काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चाहेजस्तो हुन्थ्यो भने आजका दिनसम्म अर्थात असार मसान्तसम्म त्रिवि क्रिकेट मैदानमा प्यारापिट बनि सकेको हुन्थ्यो, फ्लडलाइट जडान भइसकेको हुन्थ्यो।
प्रधानमन्त्रीले चाहेका मात्र थिएनन्, असार मसान्तसम्म प्यारापिट र फ्लडलाइट जडान नभए त्यो सरकारलाई सह्य नहुने चेतानवीपूर्ण स्टेटमेन्ट समेत दिएका थिए।

सुन्दा यस्तो लागेको थियो- असारभित्र चाहीँ जसरी पनि प्यारापिट र फ्लडलाइट बन्ने भयो। प्रधानमन्त्रीले नै यसरी बोलेपछि किन पो हुँदैन ?
ठेक्केदारले करिब दुई महिनामा दुवै संरचना तयार गर्नु भनेका थिए। उनिहरुले काजगमा गरेको सम्झौता हेर्ने हो भने गत बैशाख २४ गतेभित्र त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट तयार हुने थियो। ठेक्केदारले सुरुमा पाएकै समय बराबर फेरी समय पाए।
अर्थात शतप्रतिशत समय थपेर प्रधानमन्त्रीले त्यसो भनेका थिए। त्यसैले लागेको थियो, पक्कै असारभित्र दुवै संरचना तयार हुने छ।
प्यारापिट र फ्लडलाइट निर्माणको अवस्था देखेरै केही दिन अघि संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रश्न उठाएका थिए। ओलीले प्रचण्डलाई जवाफका लागि जवाफ दिए। त्रिवि क्रिकेट मैदानमा गएर हेर्न भनेँ। सँगै उनले प्रचण्डलाई आफ्नो पालामा घोषणा गरेका कामहरु कति समयमा बनाउनु भयो भनेर प्रश्न गरे।
यसमा ओलीलाई प्रचण्डले गरेको प्रश्न पनि सहि थियो। अनि ओलीले प्रचण्डलाई गरेको प्रति प्रश्न पनि सहि थियो। ओली यसपटक प्रचण्डलाई तपाईका पालामा चाहीँ कहिले समयमा काम भएको थियो भनेर प्रश्न गरिरहेका थिए।
ओलीले प्रचण्डलाई यसो भनिरहँदा, त्रिवि क्रिकेट मैदानमा बनिरहेको प्याराफिट र फ्लडलाइट हेर्न जानु भनिरहेका बेला प्रधानमन्त्री पक्का थिए की उनले दुई महिना अघि दिएको समय सिमा फेरी पनि टरेर जाँदै थियो। ठेक्केदारहरु अझै केही महिना समय मागिरहेका छन्।
त्रिवि क्रिकेट मैदानमा समयमा फ्लडलाइट र प्यारापिट तयार भएन भनेर समाचार लेख्यो वा भिडियो बनायो भने अहिले गाली गर्नेहरुको बाढी आउँछ। तेरो घर होर दुई महिनामा बन्न, ढिलो होस् तर राम्रो बन्नुपर्छ। यस्तै यस्तै कमेन्टहरु धेरे देखिन्छन्। सायद तपाईलाई पनि यस्तै लाग्ला।
फ्लड लाइट र प्यारापिट बन्छ, यसमा कुनै द्धिविधा छैन। राम्रो बन्नुपर्छ। त्यसमा त दुईमत नै छैन। सरकार त्यसमा पनि प्रधानमन्त्री आफैले चासो दिइरहेकाले सबै कुरा टाइममा हुन्छ भनेर अपेक्षा गर्नु कुनै गलत थिएन र होइन। प्रधानमन्त्रीले नै भनेको कुरा टाइममा हुँदैन भने कसले भनेको कुरा टाइममा हुन्छ ? यो प्रश्न सामान्य होइन। सम्झौता बमोजिम कुनैपनि काम ठिक समयमा भएन भने त्यसको जिम्मेवार को हुने ? २ महिनामा सक्छु भनेको काम ४ महिना वितिसक्दा पनि अझै कहिले सकिन्छ भनेर अनुमान गर्न नसकिने अवस्था कसरी बन्यो ?
