काठमाडौं। नेपाली महिला फुटबल खेलाडी फेरी एकपटक यतिबेला उकुसमुकुस छन्।
फेरी एउटा गतिलो मौका मुखैबाट उम्कियो। त्यो गरेको भए हुन्थ्यो की यो गरेको भए हुन्थ्यो की ? सायद यस्तै कुराहरु उनिहरुका मनमा खेलिरहेको हुन सक्छन्।

केहीलाई लागिरहेको होला- अहिले नभएको अब कहिले हुन्छ ? केहीले सोचिरहेका होलान् – अब यस्तो मौका कहिले आउँदैन। अनि केहीको मन खिन्न भइरहेको होला- नेपालका लागि यो वर्ष खेल्दा सम्झिनलायक एउटा सफलता पनि प्राप्त हुन सकेन।
तर हामी अनुमान गर्न सक्छौँ- सावित्रा भण्डारी साम्बालाई कति गाह्रो भइरहेको छ। नेपाल एसियन कपमा छनोट नहुनु, आफुले पेनाल्टी मिस गर्नुको पिडा त उनलाई छ नै। त्यो भन्दा बढी अहिले भइरहेको विवादले उनलाई बढी दुखी रहेको हुनुपर्छ, पिडा दिइरहेको हुनुपर्छ। मैले यत्ति भनेपछि तपाईले पक्कै अनुमान लगाउनु भयो।
जसरी कप्तानका विषयमा विवाद उठ्यो, जसरी एन्जिला तुम्बापो सुब्बा बेन्चमै सिमित भइन्, जसरी नेपाल एसियन कपमा छनोट हुन सकेन। जसरी प्रशिक्षक प्याट्रिक डे वाइल्डेले छनोट प्रतियोगितापछि दिएको अन्तर्वार्ताले तरंग सृजना गर्यो। यसको केन्द्रमा साम्बा थिइन्। अझ भनौँ साम्बालाई जबर्जस्ती विवादमा ल्याइयो। जबर्जस्ती विवादमा ल्याइयो किन भनिएको हो ? कसले विवादमा ल्यायो ?
सुरुमा केही महत्वपूर्ण घटनाक्रमबारे बुझौँ।
उज्वेकिस्तानमा भएको एसियन कप छनोटको पहिलो खेलमा लाओसविरुद्ध मैदान प्रवेश गर्न लाग्दा मात्र साम्बाले कप्तानको आर्म ब्यान्ड लगाएको देखिएको थियो। जबकी त्यसअघि नै सार्वजनिक भएको प्लेइङ-११ जुन एएफसीलाई नै बुझाइएको थियो।
त्यसमा कप्तान रेनुका नगरकोटी कप्तान भनेर उल्लेख थियो। आफुलाई थाहा नदिकन नगरकोटीलाई कप्तान बनाइएको भन्दै प्रशिक्षक वाइल्डे रिसाए र आफ्नो कप्तान साम्बा भएको सुनाए। त्यसपछि कागजमा रेनुका कप्तान भएपनि मैदानमा आर्म ब्यान्ड साम्बालाई लगाइयो।
नेपाली टोली उज्वेकिस्तान फर्किएपछि एन्फाले दुईपटक पत्रकार सम्मेलन गरिसकेको छ। एकपटक एन्फा पदाधिकारीले गरे। अर्कोपटक उज्वेकिस्तान गएका सहायक प्रशिक्षक, टिम म्यानेजर, हेड अफ डेलिगेट्सलगायतले आफ्ना कुराहरु राख्दै पत्रकारका जिज्ञाशामा जवाफ दिए। यी दुवै पत्रकार सम्मेलनको केन्द्रमा थियो कप्तान विवाद।
प्रशिक्षक वाइल्डेले लाओससँगको खेलपछि एन्फालाई पत्र लेख्दै कप्तान छनोटमा म्यानेजर, हेड अफ डेलिगेट्सलगायतले हस्तक्षेप गरेको, आफुले भनेको कुरा पुरा नगरेको उल्लेख गरे।
टिम म्यानेजर र हेड अफ डेलिगेट्ससँग वाइल्डेको बोलचाल नै बन्द भयो। अन्तिम खेलमा नेपालले उज्वेकिस्तानलाई हराएमा एसियन कप पुग्ने थियो। तर यो खेल नेपालले टाइब्रेकरमा हार्यो। हारपछि नेपाली टिमसँगै उज्वेकिस्तान गएका कान्तिपुर मिडिया ग्रुपका खेल पत्रकारसँग अन्तर्वार्ता दिँदै वाइल्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर आरोप लगाए।
महत्वपूर्ण खेल अगाडि शुभकामना दिएर प्रधानमन्त्री ओलीले खेलाडीलाई दबाब दिएको उनको आरोप थियो। उज्वेकिस्तानको खेल अघि प्रधानमन्त्री ओलिले भिडियो कन्फेरेन्समार्फत खेलाडीलाई गुड लक भनेका थिए। प्रधानमन्त्रीलाई जोडेपछि एन्फाले आँत्तिदै पत्रकार सम्मेलन गरेको थियो।
उज्वेकिस्तानमा नेपाली टिमसँग गएका हेड अफ डेलिगेट्सले प्रशिक्षक वाइल्डेकै कारण विवाद आएको स्पष्टीकरण दिइरहेकी छिन्। वाइल्डेले कप्तान को हो भनेर समयमा नाम नदिएका कारण सिनियर खेलाडीका रुपमा रेनुका नगरकोटीको नाम पठाइएको दावी गरेकी छिन्।
