काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर विश्वनाथ पौडेलले शुक्रबार सुस्त रहेको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित मौद्रिक नीति ल्याएका छन्।
घरजग्गा र सेयर धितो कर्जासम्बन्धी व्यवस्थामा केही लचकता अपनाइएको छ। अब घर खरिदका लागि ३ करोड रुपैयाँसम्म ऋण पाइने छ। यसअघि यस्तो ऋणको सिमा २ करोड रुपैयाँ थियो।

पहिलो पटक घर खरिद गर्नेलाई दिइने कर्जाको मूल्याङ्कन अनुपात बढाएर ८० प्रतिशत पुर्याइएको छ भने घरजग्गा खरिदका लागि दिइने सामान्य कर्जाको मूल्याङ्कन अनुपात ७० प्रतिशत पुर्याइएको छ। यस्तै व्यक्तीले सेयर धितोबापत अब २५ करोड रुपैयाँसम्म कर्जा पाइने छन्। यसअघि यस्तो सिमा १५ करोड रुपैयाँ थियो।
सेयर धितोबापत अहिले ७० प्रतिशतसम्म कर्जा प्रवाह हुने गरेको छ। यस्तै विदेश भ्रमणमा जाने नेपाली नागरिकले ३ हजार अमेरिकी डलरसम्म लेजान पाउने भएका छन्। यसअघी २५ सय रुपैयाँसम्म लैजान सकिने व्यवस्था थियो।
राष्ट्र बैंकले स्थायी तरलता सुविधा दरलाई ०.५ प्रतिशत बिन्दुले घटाएर ६ प्रतिशतमा झारेको छ। नीतिगत दर ०.५ प्रतिशतले घटाइ ४.५ प्रतिशत र स्थायी निक्षेप संकलन दर ०.२५ प्रतिशत घटाइ २.७५ प्रतिशत कायम गरिएको छ।


