काठमाडौं। गैह्र आवासीय नेपाली संघ-एनआरएनए अध्यक्ष डा. बद्रि केसीले अहिले भइरहेको राष्ट्रिय समन्वय समिती र आसन्न अन्तर्राष्ट्रिय समन्वय समितिको निर्वाचनमा भाग लिन सबै पक्षलाई आह्वान गरेका छन्।
उनले एनआरएनएमा कुनै पनि विवाद नराख्न र एक ढिक्का भएर अगाढि बढ्न आग्रह गरे। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष केसीले आफ्नो समिती नै एनआरएनएको आधिकारिक नेतृत्व भएको र आसन्न निर्वाचन नै आधिकारिक निर्वाचन हुने बताए।

‘बाढी आएको बेला मुल नदीबाट दुई तिनवटा शाखा निस्किने र बाढी रोकिएपछि पानी मुल नदीबाटै बगेजसरी अब एनआरएनए पनि एक ढिक्का हुने छ। सबै पक्ष निर्वाचनमा सहभागी हुनु हुने छ र एनआरएनए एकताबद्ध भएर अगाडि बढ्ने छ भन्ने विश्वास मेरो छ’, उनले भने।
सर्वोच्च अदालतले शेष घले नेतृत्वको समिति ब्युँताउने गरि भएको फैसलाले ११ औँ महाधिवेशनलाई कुनै प्रभाव नपर्ने पनि सर्वोच्चले अदालतले अर्को फैसला गरेको, परराष्ट्र मन्त्रालयले पनि अर्को निर्वाचन आयोश्यक नपर्ने भनी सर्वोच्च अदालतलाई जवाफ पठाएको, शेष घले नेतृत्वको समितीलाई ब्युँताउने फैसला पनि पुनरावलोकन भएर खारेज भएको लगायत तर्क केसीले प्रस्तुत गरे।
यस्तै घले नेतृत्वमा भएको महाधिवेशनमा करिब ११/१२ हजारले मात्र सदस्यता लिएको तर अहिले आफ्नो पालामा करिब ९२ हजारले लिइसकेकाले अन्तर्राष्ट्रिय मान्यता र विश्वासको पनि प्रश्न नरहेको उनले बताए। एनआरएनएको आईसिसी निर्वाचनका लागि अहिले धमाधम एनसिसी निर्वाचन भइरहेको छ। आईसिसी निर्वाचन आगामी अक्टोबरमा गर्ने तयारी छ।