एकछिन यो भिडियो हेर्नुस।
नयाँ कप्तानका रुपमा साम्बालाई स्वागत र बधाईसमेत भन्न नपाएको यहाँ गुनासो सुनिन्छ। अन्तिम समयसम्म कप्तानको नाम किन गोप्य राखियो ? अझ भनौँ प्रशिक्षक वाइल्डेले गोप्य राखे त्यसबारे केही स्पष्ट भइसकेको छैन।
नेपाली टिम उज्वेकिस्तान जानु अगावै कप्तान परिवर्तनको चर्चा सुरु भएको थियो। किनभने यसपटक कप्तान नतोकी २३ सदस्यीय टोली घोषणा गरिएको थियो। त्यसैले एन्जिला तुम्बापो सुब्बा कप्तानबाट हट्न सक्छिन् की भन्ने अनुमान भइरहेको थियो।
उज्वेकिस्तानमा एन्जिलाले कप्तान मात्र गुमाइनन्, उनी स्टार्टिङ-११ मा पनि परिनन्। ग्रिसमा व्यावयशीक फुटबल खेलिरहेकी र लामो समयदेखि पहिलो रोजाईको गोलकिपर रहेकी एन्जिला स्टार्टिङ इलेभेनमा नपर्नु सप्राइजिङ थियो।
हालै एन्जिलाले दिएको एक अन्तर्वार्तामा आफु पुर्ण रुपमा ठिक भएपनि मैदान उत्रन नपाएको बताएकि छिन्। प्रशिक्षक वाइल्डेले आफूमाथी हेपेको जसरी फरक व्यवहार गरेको पनि उनले उल्लेख गरेकि छिन्। साम्बालाई कप्तान बनाउँदा आफुलाई कुनै समस्या नभएको र उनी डिजर्बिङ भएको पनि अन्तर्वार्तामा भनेकी छिन्। तर साम्बाजस्तो खेलाडीलाई कप्तान सुम्पिने अवसर समेत आफुले नपाएको एन्जिलाको गुनासो छ।
एन्जिला कसरी कप्तानबाट हटिन्, उनी किन स्टार्टिङ इलेभेनमा परिनन् भन्नेबारे गोलकिपर प्रशिक्षक सुरज लामाले घटनाक्रमहरु बताएका छन्।
जसरी एन्जिला कप्तानबाट हटिन् र जसरी नयाँ कप्तान घोषणा गरियो ? जसरी एन्जिला स्टार्टिङ इलेभेनमा समेत परिनन् ? जसरी प्रशिक्षक वाइल्डेको अन्तर्वार्ताले अहिले विवाद ल्याइरहेको छ। जसरी एन्जिलाले दुख व्यक्त गरिरहेकी छिन्। यसले पक्कैपनि साम्बालाई दुखी बनाइरहेको छ।
साम्बा नेपाली महिला फुटबलकी सर्वाधिक सफल खेलाडी हुन्। उनी अहिले फ्रान्सको पहिलो डिभिजन लिग क्लबबाट व्यावयशीक फुटबल खेलिरहेको हामी सबैलाई थाहा नै छ। उनी दक्षिण एसियाको सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्न महिला फुटबलर हुन्।
नेपालले सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा अहिलेसम्म उपाधि जित्न नसक्नुको पिडा सायद अहिलेको नेपाली टिममा सबैभन्दा बढी साम्बालाई छ ।
यस मानेमा की अन्तर्राष्ट्रियस्तरमा उनको जुन हाइट छ। सायद यसपटक उज्वेकिस्तानबाट नेपालि महिला फुटबलले इतिहास रच्ने उनको अपेक्षा थियो। कप्तान पनि भएकाले उनी अझ उत्साही थिइन्। यो साम्बाका लागि मिठो संयोग हुन् सक्थ्यो।
व्यक्तिगत रुपमा साम्बाले शानदार प्रदर्शन पनि गरिन्। ३ खेलमा ९ गोल गरिन्। उज्वेकिस्तानविरुद्ध नेपाललाई दुईपटक दुई गोलले पछाडी परेर पनि बराबरीमा फर्काउने साम्बा ने थिइन्। तर दुर्भाग्य टाइब्रेकरमा उनै साम्बा नेपालको पहिलो प्रहारमा चुकिन्।
प्रशिक्षक वाइल्डेले दिएको अन्तर्वार्तामा उनले व्यक्त गरेका विचार र आरोपपछि अब नेपाल आउँछन् आउँदैनन् शंका भइरहेको छ। त्यसो त एसियन कप छनोटमै वाइल्डेका खेलाडी छनोटसम्बन्धी केही निर्णयको आलोचना भइरहेको छ।
विदेशमा खेलिरहेका पुजा राना,एन्जिला,रेखा पौडेलजस्ता खेलाडीलाई उनले बेन्चमा राखेका थिए। प्रिति राईले पनि एक खेलमा मात्र स्टार्टिङ इलेभनमा मौका पाइन्।
नवनियुक्त कप्तान साम्बाले भने प्रशिक्षक वाइल्डेको खुलेर प्रंशसा गरेकी छिन्। एसियन कप छनोट खेलेर फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै साम्बाले वाइल्डेले छोटो समयमै राम्रो नतिजा दिएको भन्दै उनलाई एन्फाले केही समय होल्ड गर्नुपर्ने बताएकी थिइन्।


