काठमाडौं। चालु आर्थिक वर्षको जेठसम्म सबै वाणिज्य बैंकहरु मुनाफामा देखिएका छन्। तर गत वर्षको सोही अवधिको तुलनामा भने ९ वटा वाणिज्य बैंकको मात्र नाफा बढेको छ। ११ वटा वाणिज्य बैंकको खुद मुनाफा घटेको छ। सोही कारण वाणिज्य बैंकको खुद मुनाफा ५ प्रतिशतले घटेको देखिएको छ ।
२० वटा वाणिज्य बैंकहरुले जेठ मसान्तसम्म ५३ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ मात्रै खुद मुनाफा गरेका छन्। गत वर्षको जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा गरेका थिए ।

सबैभन्दा धेरै नाफा बढाउने बैंकमा नेपाल बैंक रहेकाे छ । गत वर्ष १ अर्ब ७ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा कमाएको बैंकले चालु आवमा भने ३ अर्ब ७ करोड रुपैयाँ खुद मुनाफा कमाएकाे छ । नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एभरेस्ट बैंक, नेपाल बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंकले नाफा बढाएका छन्।
यस्तै माच्छापुच्छ्रे बैंकको पनि नाफा बढेको छ। अन्य सबै वाणिज्य बैंकको नाफा घटेको छ। सबैभन्दा बढी नेपाल बैंकको नाफा बढेको छ। उसको झन्डै २ सय प्रतिशतले नाफा बढेको छ।
यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको झन्डै ३० प्रतिशत, एभरेस्ट बैंकको २८ प्रतिशत, ग्लोबल आईएमई बैंकको झन्डै १८ प्रतिशत नाफा बढेको छ।