ठेकेदारले के आधारमा २ महिनामा सक्छु भनेका थिए ? दुई महिनामा सक्छु भनेको काम ढिला हुँदामा कतिसम्म ढिला हुने हो ? त्रिवि क्रिकेट मैदानमा ठेक्केदारले कामै गर्न सकेर यति ढिला हुने घटना यसबीचमा के भयो ? सायद आम रुपमा उठेका प्रश्न हुन् यी।
यी प्रश्नको जवाफ खोज्नुअघि केही घटनाक्रमबारे बुझौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेलगत्तै ३ सय दिनभित्र त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र प्यारापिट बनाइसक्ने घोषणा गरेका थिए। सरकार तयार पनि देखियो।
तर ठेक्का लगाउने प्रकृयाले लामो समय लियो। झन्डै २ महिना मात्र समय बाँकी रहेका बेला ठेक्का लगाइयो। प्रधानमन्त्रीले भनेको तीन सय दिनको समय बैशाख २४ गते सकिँदै थियो। ठेकेदारहरुले पनि बैशाख २४ गतेभित्र तयार गर्छौँ भन्दिए। तीन सिफ्टमा काम गरेर सक्छौँ भने।
प्रधानमन्त्री ओलीले पनि पत्याइदिए। यस्तो लाग्थ्यो- प्रधानमन्त्री ओलीले तीन सय दिनभित्र बनाउँछु भनेर गरेको कमिटमेन्ट पुरा गर्ने भए। कम्तिमा एउटा सर्वसाधारणले उक्त सम्झौताको डेडलाइनमा विश्वास गर्न सक्ने थियो।
तर प्रधानमन्त्रीले तोकेको ३ सय दिनको समयका लागि मात्र वैशाख २४ गतेको समयसिमामा ठेक्केदारहरु सहमत भएका थिए भनेर आशंका गर्न सकिन्छ। यो कुरा प्रधानमन्त्रीलाई थाहा थिएन भनेर विश्वास गर्न गाह्रै हुन्छ।
किनभने सरकारका तर्फबाट उक्त ठेक्का लगाउने जिम्मेवारी पाएको शहरी विकाश मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले यति थोरै समयमा यति ठुलो प्रोजेक्ट पुरा हुन्छ भनेर सायदै पत्याएका थिए ?
त्यसमा पनि सरकारका तर्फबाट यो प्रोजेक्ट हेर्ने जिम्मेवारी पाएका व्यक्ति चक्रवर्ती कण्ठ वरिष्ठ इन्जिनियर हुन्। उनैले यो प्रोजेक्टमा समय थप्ने नथप्ने निर्णय गर्छन्। सुरुमा झन्डै दुई महिनामा यो प्रोजेक्ट पुरा हुन्छ भन्ने सम्झौताका उनी एक पक्ष हुन।
कण्ठकै सिफारिसका आधारमा प्रधानमन्त्रीले दुई महिनाअघि चेतावनीपूर्ण स्टाटस लेखेका थिए भनेर अनुमान गर्न सकिन्छ। किनभने ठेकेदारले यति समयमा सकिन्छ भनेर दुई महिनाको समय मागेका थिए। त्यसलाई अनुमोदन गरिएको थियो। त्यही आधारमा प्रधानमन्त्री ओलीले सामाजिक सन्जालमा स्टाटस लेखेका थिए।
प्रधानमन्त्रीले के आफ्नै निकाय र ठेकेदारहरुबाट धोका पाएका हुन् ? उनलाई गलत कमिटमेन्ट गरेर भ्रममा पारिएको थियो ? की प्रधानमन्त्री यी सबै कुरा जान्दाजान्दै, समय लाग्ने कुरा थाहा हुँदा हुँदै स्टाटस भने लेखिरहेका छन् ? तपाईलाई के लाग्छ ?
