काठमाडौं। नेपालकी स्टार फुटबलर सावित्रा भण्डारी व्यावशायीक फुटबल खेल्न फ्रान्सबाट अस्ट्रेलियन लिग क्लब पुगेकी छिन्। अब साम्बाले अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यावशायीक महिला फुटबल लिग ए लिग खेल्ने भएकी छिन्।
उनलाई न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सले आबद्ध गरेको छ। यसअघि सावित्रा फ्रान्सको सबैभन्दा ठुला महिला फुटबल लिग जसलाई प्रिमियर लिग फेमिनाइन भनिन्छ त्यसमा खेल्थिन्। साम्बालाई सन् २०२४ को सुरुवातमा एन एभान्त गुइनगाम्पले आबद्ध गरेको थियो।

पहिलो सिजन साम्बाले अन्तिमका केही खेलहरु खेल्न पाइन्। त्यतिबेला उनले ४ खेल खेल्दै एक गोल गरेकी थिइन्। यो सिजन उनले २५ खेल खेल्न पाइन्, ६ गोल गरिन्। तर लगातार १९ सिजन खेलेपछि एन एभान्त गुइनगेम्प रेलिगेसनमा पर्यो। यही नतिजापछि साम्बा अरु क्लब जान सक्ने अनुमान गरिएको थियो।
साम्बा कहाँ जान्छिन् चासोपूर्वक हेरिएको थियो। बिहीबार बिहान वेलिङ्टन फिनिक्सले सामाजिक सन्जालमार्फत साम्बालाई दुई सिजनका लागि आबद्ध गरिएको जनाएको छ। साथै वेलिङ्टनले साम्बाका अहिलेसम्मका सफलताबारे पनि उल्लेख गरेको छ। नेपाली टोलीबाट ६० खेलमा ६६ गोल गरेकोदेखि युरोपको माथिल्लो डिभिजनमा खेलेर गोल गर्ने कीर्तिमानी नेपाली खेलाडी भनेको छ।
साम्बा सन् २०२३ मा इजरायलको महिला फुटबल लिग क्लबमा आबद्ध भएकी थिइन्। दक्षिण एसियाबाट बाहिर उनको त्यो पहिलो व्यावशायीक यात्रा थियो। त्यसपछि गुइनगाम्पको नजर उनीमाथी परेको थियो। गुइनगाम्प फ्रान्सको प्रिमियर लिग महिला फुटबलमा लगातार रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको टोली थियो।
यो सिजन गुइनेगाम्पले २२ खेल खेल्दा केवल ३ खेल जित्यो, १९ खेल हार्यो र अंक तालिकामा १२ औँ तथा अन्तिम स्थानमा रहेर रेलिगेसनमा पर्यो। गुइनगेम्पलाई गत सिजन पनि रेलिगेसन टार्न हम्मेहम्मे परेको थियो। रेलिगेसन क्षेत्रभन्दा एक स्थान मात्र माथी रहेको थियो।
गुइनगेम्पमा रहेका खेलाडीमा २१ जना फ्रान्सेली तथा मोरक्कोका दुई, क्यामरुन, नेपाल र अल्जेरिया र फिनल्यान्डका एक एक खेलाडी थिए। फ्रान्सको राष्ट्रिय टोलीबाट खेलिरहेका कोहिपनि उक्त टोलीमा थिएनन्। अल्जेरिया, मोरक्कोका खेलाडीहरु कुनै समय अन्तर्राष्ट्रिय फुटबल खेलेका खेलाडी हुन्। उनिहरु अहिले राष्ट्रिय टोलीमा छैनन्।
अब कुरा गरौँ साम्बा अहिले पुगेको वेलिङटन फिनिक्सबारे। वेलिङ्टन फिनिक्स अस्ट्रेलियाको ए लिग महिला फुटबल खेल्ने एक मात्र न्युजिल्यान्डको क्लब हो। वेलिङ्टन फिनिक्सले सन् २०२१ देखि ए लिग खेलिरहेको छ।
ए लिगमा १२ टिम छन् जसमा ११ वटा अस्ट्रेलियाकै क्लब छन्। यो लिगमा प्रमोसन र रेलिगेसनको सिस्टम छैन। त्यसैले यो लिगबाट कुनैपनि टिम झर्दैनन्।
