयान दिएका छन्। आफ्नो ज्यान जोगाउन खोज्दा होस गुमाएर सबैको हत्या गरेको राजेन्द्रको बयान छ।
प्रहरीका अनुसार सपनाबाहेक अन्य तीन जनाको शव ओछ्यानमै भेटिएको थियो। सपनको शव भने ढोका छेवैमा थियो। मनिषालाई घर लिएर जाने र उनलाई लैजान नदिने विषयमा राजेन्द्र र ससुरालीबिच विवाद चलेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। राजेन्द्र, स्थानीयको बयानलगायतलाई आधार मानेर प्रहरीले यस्तो आशंका गरिरहेको छ।
पहिलो श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि राजेन्द्रले मनिषाले दोस्रो श्रीमतीका रुपमा भगाएका थिए। नेपालको कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गरे बाल विवाह मान्छ। १८ वर्षभन्दा कम उमेरका नाबालिगसँग सहमतीमै यौन सम्बन्ध राखे पनि बलात्कार मान्छ।
तर आफ्नो घरबाट करिब ५५ किलोमिटरको दुरीमा रहेको खोटाङसँग सिमा जोडिएको विकट रामप्रसाद राई गाउँपालिकामा पुगेर राजेन्द्रले १६ वर्षीया मनिषालाई भगाएका थिए। राजेन्द्रको पारिवारिक आर्थिक अवस्था कमजोर छ। उनको परिवारमा आमा, एक जना दाई, एक जना भाई र बहिनी रहेका छन्। बुबाको १० वर्षअघि मृत्यु भएको थियो। हामीले स्थानीय जनप्रतिनिधिसँग बुझेअनुसार राजेन्द्र क्रिश्चियन हुन्। मृतक मनिषा राजेन्द्रको हुलियाका कारण प्रभावित भएको तर विवाह गरेर घर पुग्दा झस्किएको स्थानियहरु बताउछन्। राजेन्द्र ३/४ वर्षदेखि सदरमुकाममा बसेर काम गर्दै आएका थिए।
मनिषाको सानै उमेर र अन्तरजातीय विवाह गरेका कारण यो सम्बन्धलाई गिरी परिवारले ठिक नमानेको समाचारहरु आइरहेका छन्। घटनाको मुख्य कारण नै यही भएको हुन सक्ने प्रहरीको अनुमान छ। राजेन्द्रले हत्या स्विकारेको, उनी जिवितै रहेको र मृतक बमबहादुरको परिवारका बाँकी रहेका ४ सन्तानसँग कुराकानी गरेर प्रहरीले कारणबारे यकिन गर्न सक्ने छ।
२०७६ साल जेठमा पाँचथरको मिक्लाङजुङ गाउँपालिका-३ आरुबोटेमा ९ जनाको सामुहिक हत्या भएको थियो। मध्यरात भएको त्यस घटनामा मारिनेहरु दुई परिवारका थिए। एक बालिका भने भागेर बाँच्न सफल भएकी थिइन्।
मारिएका परिवारको ज्वाई घटनास्थलभन्दा करिब २ घण्टाको पैदल दुरीमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए। मानबहादुरले नै ९ जनाको हत्या गरेको प्रहरीले निश्कर्श निकालेको थियो।
श्रीमतीले डिभोर्स गर्न खोजेपछि उत्पन्न भएको विवादमा मानबहादुरले सामूहिक हत्या गरेको प्रहरीको दावी थियो। परिवारका अधिकांश मारिएको र आरोपी पनि मृत भेटिएकाले प्रहरीलाई कारण पत्ता लगाउन गाह्रो भएको थियो।