ठेकेदारले धेरै मान्छे लगाएर, तीन सिफ्टमा काम गर्छौँ भनेका थिए। यसबीचमा ठेक्केदार कम्पनीले निरन्तर काम गरिरहेकै देखिन्छ। त्यसमा कुनै शंका छैन। फ्लड लाइट र प्यारापिट निर्माण थालेयता पानी पटक पटक परिरहेकै छ। पानी पर्न सक्ने समय भएकाले त्यसबारे दुवै पक्षलाई थाहा थिएन होला भन्ने कल्पना गर्न सकिँन्न।
सायद ती सबै कुरा विश्लेषण गरेर मात्र यति समयमा पुरा गर्छु भनेर सम्झौता हुन्छ। यहाँ उल्लेखनीय के छ भने यो चार महिनाको समयमा काठमाडौं उपत्यकाभित्र ठुलो वर्षा भएको, निरन्तर एक दिन वर्षा भएको एकपटक पनि छैन। पानीका कारण काम कति प्रभावित भयो वा त्यसले कति दिनसम्म धकेल्न सक्थ्यो भनेर सामान्य अनुमान गर्न सकिन्छ।
वर्षाकै कारण यति लामो समय लम्बियो ? कम्तिमा म चाहीँ विश्वास गर्दिन। यो लामो समय लाग्ने प्रोजेक्ट नै थियो। जसरी ५ दिनका लागि एकैपटक खाना खान्छु भन्न सकिन्न। ठिक त्यसैगरि यति सिफ्टमा काम गरेर, यति मान्छे लगाएर यति छोटो समयमा सक्छु भन्न सकिने अवस्था थियो यो।
मैले यो भिडियो बनाइरहँदा त्रिविमा त काम भइरहेकै छ नी,सकेसम्म गरिरहेकै छन् नी भन्ने खालका धेरै कमेन्टहरु आउनेमा म सचेत छु। त्यसलाई म स्वागत र सम्मान पनि गर्छु। दुई महिनामा सकिन्न थियो भने ठेकेदारले किन सक्छु भनेँ, ठेक्का लगाउनेले के आधारमा त्यति समय निर्धारण गरे ? कम्तिमा ५/६ महिना लाग्ने प्रोजेक्टबारे प्रधानमन्त्रीले समेत चेतावनीपूर्ण भाषा बोल्दै किन अगाडि नै सक्नुपर्छ भनेर समय तोके ? मुख्य प्रश्न यही हो। कुनै पनि प्रोजेक्टले जति समय लागाउनु पर्छ, त्यति समयमा तयार हुनुपर्छ। राम्रो र बलियोसँग तयार हुनुपर्छ। यसमा कुनै दुईमत छैन।
बाँकी रह्यो त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र प्यारापिटको व्यग्रता। नेपाली क्रिकेट र नेपाली क्रिकेटरको मन मुटु जोडिएको यो मैदानमा चाँडोभन्दा चाँडो अन्तर्राषट्रिय क्रिकेट फर्किएको हेर्न सबै जना आँतुर छन्।
हामी सबैलाई थाहै छ- यही निर्माण कार्यका कारण यू-१९ विश्वकपको छनोट मुलपानी मैदानमा गरिएको थियो। वर्षा रोकिएको ६/७ घण्टासम्म पनि मैदान ठिक नभएपछि नेपालको विश्वकप खेल्ने सम्भावना सकिएको थियो। त्यतिबेला त्रिवि क्रिकेट मैदानलाई खुबै मिस गरिएको थियो। त्रिवि क्रिकेट मैदान त्यही ठाउँ हो जहाँ नेपाली समर्थकहरुले भारी वर्षाबीच छाता ओडेर खेल सुरु हुने प्रतिक्षा गरेका थिए।
पछि तीनै दर्शकलाई साक्षी राखेर नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो। यतिबेला त्रिवि क्रिकेट मैदानमा कहिले खेल सुरु हुन्छ ? प्रतिक्षा बनेको छ। नेपाल प्रिमियर लिग-एनपीएलको आगामी संस्करणका खेलहरु त्रिवि क्रिकेट मैदानमा, फ्लडलाइटमा खेलाउने तयारी नेपाल क्रिकेट संघ-क्यानको छ।
अन्य ठुला अन्तर्राष्ट्रिय खेलका लागि पनि त्रिवि क्रिकेट मैदान जतिसक्दो चाँडो तयार हुनु आवश्यक छ। लाखौँ क्रिकेट समर्थक रहेको नेपालमा प्रधानमन्त्री ओलीलाई थाहा छ- फ्लड लाइट र प्यारापिटसहितको त्रिवि क्रिकेट मैदानले बनाउने माहोल। त्यसबाट उनले पाउने स्याबासी।