वेलिङ्टन पहिलो सिजन सहभागी १० टोलीमध्ये १० औँ स्थानमा रहेको थियो। त्यसपछि १२ टोलीमध्ये ११ औँ र गत सिजन १२ टोलीमध्ये ८ औँ स्थानमा रहेको थियो।
हाल महिला फुटबलको विश्व वरियतामा न्युजिल्यान्ड ३३ औँ स्थानमा रहेको छ। साम्बाले यसअघि व्यावशायीक फुटबल खेलेको फ्रान्स १० औँ स्थानमा छ।
हाल न्युजिल्यान्ड टोलीमा रहेका तीन खेलाडी वेलिङ्टन फिनिक्समा छन्। वेलिङ्टनकी ३४ वर्षीय अन्नाली लोंगो हाल न्युजिल्यान्ड टोलीमा रहेका खेलाडीमध्ये दोस्रो धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन। लोंगो वेलिङ्टनकी कप्तान पनि हुन्। १६ गोल गरेकी बेट्सी हासेट हाल न्युजिल्यान्ड टोलीमा रहेकामध्ये सर्वाधिक अन्तर्राष्ट्रिय गोर्ने खेलाडी हुन्।
न्युजिल्यान्डबाट ९ गोल गरेकी २६ वर्षीय ग्रेस जेल पनि वेलिङ्टनबाट खेलिरहेकी छिन्। न्युजिल्यान्डको राष्ट्रिय टोलीका धेरै जसो खेलाडी ए लिग क्लबमै आबद्ध छन्। केही इङ्ल्यान्ड, स्कटल्यान्ड, आइसल्यान्डमा पनि खेलिरहेका छन्।
त्यसैले खेलाडीको स्तरका हिसाबले साम्बाका लागि वेलिङ्टन अहिलेसम्म खेलेको सबैभन्दा राम्रो क्लब हुने छ। अस्ट्रेलिया आफैमा महिला फुटबलमा बलियो उपस्थिती भएको देश हो। अहिले अस्ट्रेलिया महिला फुटबलको विश्व वरियतामा १५ औँ स्थानमा रहेको छ।
टिमहरु रेलिगेसन र प्रमोसनको दबाबमा नहुने भएकाले ए लिग खेल्ने खेलाडीलाई एक किसिमको रिलिफ हुन्छ। वेलिङ्टनमा लेबनान, जापान, अमेरिका, पोर्चुगल, इङ्ल्यान्डका खेलाडी पनि छन्। तीमध्ये लेबनानकी खेलाडिले मात्र सिनियर अन्तर्राष्ट्रिय फुटबल खेलेकी छिन्। अन्यले बढीमा आफ्नो देशबाट उमेरस्तरको मात्र अन्तर्राष्ट्रिय फुटबल खेलेका छन्।
वेलिङ्टनले गत सिजन ए लिगमा २३ खेल खेल्दै ७ जित र ३ बराबरीको नतिजा निकालेको थियो। १३ खेलमा पराजित भएको थियो। प्रतियोगिताभर वेलिङ्टनले २५ गोल गरेको थियो भने ३० गोल ब्यहोरेको थियो। ३० वर्षे इङ्लिस खेलाडी ओलिभिया फर्गुसनले वेलिङ्टनका लागि सर्वाधिक ५ गोल गरेकी थिइन्। न्युजिल्यान्डकै मनाइया एलियटले पनि मनाइया एलियटले ४ गोल गरेकी थिइन्। उनी डिफेन्डर हुन्। लोंगोले ३ गोल र ५ असिस्ट गरेकी थिइन्।
साम्बाले वेलिङ्टन फिनिक्सबाट कत्तिको नियमित अवसर पाउँछिन्, पहिलो रोजाईमा स्थान बनाउँछिन्। अब प्रतिक्षा बनेको छ।
अन्त्यमा न्युजिल्यान्डको क्लबले कसरी अस्ट्रेलियामा व्यावशायीक लिग खेलिरहेको छ? धेरैलाई भएको जिज्ञासा हुन सक्छ। हामीले न्युजिल्यान्डको राष्ट्रिय टिम हेर्यौँ भने पनि त्यहाँ अधिकांश विदेशका लिगमा खेलिरहेका खेलाडी छन्।
यसको मतलब न्युजिल्यान्डमा घरेलु व्यावशायीक महिला फुटबलको अवस्था अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेस्तरको मानिँदैन। भलै त्यहाँ जिल्ला, क्षेत्र र केन्द्रीयस्तरमा विभिन्न लिग प्रतियोगिताहरु आयोजना भइरहन्छन्।



